Comments Add Comment

पानी नहुँदा प्रदेश २ का अधिकांश खेत बाँझै

२२ असार, जनकपुरधाम । असार बित्नै लाग्दा पनि प्रदेश २ का अधिकांश खेतमा रोपाईं हुन नसक्दा किसान चिन्तामा परेका छन् ।

हालसम्म बर्षा नहुँदा प्रदेशको आधाभन्दा बढी क्षेत्रमा १ प्रतिशतसम्म मात्रै रोपाईं भएको छ । सिञ्चाईको न्यून व्यवस्था रहेको सप्तरी र सिरहामा पनि सन्तोषजनक रोपाईं हुन सकेको छैन ।

प्रदेश २ को कृषि निर्देशनालयले सप्तरीमा ५ प्रतिशत र सिरहामा ३ प्रतिशत रोपाईं भएको जनाएको छ । निर्देशनालयका निर्देशक ओमप्रकाश बिराजीले धनुषामा डेढ प्रतिशत, महोत्तरीमा २ प्रतिशत र सर्लाही, रौतहट, बारा तथा पर्सामा १÷१ प्रतिशत मात्रै रोपाईं भएको जानकारी दिए ।

सप्तरीमा चन्द्र नहर, कोशी पम्प नहर भएका कारण जिल्लाको पूर्वी भेगमा केही रोपाईं भए पनि पश्चिमी क्षेत्र बाँझै रहेको बिराजीले बताए । सिरहाको पनि पूर्वी भेगमा मात्रै केही रोपाईं भएको छ ।

प्रदेश २ को १३६ स्थानीय तहमा ५ लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेती योग्य छ । तर पछिल्लो केही बर्षयता खेती गर्ने क्रम घट्दै गएको छ । निर्देशक बिराजीका अनुसार अहिले ५ लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ ।

खेतीयोग्य जग्गा ५ लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल १ लाख १५ हजार ५ सय १५ हेक्टर मात्रै छ । यसपटक आठ जिल्ला गरी ४ सय ५० थान स्यालो टयुबेल वितरण गरेकाले आकाशे पानीको भरमा खेती गर्नेहरुलाई पनि सिञ्चाईका लागि केही सहज हुने निर्देशक बिराजीले बताए ।

उनले कमला र बागमती डाइभर्सन नबनेसम्म प्रदेश २ का खेतीयोग्य जग्गामा खेती गर्न सधैं समस्या रहने बताए । प्रदेश सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुनकोशी–कमला डाइभर्सन प्रोजेक्ट, सुनकोशी–मरिन डाइभर्सन प्रोजेक्टलाई अगाडि बढाउन संघीय सरकारसंग पहल गरिने जनाएको छ ।

सञ्चालित सिंचाई परियोजना अन्र्तगत नारायणी सिञ्चाई योजना, वागमती सिञ्चाई योजना, कमला सिञ्चाई योजना र कोशी सिञ्चाई योजनालाई प्रदेश मातहत ल्याउन पहल गरिने सरकारले जनाएको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह जिल्लामा रहेका नदीनालाहरुमा बाँध बनाई कुलो पइनी मार्फत सिञ्चाईको प्रबन्ध गर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment