Comments Add Comment

कुनै पनि टिमलाई सहज रुपमा लिँदैनौं : पारस खड्का

विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्य

२४ असार, काठमाडौं । टी-२० विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान गर्दैछ ।

टी-२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ । मलेसियामा दुई टी-२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ । पाँच देशले एकअर्कासँग खेल्दा शीर्ष स्थानमा रहने टोलीले टी-२० विश्वकप छनोट खेल्नेछ ।

एसिया फाइनलमा तुलनात्मक रुपमा नेपाल बलियो दाबेदार हो । आईसीसी बरियतामा नेपाल अरु देशभन्दा माथि छ । तर विश्वकप खेल्ने बाटो भएकाले कुनै पनि टिमलाई सहज रुपमा नलिने कप्तान पारस खड्काले बताए ।

मलेसिया जानुअघि उनले भने, ‘विश्वकप छनोटको बाटो भएकाले हामीले कुनै पनि खेल र खेलाडीलाई सजिलो रुपमा लिएका छैनौं । नेपालले विश्वकप खेल्ने हो भने यहीबाट बाटो सुरु गर्नुपर्छ ।’

नेपालले २०१४ मा टी-२० विश्वकप खेलेको थियो । २०१६ मा खेल्न सकेन । अब २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपाली टोलीको सपना छ । त्यसका लागि यूएईमा हुने ग्लोबल छनोट खेल्नुअघि एसिया फाइनलमा शीर्ष स्थानमा रहन सक्नुपर्छ । आफूहरुको तत्कालको लक्ष्य त्यही रहेको भन्दै कप्तान पारस भन्छन्, ‘फेरि पनि विश्वकप खेल्ने सपना छ, तर यो सजिलो हुने छैन ।’

छनोट खेल्ने हरेक टोलीको सपना विश्वकप खेल्ने हुने र त्यसअनुसार मेहनत गर्ने भन्दै पारस भन्छन्, ‘हामीमा पनि राम्रो गर्न आत्मविश्वास छ तर आत्मविश्वास मात्र भएर हुँदैन, राम्रो खेल्न सक्नुपर्छ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्थाअनुसार योजना बनाएर खेल्ने सोच रहेको सुनाए । उनका अनुसार खेलाडीहरुलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment