Comments Add Comment

‘अमेरिका’प्रति नरम बन्यो नेकपाको दस्तावेज

दस्तावेजमा कैंची चल्यो, जिल्ला इञ्चार्जमा सहमति जुट्यो

२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद थप्ने प्रयास असफल भएको छ । तर, दस्तावेजमा उल्लेख भएका अन्य कतिपय राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिका विषयमा अध्यक्षद्वयले केही संशोधन गरेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘जनताको जनवाद’मा सहमति भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसहित भएको सहमतिको भाषिक सम्पादनसमेत मंगलबार सकिएको छ ।

सचिवालयका एक सदस्यका अनुसार प्रतिवेदनमा मुख्यतः दुई ठाउँमा भने अध्यक्षद्वयले कैंची चलाएका छन् । प्रतिवेदनमा भएको ‘हामी शान्तिपूर्ण बाटोबाटै परिर्वतन गर्न प्रतिवद्ध छौं, तर, हाम्रो मात्रै चाहनामा भर पर्दैन । राष्ट्र, जनताविरोधी शक्तिले ठूलै प्रतिवाद गरे भने जनताले जसरी जगाडि बढ्न चाहन्छन्, त्यसको नेतृत्व हामीले गर्नुपर्छ’ भन्ने वाक्यलाई पुरै हटाइएको छ ।

त्यसैगरी प्रतिवेदनमा जति ठाउँमा अमेरिकालाई ‘साम्राज्यवाद’ का रुपमा चर्चा गरिएको थियो, त्यो ठाउँमा ‘अमेरिकी’ भन्ने शब्द हटाइएर नरम बनाइएको छ । ‘अरु चाहिँ भाषिक सम्पादन मात्रै छ’ स्रोतले भन्यो ।

अब नेकपाको दस्तावेजमा अमेरिकालाई ‘साम्राज्यवादी’का रुपमा किटानी गरिने छैन । दस्तावेजमा ‘विश्व साम्राज्यवाद’ पदावलीको मात्रै प्रयोग हुनेछ ।

सच्याउनुअघिसम्म नेकपाको अन्तरिम राजनीतिक प्रतिवेदनमा अमेरिकाको भूमिकालाई यसरी व्याख्या गरिएको थियो–

‘इस्लामिक आतंकवादको विरोधको नाममा इराक, अफगानिस्तान, सिरिया लगायतका अधिकांश खाडी मुलुकहरुमा युद्ध थोपरिएको छ । युद्धको भित्री आशय भने खाडी क्षेत्रबाट तेल र ग्यास लगायतका प्राकृतिक स्रोतहरुको दोहन गर्नुमा केन्द्रित छ । सिरियाको युद्धबाट लाखौं निर्दोषहरुको नरसंहार भएर भयावह मानवीइ संकट सिर्जना भएको छ । कोरियाली प्रायद्वीपमा बढ्दो अमेरिकी गतिविधिले तनाव सिर्जना गरेको छ ।’

त्यसैगरी सच्चिनुपूर्वको दस्तावेजमा हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथीको विरोध गर्दै र चीनको बीआरआईप्रति समर्थन जनाउँदै यस्तो भनिएको थियो–

‘अमेरिकासँग भारतको बढ्दो सैन्य साझेदारी, अमेरिका, भारत, दक्षिण कोरिया, जापान र अष्ट्रेलियाको सैन्य गठबन्धन, दक्षिण चीन सागर र मलक्का जलडमरु लगायत समुद्री मार्गहरुमा उत्पन्न समस्या, प्रशान्त र हिन्द महासागरमा बढ्दो अमेरिकी सैन्य तैनाथी, चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ र यसका विरुद्ध कतिपय देशका प्रयास, कोरियाली प्रायद्वीपको तनाव र पछिल्ला विकसित घटनाक्रम, चीन विरुद्धका कथित स्वतन्त्र तिब्बत गतिविधिहरु लगायत एशिया प्रशान्त क्षेत्रका घटनाक्रमहरुलाई पनि हामीले ध्यानमा राख्नुपर्दछ । यसक्रममा नेपालको राष्ट्रिय स्वाधीनतामा पर्न सक्ने प्रभावका बारेमा आवश्यक सजगता अपनाउनुपर्दछ ।’

जिल्ला इञ्चार्जमा सहमति

यसैवीच राजनीतिक प्रतिवेदनसँगै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको मापदण्डमा पनि सहमति जुटेको छ । जिल्ला अध्यक्ष र सचिव तोक्दा बनाइएको मापदण्डकै आधारमा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सहमति सोमबार विहान जुटेको नेताहरुले बताए ।

सहमति लगत्तै वरिष्ठ नेता माधवकुमार नेपाल श्रीलंकातिर लागेका छन् । उनी फर्किएपछि जिल्ला इञ्चार्ज र सहइञ्चार्जहरु तोकिने सचिवालयका एक सदस्यले बताए ।

यसअघि वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारी दिन नहुने अडान लिएपछि सहमति हुन सकेको थिएन । नयाँ सहमतिअनुसार तत्कालीन एमाले र माओवादीका जिल्ला इञ्चार्जलाई नै भागवण्डा अनुसार इन्चार्ज र सहइन्चार्ज बनाइनेछ । यसो गर्दा दुबै पार्टीका केही इञ्चार्जको सहइञ्चार्जमा घटुवा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment