News Summary
Generated by OK AI. Editorially reviewed.- दशैंको समयमा धेरैका घरमा अत्यधिक मात्रामा मासु हुन्छ । यसलाई सही तरिकाले संरक्षण नगरे बिग्रिन सक्छ।
- मासु वध र सफाइ गर्दा सफा उपकरण प्रयोग गर्नुपर्छ भने भण्डारण ४ डिग्री सेल्सियसभन्दा तल तापक्रममा गर्नुपर्छ।
- मासु पकाउँदा न्यूनतम आन्तरिक तापक्रम ६२.८ डिग्री सेल्सियस राख्नुपर्छ ।
अहिले दशैंको उल्लासमय क्षण छ । काम तथा अध्ययनका लागि घरबाट टाढा रहेकाहरू घर फर्कने, जमघट गर्ने क्रम सुरु भइसकेको छ । कति जना यात्रामै छन् । कति यात्राको तयारीमा जुटेका छन् । दशैंको पारिवारिक जमघटका बेला धेरै खाइने खानेकुरा हो मासु । शाकाहारी व्यक्ति बाहेकले प्राय गरी दशैंका बेला हरेक छाक जस्तै मासु खाने गर्छन् ।
धेरैजसो परिवारहरूले घरमै जनावर काटेर प्रशस्त मासु राख्ने गर्छन् । यसबेला प्रत्येक घरमा अत्यधिक मात्रामा मासु रहेको हुन्छ । यो अवस्थामा यदि मासुलाई सही तरिकाले भण्डारण गरिएन भने बिग्रिने जोखिम हुन्छ । र मासु विषाक्त बन्न सक्छ । यस्ता मासु सेवनबाट विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ ।
बअनुचित बधशाला अभ्यास र विधि, कमजोर सरसफाइ, र ठूलो मात्रामा रहेको मासुको गलत र अपर्याप्त मासुको संरक्षण विधिले गर्दा हानिकारक ब्याक्टेरियाको लागि प्रजनन स्थल बनाउन सक्छ, जसले अप्रिय र कहिलेकाहीँ गम्भीर बिमारीहरू निम्त्याउन सक्छ ।
यस्ता समस्याबाट बच्नका लागि जनावरको वध गर्ने समयदेखि त्यसका अन्य प्रक्रिया, भण्डारणका साथै पकाउने बेलामा समेत विशेष ध्यान पुर्याउनुपर्छ ।
दूषित मासुबाट हुने फुड पोइजनिङ मुख्यतया साल्मोनेला, ई.कोलाई र क्याम्पिलोब्याक्टर जस्ता सूक्ष्म जीवाणुका कारण हुन्छ । यसका सामान्यदेखि गम्भीर लक्षणहरू हुन सक्छन् ।
लक्षणहरू
-वाकवाक लाग्ने, वान्ता हुने
-झाडा पखाला लाग्ने
-पेट दुख्ने
-ज्वरो आउने
कमजोर व्यक्तिहरू, जस्तै साना केटाकेटी, वृद्धवृद्धा र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूमा, फुड पोइजनिङले गम्भीर परिणाम निम्त्याउन सक्छ ।
सुरक्षित रूपमा कसरी वध गर्ने ?
धेरैका लागि, दशैंको परम्परामा घरमै खसी वा अन्य जनावरहरूको बध गर्ने चलन छ । यदि यो अभ्यास स्वच्छ तरिकाले गरिएन भने, यो मासुमा संक्रमणको प्रमुख स्रोत हुन सक्छ ।
-बध गर्न तोकिएको ठाउँ सफा र घरको फोहोर तथा नालीबाट टाढा हुनुपर्छ । जनावर वध गरेपछि फेरि त्यसलाई सफा बनाउन मिल्ने ठाउँ हुनुपर्छ ।
-बधका लागि तयार पारेको जनावर स्वस्थ रहेको निश्चित गर्नुपर्छ ।
-हात, औजार र मासु धुनका लागि प्रशस्त सफा पानीको व्यवस्था हुनुपर्छ । औजार प्रयोग गर्नु अघि र पछि साबुन र तातो पानीले राम्ररी धुनुपर्छ।
-बध गर्ने व्यक्ति स्वयंले पनि सरसफाई ध्यान पुर्याउनुपर्छ । फोहोर व्यक्तिबाट मासु संक्रमित हुन सक्छ ।
-सर्ने खालका रोग(रुघाखोकी, ज्वरो, लुतो आदि) देखिएका व्यक्ति यस्तो कार्यमा सामेल हुनुहुँदैन ।
-भुँडी तथा भित्री अंगहरू सावधानीपूर्वक निकाल्नुपर्छ । भित्री अंगहरू निकाल्दा, आन्द्रा नछेडियोस् भनेर अत्यन्त सावधान रहनुहोस्, किनकि यसले दिसा र ब्याक्टेरिया मासुमा फैलाउन सक्छ ।
-मासु तयार भएपछि, ब्याक्टेरियाको वृद्धिलाई रोक्न यसलाई जति सक्दो चाँडो ४ डिग्री सेल्सियस भन्दा तलको तापक्रमा चिस्याउनुपर्छ यसको लागी फ्रिज वा सफा बरफको प्रयोग गर्न सकिन्छ ।
भान्सामा सुरक्षा
मासु भान्सामा ल्याएपछि, त्यसमा कुनै संक्रमण नहोस् भनेर विशेष सावधानी अपनाउनुपर्छ । त्यस्तो समस्या रोक्न सरसफाइमा कायम राख्नु महत्त्वपूर्ण हुन्छ ।
काँचो मासु र अन्य तरकारी अलग राख्ने
काँचो मासु र अन्य खानेकुराहरू जस्तै तरकारी र सलादका लागि छुट्टै चपिङ बोर्ड, छुरी र भाँडाहरू प्रयोग गर्नुहोस् । यसले काँचो मासुबाट हानिकारक ब्याक्टेरिया खान तयार भएका वस्तुहरूमा सर्नबाट रोक्छ ।
-काँचो मासु चलाउनु अघि र पछि सधैं साबुन र पानीले राम्ररी हात धुनुहोस् ।
सही तापक्रममा पकाउने
राम्ररी पकाउँदा धेरैजसो हानिकारक ब्याक्टेरिया मर्छन् । परिकारहरू तयार गर्दा, विशेष गरी मासुको गुलाबी रङ हटुनजेलसम्म राम्ररी पकाउनुपर्छ ।
मासुको ठूला टुक्राहरूका लागि, सिफारिस गरिएको न्यूनतम आन्तरिक तापक्रम ६२.८ डिग्री सेल्सियस हो । तापक्रम नाप्न फुड थर्मोमिटर प्रयोग गर्नु नै सबैभन्दा राम्रो तरिका हो ।
पछिका लागि भण्डारण : आधुनिक र परम्परागत संरक्षण
ठूलो मात्रामा मासु उपलब्ध हुँदा, उचित भण्डारण कसरी गर्ने ?
मासु भण्डार गर्ने विधिहरू
१. फ्रिजिङ गर्ने
ताजा मासुलाई फ्रिजमा ४ डिग्री सेल्सियस वा सोभन्दा कम तापक्रममा भण्डारण गरी र केही दिनभित्रै उपभोग गर्न सकिन्छ । लामो समयसम्म भण्डारण गर्न, मासुलाई फ्रिजङ गर्नुपर्छ । यसका लागि आवश्यक पर्ने टुक्राहरूमा काटेर प्याकेजिङ प्लास्टिमा भरेर सिल गरेर फ्रिजरमा राख्नुपर्छ ।
मासु भण्डारणमा प्रयोग गरिने फ्रिजको सरसफाइको अवस्था राम्रो हुन आवश्यक छ । फोहोर फ्रिजबाट मासु संक्रमित भई बिग्रिन सक्छ । यसरी फ्रिजिङ गर्दा मासुलाई उसिनेर राख्यो भने आयु लम्बयाउन सकिन्छ ।
२.पाकेको मासुलाई बोसोमा राख्ने
यस विधिलाई अंग्रेजीमा कन्फिटिङ भन्ने गरिन्छ । यस विधिमा विशेष गरी खसी, बंगुर वा हाँसको मासुलाई राम्ररी खर्याएर उसकै बोसोमा डुबाएर राखिन्छ । बोसोले एउटा प्रोटेक्टिभ सिल जस्तै काम गर्छ । आवश्यक परेको बेला मासुलाई निकालेर इच्छाअनुसार विभिन्न परिकार बनाएर सेवन गर्न सकिन्छ । यसका लागि फ्रिज आवश्यक पर्दैन ।
३.नुनमा मोलेर राख्ने
यो विधि विशेष गरी पश्चिमी देशहरूमा प्रयोग गरिन्छ । यसमा काँचो मासुलाई अत्यधिक मात्रामा नुनमा मोलेर सुक्खा चिसो ठाउँमा झुन्ड्याएर अथवा फ्रिजमा ४ डिग्री सेल्सियसको तापक्रममा राख्ने गरिन्छ । यस्तो मासुलाई प्रयोग गर्नुअघि पानीमा नुन राम्ररी जाने धुनुपर्छ ।
४.सुकुटी बनाउने
यो मासुलाई लामो समयसम्म राख्ने परम्परागत नेपाली विधि हो । धेरै नेपालीहरूले दशैंको मासु लामो लामो पिस बनाएर अगेनामाथि झुड्याउने गर्थे । अहिले पनि ग्रामीण क्षेत्रमा यसरी मासु राखिएको देख्न सकिन्छ । यसरी राखेको मासु राम्ररी सुकिसकेपछि धेरै समयसम्म राख्दा पनि बिग्रिदैन ।
सुकेटी बनाउनका लागि मासुलाई पातलो र लामो टुक्रा हुनेगरी काट्नुपर्छ । यसो हुँदा समान रूपमा सुक्न सक्छ । हावा राम्ररी पास हुने ठाउँमा झिँगाहरूबाट जोगाउन जालीले ढाकेर सुकाउनु उपयुक्त हुन्छ । भण्डारण गर्नु अघि मासु पूर्णरूपमा सुक्खा र कडा हुनुपर्छ । अलिअलि धुँवा लाग्ने ठाउँमा सुकाएको मासु बढी टिकाउ हुन्छ ।
५.पक्कु बनाउने
पक्कु एक परम्परागत नेपाली मासुको परिकार हो । यो विशेषगरी खसी वा राँगाको मासुबाट बनाइन्छ । यसलाई बनाउने तरिका विशेष हुन्छ । मासुका टुक्राहरूलाई अदुवा, लसुन, जिरा, धनिया जस्ता मसलामा मोलेर भाँडामा राखिन्छ । त्यसपछि, पानीको प्रयोग नगरी, मासुलाई आफ्नै बोसो र रसमा मन्द तापक्रममा लामो समयसम्म पकाइन्छ ।
यसरी पकाउँदा मासु पूरै गल्छ, एकदमै नरम र स्वादिलो हुन्छ, र यसको रङ गाढा खैरो वा कालो हुन्छ । पानी नहाली आफ्नै बोसोमा पकाइएको हुनाले यो धेरै दिनसम्म बिग्रिँदैन ।
यसलाई पछि आवश्यकताअनुसार झोल तथा ग्रेभी बनाएर खान सकिन्छ । भात तथा चिउरासँग त्यत्तिकै पनि खान सकिन्छ । यसरी तयार गरेको पक्कुलाई साधारण कोठाको तापक्रममा भण्डारण गर्न पनि सकिन्छ । फ्रिजमा राखेमा अझै धेरै दिनसम्म बिग्रिँदैन ।
धेरै खानु हुँदैन
धेरै चिल्लो र मसलादार मासुको परिकार धेरै सेवन गरेमा यसले पाचन समस्या निम्त्याउन सक्छ । पाचनमा प्रक्रिया सहज बनाउनका लागि खानामा प्रशस्त ताजा तरकारी, सलाद, र फलफूलहरू समावेश गर्नुपर्छ ।
पानी धेरै पिउने
दिनभरि प्रशस्त सफा पानी पिउनुपर्छ ।
(लेखक बिक्रम लिम्बु नेपाल सरकारका खाद्य अनुसन्धान अधिकृत हुन् ।)
प्रतिक्रिया 4