Comments Add Comment

ट्रेड युनियनले कर्मचारीको तलबबारे निर्णय गर्ने होइन

कुनै बेला म पनि झुक्किएर एकपटक मन्त्री बनेको थिएँ । यहाँ (संसदको राज्य व्यवस्था तथा सुशासन समिति) मा दुई÷तीन जना पूर्वमन्त्रीहरु हुनुहुन्छ । सम्बन्धित भएको भएर मात्रै भनेको ।

पहिलोपटक मन्त्री भएर कुर्सीमा बस्दाखेरि सचिवज्युले मलाई ब्रिफिङ गर्दै हुनुहुन्थ्यो । अचानक एक जना सफाई मजदुर ढ्याङ्ङ ढोका खोलेर भित्र आए अनि मलाई ‘कमरेड लालसलाम’ भन्दै अभिवादन गरे । म त अचम्ममा परेँ । आफ्नै पार्टीको कार्यकर्ता रहेछन् । उनले सचिवलाई पनि टेरेनन् । कमरेड लालसलाम भनेपछि सचिव ट्वाँ …।

त्यसपछि सचिवज्युले मलाई ‘हजुर यो त रत्नपार्क होइन’ भने । यसलाई पनि कसरी बुझ्ने हो बुझौं । अनि मैले ‘सचिवज्यु तपाईं अहिले जानुस’ भनेर पठाइदिएँ । मजदुर साथीलाई बोलाएर सबै सम्झाएँ । म यहाँ मन्त्री भएर बसेको छु, हिजोको स्थिति र सचिवसँग बसेको अवस्था फरक हुनुपर्छ भनेँ । उसको पनि दोष होइन । सिकाउन नसक्नु हाम्रो कमजोरी थियो ।

अब रह्यो अहिले उठेको र आजको विषय (कर्मचारीको आधिकारिक ट्रेड यूनियन चाहिन्छ कि चाहिँदैन) । हामी ट्रेड यूनियनको आन्दोलन र संस्थाको विषय । राज्य व्यवस्था समितिको सभापति शशी श्रेष्ठ हुनुहुन्छ । उहाँको नेतृत्वको यो समिति कसरी जान्छ ? भ्रम नपरोस् हामी ट्रेड यूनियन राख्ने र नराख्ने विवाद र लफडामा परेर को–को ले के भन्यौं । यस्तोले राज्य व्यवस्था समिति फेरि यो विवादमा फस्ने खतरा बढेको हुनाले मौन धारण तोड्या हुँ । (सांसद श्रेष्ठ समितिमा हुने छलफलमा त्यति धेरै बोल्दैनन्)

ट्रेड युनियन र यो संस्थाको हामी विरोधी होइन । राष्ट्रसेवक कर्मचारीलाई हामी अत्यन्तै सम्मान गछौं । सभाध्यक्ष महोदय मार्फत सिंगो राष्ट्रसेवक कर्मचारीलाई हाम्रो सन्देश यहि छ । उहाँहरुको हकहित र इज्जतको लागि हामी सचेत छौं ।

तर, सवाल के रह्यो भने, तलब पुनरावलोकन समितिमा ट्रेड यूनियनका प्रतिनिधि राख्ने कि नराख्ने, वा यो समितिले यूनियनका प्रतिनिधि वा यूनियनका अधयक्षलाई बोलाउन सक्ने कि नसक्ने भन्ने विषय । (विधेयकको दफा ५३ को उपदफा १ मा संघीय सरकारका मुख्य सचिवको नेतृत्वमा अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेको तीन सदस्यीय तलब तथा सुविधा पुनरावलोकन समिति रहने व्यवस्था छ । उपदफा २ मा ‘उपदफा १ बमोजिमको समितिमा विषयसँग सम्बन्धित विज्ञ, पदाधिकारी वा आधिकारिक ट्रेड यूनियनको अध्यक्षलाई आमन्त्रण गर्न सकिनेछ,’ भन्ने उल्लेख छ ।)

पहिले लोकसेवा आयोगको विज्ञापन रोक्नेसहित करार भर्ना गर्ने निर्देशन गयो । यसलाई पनि समीक्षामा राखौं । यता केही भन्न चाहन्न । आखिर राज्य व्यवस्था समितिको सदस्य ‘तँ पनि होस् नि’ भन्छन् । एक ठाउँबाट बिरायो भने सिंगो संस्था विवादमा पर्छ । हामी विवादमा पर्न चाहँदैनौं ।

त्यसकारण यहाँ पनि ‘विन विन’ को स्थितिमा जाउँ । यहाँ त फुकी–फुकी पाइला चाल्नुपर्ने स्थिति छ । सिंगो राज्य व्यवस्था समिति पक्ष–विपक्षमा छन् । हामी एकतावद्ध छौं । सत्तापक्ष र प्रतिपक्ष भन्ने पनि छैन । यो उपदफा २ हटाउनैपर्छ भन्ने होइन । ल्याउनेले पनि किन ल्याएको भन्ने होइन ।

लिने र दिने पनि एकै ठाउँमा बस्नुहुन्छ ? जसको निर्णयका विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ त्यही बसेर बहस गर्न मिल्छ ? त्यसकारण ट्रेड यूनियनलाई उच्च सम्मान र आदर गर्दै उहाँहरुले कर्मचारीको हक हितका लागि कर्मचारीको बोर्ड र अफिसमै बस्ने हो । अनि यो समितिले लटरपटर गर्यो भने झण्डा उठाएर आन्दोलन गर्ने हो । समितिमा ट्रेड यूनियनको अध्यक्ष आमन्त्रित हुने वा अनिवार्य राख्नैपर्छ भन्ने पनि आयो र पुरै हटाइदिउँ भन्ने पनि आयो ।

यसो गरे खतरातिर हामी फस्छौं । ट्रेड युनियन महासंघले कर्मचारीको तलब कति बढाउने भन्ने छलफल गरेर निर्णय गर्ने त होइन नी । उसले त समितिले गरेको निर्णयमा मिल्छ भने ‘यस’ मिल्दैन भने आन्दोलन गर्ने हो ।

त्यसकारण यसमा हटाउने र राख्ने नभनौं । ‘आवश्यकता अनुसार सरोकारवालालाई राख्न सकिनेछ’ भनौं ।

(बुधबार संसदको राज्य व्यवस्था समितिमा कर्मचारीको ‘तलब तथा सुविधा सम्बन्धि समितिमा ट्रेड यूनियनको उपस्थितिबारे नेकपाका कार्यालय सचिव एवं सांसद कृष्णगोपाल श्रेष्ठले राखेको विचार ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment