Comments Add Comment

वीर अस्पतालका स्वास्थ्यकर्मी किन बने ‘नक्कली बिरामी’ ?

२७ असार, काठमाडौं । समायोजन छलेर केन्द्रमै बस्नका लागि देशकै जेठो वीर अस्पतालका स्वास्थ्यकर्मीहरु ‘नक्कली बिरामी’ बन्न थालेका छन् । पछिल्लो समय नेपाल मेडिकल बोर्डबाट कडा रोग तथा अशक्त विरामी भएको सिफारिस लिन वीरका स्वास्थ्यकर्मीहरुबीच प्रतिस्पर्धा नै चलेको छ ।

स्वास्थ्य मन्त्रालय मातहतको कर्मचारी समायोजनमा आफूले रोजेको स्वास्थ्य संस्थामा बस्नका लागि सामान्य विरामी भएका कर्मचारीदेखि स्वस्थ कर्मचारीले समेत जटिल र कडा रोगको सिफारिस बनाउँदै मन्त्रालयमा पेश गरेको आरोप लागेको छ ।

धमाधम कर्मचारीले कडा रोगीको सिफारिस ल्याउन थालेपछि मन्त्रालयको समायोजन प्रक्रियानै पेचिलो बनेको एक उच्च अधिकारीले बताए । सामान्य विरामीले पनि अशक्त र जटिल रोगीको सिफारिस लिन थालेपछि मन्त्रालयमा उजुरी परेको छ । तीमध्ये कतिपयले संघमा समायोजन पाइसकेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिएको छ । हालसम्म एघार तहका स्वास्थ्यकर्मीको समायोजन भइसकेको छ भने चार तहदेखि दशौं तहसम्मका कर्मचारीको समायोजन प्रक्रिया चलिरहेको छ ।

समायोजनका क्रममा केन्द्र र आकर्षक ठाउँ छाडेर अन्यत्र जानुपर्ने भएपछि ठूलो संख्यामा स्वास्थ्यकर्मीले जटिल रोगको सिफारिस बनाउन थालेका छन् । कतिपय उजुरी पनि परेको र समायोजनको सूचना निस्केपछि मेडिकल बोर्डबाट आउने सिफारिसको संख्या पनि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले स्वीकार गरेका छन् ।

यस वर्ष मेडिकल बोर्डले ५ सय कर्मचारीको जटिल रोगको सिफारिस गर्दा आधा भन्दा बढी स्वास्थ्यकर्मी परेका छन् । चिनजान र आर्थिक चलखेलमा त्यस्ता सिफारिस हुने गरेको भन्दै कर्मचारीलेनै बिभिन्न ठाउँमा सिफारिसमाथि छानविन गर्न माग गर्दै उजुरी हालेका छन् ।

सामान्य ढाड दुख्ने, उच्च रक्तचाप र थाइराइडका बिरामीले समेत आफू निकट चिकित्सकबाट कडा रोगको सिफारिस लिए मेडिकल बोर्डबाट पत्र बनाएका छन् । समायोजन ऐन २०७५ को दफा ८ को उपदफा ४ मा नेपाल मेडिकल बोर्डको सिफारिसमा कडा रोग र अशक्त भनि सिफारिश गरेकोमा मन्त्रालयले कर्मचारी लाई पायक र रोजेको स्वास्थ्य सस्थामा समायोजन गर्ने भनिएको छ ।

यही नियमको दुरुपयोग गर्दै निजामति कर्मचारीका नेताहरुले पनि विरामीको सिफारिस लिएका थिए । अहिले स्वास्थ्यकर्मीहरु पनि समायोजनमा अन्यत्र जानुपर्ने भएपछि एकाएक नक्कली विरामी बन्न थालेका छन् ।

वीर अस्पतालका १२ जनाभन्दा बढीले यस्तो सिफारिस लिइसकेका छन् । जब कि हिमाल तिवारी, कालु सिंह बाहेक अन्य सबै सामान्य बिरामी हुन् । नक्कली विरामी बनेकाहरु विरुद्ध मन्त्रालयमा उजुरी परेपछि वीर अस्पतालमा खैलाबैला मच्चिएको छ ।

मोटरसाइकलमा आवत–जावत गर्ने हट्टा–कट्टा अहेबहरू युवराज सुवेदी, जीवन श्रेष्ठ, डिल्लीराम आचार्य, डिल्लीराम खनाल, शंकर झा लगायतले पनि ढाड खिइएको र उभिएर हिँड्न नमिल्ने सिफारिस लिएको आरोप छ । यस्तो सिफारिस लिनेहरु अधिकांश वीर अस्पतालको आकर्षक ठाउँमा बसेर कमाइ गर्नेहरुमा पर्छन् ।

कर्मचारीहरुले नक्कली विरामी मात्र होइन, उनीहरुलाई जटिल रोग भनेर सिफारिस गर्नेमाथि समेत कारवाही हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment