Comments Add Comment

नजन्मिएकी छोरीको सवाल

समाजका लागि परिवार पूर्ण बनाउनु थियो । संस्कारका लागि लक्ष्मीको आगमन अनिवार्य थियो । वंश निरन्तरताका लागि छोराको अपरिर्हायता थियो । हामी दम्पतिका लागि माया दर्शाउने सन्तानको चाह थियो । हामीलाई घरमा एउटा अर्को सदस्यको आवश्यत्ता थियो ।

योजना बन्यो, जसै गर्भधारण पनि भयो । हामी दम्पति खुशी भयौँ । केही महिना बित्यो, प्रविधिले भ्रुणको अवस्था राम्रो रहेको निक्र्योल गर्‍याे  । अब त हाम्रो खुशीको सीमा नै रहेन । हामीले कल्पना गर्न थाल्यांै । सपना देख्न थाल्यौँ । सन्तान प्राप्तिपछि आफ्ना आफ्ना जिम्मेवारीहरुको सूचि बनाउन थाल्यौँ ।

दिन प्रतिदिन परिवर्तित मेरो शारीरिक बनावटबाट अवगत आफन्त, साथीभाइ र छरछिमेकी सबैबाट बधाई पाउन थालेँ । म पुलकित हुन थालेँ । महिना लागि सकेको थियो, मात्र दिन बाँकी थियो । म त्यही दिन गिन्तीमा कयौंपटक औंला भाँच्दै थिएँ ।

विहानी पखको समय थियो । म सधैँझैँ बिहानीको यात्रामा थिएँ । सधैँ भन्दा आज म हिँड्ने बाटो केही नौलो लागिरहेको थियो । केही पर एउटा सानो सुन्दर पहाड देखेँ । ओहो ! कति सुन्दर, मैले पहिले कहिल्यै देखेकी रहिनछु । टाढाबाट त यति सुन्दर देखिन्छ, नजिक पुग्दा त कस्तो होला ? मनमा जिज्ञासा पलायो र अघि बढेँ । पहाडको फेदीमा पुगेँ र माथि चढ्न थालेँ । ओहो कति सजिलोसँग चढ्न सकेको, कति चाँडै म त चुचुरोमा नै पो पुगिसकेँ छु । सम्झें पहिलेका पहाडका यात्राहरु, कति कठिन हुन्थ्यो, धेरै गाह्रो हुन्थ्यो । आफूसँग भएको सानो हातेब्याग समेत बोकाई उल्टै एक हातमा समातेर तान्नुपथ्र्यो, सहयात्रीले । तर, आज म नौ महिनाको गर्भ बोकेर पनि रत्ति कठिन नभई हिँड्न सकेकीे । सोचेँ, सायद पहाडको सुन्दरताको आकर्षणले होला, चुचुरोमा पुग्ने चाहले होला ।

चुचुरोमा कोही थिएन । चराहरुको चिरविर आवाज र हावाको झोँकाले पातहरु हल्लिएर अनौठो संगीत बनेको थियो । चारैतिर घुमेर हेरेँ । त्यहाँबाट देखिएका रमणीय दृश्यले मन चंगा भयो, आँखा चहकिला भए । नयाँपनको आभाष भयो । फरक अनुभूति भयो । थकाई पटक्कै थिएन । तैपनि रुखको फेदमा सुस्ताउदै थिएँ । त्यही बेला मेरो सामुन्ने सफेद कपडामा एउटी सानी बालिका झल्यास्स आइपुगिन् । म झस्किएँ, यस्तो निर्जन ठाउँमा एक्ली बच्ची कसरी ? तत्क्षण सम्झिएँ, सायद कोहीसँग घुम्न आएकी होलिन् । उनले ‘आमा’ भनेर बोलाइन् । म झस्किएँ, यताउता हेरेँ, कोही थिएन । सोधेँ, तिमी को हौ ? कसरी यहाँ आयौ ? खोई तिम्री आमा ?

तपाई नै मेरी आमा हो । उसले भनी, चिन्नुभएन होला, म हजुर की छोरी हुँ ।

मैले भनेँ, के भनेकी ? मेरी त छोरी नै छैन ।

म हजुरकी पेटभित्र की छोरी हुँ । अनि तत्काल मैले यसो पेट छामेँ, पेट त ठुलै छ, प्रसव वेदना पनि छैन, कसरी यस्तो हुन सक्छ ? म आत्तिएको देखेर ऊ हाँसी र फेरि भनि, म तपाईँकी नजन्मिएकी छोरी हुँ ।

आमा, म यहाँ एकान्तमा तपाईँँसँग मनको कुरा गर्न आएकी हुँ । आज मेरो जन्मिने दिन । तर, मलाई डर लागिरहेको छ आमा । मलाई मेरो देशसँग डर लागिरहेको छ आमा, जहाँ मेरा लागि कानुन आँखा नदेख्ने हुनेछ । मलाई मेरो सरकारसँग डर लागि रहेको छ आमा, जहाँ मेरा लागि राज्य कान नसुन्ने हुनेछ । मलाई म जन्मिने समाजको डर लागिरहेको छ आमा, जहाँ मेरो दर्जा दोस्रो हुनेछ । मलाई मेरा नातागोता र छिमेकीको डर लागिरहेको छ आमा, जहाँ मेरा लागि बोलिदिने कोही हुने छैनन् । मलाई मेरै परिवारको डर लागिरहेको छ आमा, जहाँ सबै दोषी करार हुनेछन् ।

आमा, डर छ मलाई आफ्नै परिवारमा भएका कुण्ठित आत्माहरुको । समाजमा भएका असामाजिक तत्वहरुको । संविधानतः सुरक्षा नदिने सरकारको । कानूनत न्याय नदिने न्यायलयको ।

मैले हाँस्तै सम्झाउने कोशिसमा भनेँ, तिमीलाई नजन्मिँदै के के डर ? त्यस्तो केही हुन्न छोरी । तिम्रो मनको डर मात्र हो ।

उसले भनी, आमा म तपाईँको गर्भमा आएदेखि नै सधैँ बालिका, किशोरी र महिलाहरुको बलत्कार र हत्या भएको घटना सुन्छु । जतिजति म जन्मिने दिन नजिकीदै आयो त्यति नै त्यस्ता घटनाहरु बढ्दै गएको सुनेकी छु । कतिले न्याय नपाएको सुन्छु । कतिको त बोलिदिने मान्छे पनि नभएको सुन्छ ।कतिको अस्मिता र जीवन पैसामा तौलिएको सुन्छु । अनि त झन् मेरो डर पनि बढ्दै आएको छ ।आमा मलाई पनि संसार देख्ने मन छ । माया ममताको भोक तिर्खा मेट्ने तृष्णा छ । पुरा जीवन भोग्ने जिजिविषा छ ।

ओहो, तिमी त कस्तो डराएकी । नडराऊ, हामी छौँ, आफन्त, छरछिमेक छन् । नडराई आऊ, तिमीलाई हाम्रो पुरा साथ छ । मैले सान्त्वना दिँदै भनेँ ।

दुर्गा सुवेदी

आमा अस्तिमात्रै तपाईँले पत्रिकामा पढ्नु भएको होइन, आफ्नै ठूलोबाबा, हजुरबुबाहरुबाट बालिका बलात्कृत भएका समाचारहरु ? त्यतिमात्र कहाँ हो र ? घरमा आएका पाहुनासँग, घरमा कोही नभएका बेला छिमेकीसँग, आफन्तकहाँ जाँदा आफन्तीसँग, विद्यालय जाँदा शिक्षकसँग, खेल्न, घुम्न जाँदा साथीभाइसँग कहिँ पनि सुरक्षित नभएका समचार पढ्नुभएको होइन ? त्यतिबेला तपाईँले आफन्त र साथीभाइका साना छोरीहरुको सुरक्षाका बारेमा कति चिन्ता गर्नुभएको थियो ? अझ तपाईँको गर्भमा म बसेको थाहा भएको भए तपाईँ त्योभन्दा बढी चिन्तित हुनुहुन्थ्यो होला ।

त्यस्तो केही नसोच छोरी, हामी तिम्रो सुरक्षा गर्छौं । तिम्रा बाबा हुनुहुन्छ, म छु । म छोरीको व्यग्र प्रतिक्षामा थिएँ । त्यसैले म उसलाई विश्वस्त पार्न चाहान्थें कि जसले गर्दा आफ्नो शंका निवारण गरोस् र मेरो कोखबाट निर्धक्क जन्म लेओस् ।

आमा तपाईँले नै तराईमा आफ्नै बाबुबाट सात बर्षकी छोरी बलात्कृत भएर त्यत्रो मिडियामा आएका समचारहरु सुन्नु, हेर्नुभएको होइन ? आफ्नै दाजुभाइबाट लुटिएका चेलीको व्यथा पनि हजुरले नै पढ्नुभएको होइन ?

मैले सम्झाउँदै भनेँ, त्यसो भन्न हुन्न छोरी । तिनीहरु अज्ञानी थिए, अशिक्षित थिए, जँड्याहा थिए । परिवारमा झैंझगडा गर्थे । त्यसैले पशु भए । सबै त्यस्तै हुन्नन् नि छोरी ।

आमा उनीहरु त अशिक्षित, अज्ञानी भएर पशुवत् व्यवहार गरे रे । अस्ति भरखर राजधानीमै एउटा सरकारी कर्मचारीले आफ्नी जवान छोरीलाई ललाई, फकाई, धम्क्याई बर्षौं देखि सम्बन्ध राखेको समाचार आएको हैन ? विश्वविद्यालयका प्रोफेसरको त्यस्तै समाचार आएको होइन ? आमा ऊ त शिक्षित थियो, ज्ञानी थियो, सरकारको कसम खाएको थियो, सरकारी नियमले बाँधिएको थियो । उसले त मानवीय व्यवहार गर्नुपर्ने थियो हैन र ? उसको बाबुले गरेको अन्यायलाई श्रीमानको धम्की र समाजमा ईज्जत जाने डरले आफ्नै आमाले सम्म छोरीलाई न्याय दिन डराइन् । धन्न पछि साथीभाइको सहयोग पाएपछि आमाले पनि साथ दिएर न्यायको ढोका ढक्ढक्याउन पुगिछिन् ।

आमा, ल भन्नुस् त, अब म कहाँ सुरक्षित छु ? घरमा, नातागोतामा, छिमेकमा, साथीभाइमा, समाजमा, देशमा ? कसले गर्छ मेरो सुरक्षा आमा ? आमा, जबसम्म तपाईँ आमाहरुले आफ्नै छोरीचेलीको अस्मितामाथि धावा बोल्न सक्ने र आफ्नै वीर्यलाई बलात्कार गर्न सक्ने छोराहरु जन्माउनुहुन्छ, तबसम्म हामी छोरीहरुको सुरक्षा कहिल्यै हुन सक्दैन । अब सबै आमाहरुले समीक्षा गर्न जरुरी छ, नौ महिनासम्म बोकेको गर्भको, दश धारा खुवाएको दूध, तोते बोल्न सिकाएका शब्दहरु र आफूले दिएको संस्कारको । अनि परीक्षण गर्न जरुरी छ बाबाले धारण गराएको वीर्यको, बुई चढाएको काँधको, हुर्काएको परिवेश र हिँड्नका लागि देखाएको बाटोको ।

मैले उसका आँखामा हेरेँ, आँशु टिलपिल भरिएका थिए । ऊ मसँग आफ्नो जीवनको सुरक्षा खोजिरहेकी थिई । मैले उसलाई आफ्नी आमाको कोख र काख अनि हेरचाहलाई विश्वास गर्न आग्रह गर्दै भनेँ, त्यसो नभन छोरी, म मेरो अन्तिम सास रहेसम्म तिम्रो सुरक्षाको लागि डटिरहनेछु । कथम्कदाचित तिमी अन्यायमा पर्‍यौं भने न्यायका लागि लड्ने छु ।

तिमीलाई पनि मेरो कोखमा जन्मेर नयाँ संसार देख्ने अभिलाषा छ, मलाई पनि तिम्रो नाममा नयाँ जीवन सृजना गर्ने उत्कट चाहाना छ । तिमीलाई पूरा जीवन निष्फिक्री जिउने अधिकार छ । त्यसैले आऊ छोरी, तिम्रा लागि म लड्ने छु, मेरो लागि तिमी लड्नेछौ । हामी सबै नारीहरु एकअर्काको अस्तित्वका लागि, अधिकारका लागि लड्ने छौँ ।

आमा तपाईँको चाहानालाई मैले बुझेको छु । तपाईँको मातृत्वको पनि म सम्मान गर्छु । आमा, तपाईँ पनि विवश हुनुहुन्छ । आफ्नै परिवारमा, आफ्नै समाजमा, आफ्नै देशमा तपाईँको सम्मान छैन । तपाईँ आफ्नै अस्तित्व रक्षाका लागि लडिरहनुभएको छ । परिवार, समाज, संस्कार, प्रशासन, न्याय, सरकार जताततै तपाईँ निरिह हुनुहुन्छ । कतिञ्जेल, कतिजनासँग लड्नु हुन्छ, मेरा लागि ? न्यायका लागि उठाएका तपाईँका आवाज दबाइन्छन् । तपाईँका हात खुट्टा बाधिँन्छन् । तपाईँको बाटो छेकिन्छ । तपाईँसँग न्यायको सट्टामा मोलमोलाई हुन्छ । तपाईँको इज्जतमाथि शंका गरिन्छ । तपाईँको ज्यानमाथि धावा बोलिन्छ । अन्त्यमा, तपाईँको मगज बिग्रेको प्रमाणित गरिन्छ यहाँ । त्यसपछि अवश्य तपाईँ पनि हार्नु हुनेछ आमा ।

छोरी, दिनानुदिन घटेका घटनाले मलाई पनि यहाँ विक्षिप्त बनाउँछ । तर, जीवनदेखि हार खाएर हुन्न । लडेर, डटेर, सहेर जसरी पनि हाम्रो अमूल्य जीवन जीउनुपर्छ । समस्यादेखि भागेर होइन, डटेर समाधान गर्नुपर्छ । हो, अहिले मानिसहरु असामाजिक भए, संवेदनाहीन भए, अधर्मी भए, पापी भए । तर, भगवान छन् छोरी । भगवान सधैँ सत्यको पक्षमा हुन्छन्, भगवानले हेर्छन् नि छोरी ।

मैले भन्न त भनेँ, तर म आफैँ हारिसकेकी थिएँ, उसका तर्कको अगाडि । उसका तर्क तर्कका लागि तर्क थिएनन् । यर्थाथ थिए, वास्तविक थिए ।

आमा, भगवानका छलकपट र चरित्रहरुबाट पनि अनभिज्ञ छैन म । तपाईँले पढेका रामायण र महाभारतका कथाहरुमा स्वर्गका कैयौं अप्सराहरुका विनाबाबुका सन्तानहरुको इतिहास छैन र ? मत्स्यगन्धालाई सुन्दर रुपकी बनाइदिन्छु भनी फकाएर परासर ऋषिले आफ्ना लागि पुत्र जन्माएका होइनन् र आमा ? सूर्यदेवले कुमारी कुन्तीलाई विवाहको अघिल्लो रात गर्भवती बनाई कर्ण जन्मिएका होइनन् र ? आफ्नै पतिहरुबाट जुवामा थापिएकी द्रौपदीलाई कौरवहरुले राजसभामा नै नग्न बनाई अस्मिता लुट्न खोजेका होइनन् र ? वनवासबाट सीतालाई रावणले अपहरण गरेका होइनन् र ? अनि रामले अग्निकुण्डमा हालेका र सीतालाई निकाला गरेका हैनन् र ?

म अवाक भएँ । उसले मेरो अनुहार एकोहोरो हेरीरही, मैले उसको । दुबैजना निशब्द भयौँ । दुबैका आँखाका कोषहरुबाट आँशुका बलिन्द्र धारा बगिरहे । सायद उसले मलाई आफ्नो निर्णय सुनाउनु थियो । निर्णय सुनाउनु मात्र थिएन, त्यस्तो निर्णय लिनुको कारण पनि बताउनु थियो । त्यसपछि ऊ विस्तारै मधुरो मधुरो हुँदै नदेखिने भई । मैले उसलाई रोक्न सकिनँ । केवल रोई रहेँ ।

त्यहीबेला मलाई प्रशव वेदनाले पेट बेस्सरी दुख्न थाल्यो । म एक्लै थिएँ, यताउता हेरेँ कोही छैन । कोसँग साहारा माग्ने, के गर्ने, अन्योलमा परेँ । एक्लै, पेट सुम्सुम्याउँदै, मडारिँदै, छटपटिँदै गर्न थालेँ । भल्भल्ती रगत बग्न थाल्यो, रगत बगेसँगै बच्चा पनि जन्मियो । म प्रसव पीडाविचै सन्तान प्राप्तीको खुशीले चिच्याएँ ।

रगतमा लत्पतिएको बच्चा अरु कोही नभएर भरखर मात्र मसँग आफ्नो जीवनको सुरक्षा माग्ने छोरी थिई । रगतसरीकी छोरीलाई उठाएर काखमा राखेँ । यसो छातीमा टाँस्न लाग्दा पो झस्किएँ, ऊ त निर्जीव भैसकेकी थिई ।

म फेरि सन्तान प्राप्तिको खुशीवीचै सन्तान वियोगको दुःखले चिच्याएँ । र, त्यही निर्जीव छोरीलाई अँगालोमा च्यापेर बेस्सरी रोएँ । हुँक्क हँुक्क गर्दै रोएको आवाज सुनेर श्रीमानजीले घच्घच्याउँदा झल्यास्स ब्यूँझे ।

हातले यताउता छामेँ, यसो पेट पनि छामी हेरेँ । न म गर्भवती भएकी थिएँ, न बच्चा नै जन्मिएको थियो । यो त सब सपना पो रहेछ । हल्का पेट दुखाई र रगत बगाईले महिनावारी भएको संकेत गरेको थियो ।

शरीर त हिजोजस्तै थियो तर मन… । मन भने भारी थियो । एउटा सपनाले मलाई विक्षिप्त बनाएको थियो । मेरी नजन्मिएकी छोरीको सवाल, जवाफ, शंका, द्विविधा, नयाँ सन्सार देख्ने चाह, बाँच्ने जिजीविषा र अप्राकृतिक मृत्युको भयले मलाई सोच्न बाध्य बनाएको थियो ।

बारम्बार त्यही सवालले घच्घच्याइरहेको छ मलाई, आमा, ल भन्नुस् त म कहाँ सुरक्षित छु ? घरमा, नातागोतामा, छिमेकमा, साथीभाइमा, समाजमा, देशमा ? मेरो सुरक्षा कसले गर्छ आमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment