Comments Add Comment

सर्वोच्चको आदेशपछि सीमा नाकामा विषादी परीक्षण

२७ असार, काठमाडौं । सर्वोच्च अदालतले सीमा नाकामा विषादी परीक्षणसम्बन्धी मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि भारतबाट आयात हुने तरकारी र फलफुलमा विषादी परीक्षण गरिएको छ ।

कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार कालिमाटी, बिराटनगर, बिर्तामोड, बुटवल तथा नेपालगञ्ज नाकाबाट भित्रिएका तरकारी तथा फलफूलको विषादी परीक्षण गरिएको छ ।

काठमाडौंमा एभोकाडो र लहरे आँप परीक्षण

विषादी परीक्षण केन्द्र कालीमाटीका प्रमुख जागेश्वर शर्माका अनुसार कालिमाटी तरकारी तथा पलफूल बजार र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पठाएको नमूना केन्द्रले परीक्षण गरिरहेको छ । केन्द्रमा बिहीबारदेखि भन्सारले नमूना पठाउन थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको दुई नमूना एभोकाडो र लहरे आँपको विषादी परिक्षण गरिएको केन्द्रका प्रमुख शर्माले जानकारी दिए । शर्माका अनुसार ती दुबै फलफुल खान योग्य थिए । कालिमाटी केन्द्रमा नेपाल भारत सीमा नाकाकाबाट भने कुनै नमूना नआएको उनले बताए ।

विराटनगरमा भन्सारका नमुना परीक्षण भएन

केन्द्रका प्रमुख मुकेश यादवका अनुसार बिराटनगर परीक्षण केन्द्रमा भन्सारबाट विषादी परीक्षणको नमूना भने पठाइएको छैन । यादवका अनुसार स्थानीय उत्पादन र थोक बजारका तरकारीको विषादी मात्रा परीक्षण गरिएको छ ।

स्थानीय उत्पादनमा विषादीका कारण खान अयोग्य मात्र नभेटिएको यादवले बताए । केही दिनअघि मात्रै यो केन्द्रको मर्मतसम्भार गरिएको थियो ।

बिर्तामोडमा हिजोदेखि परीक्षण

काँकडभिट्टा नाका नजिक रहेको विर्तामोडको विषादी परीक्षण केन्द्रकी प्रमुख अञ्जु आचार्यले असार ९ गतेदेखि २३ गतेसम्म भन्सारले पठाएको नमूना तरकारी तथा फलफूलको विषादी परीक्षण गरेको थियो । असार २३, २४ र २५ मा परीक्षण रोकिएको र बिहीबारदेखि पुनः सुरु गरिएको आचार्यले बताइन् ।

बिहीबार र शुक्रबार ३० वटा तरकारी तथा फलफूलको नमूना परिक्षण सकिएको आचार्यले बताइन् । भारतबाट आएको आलु, प्याज, आँप, भुइँकटहरलगायतका फलफूल तथा तरकारीको विषादी परीक्षण गरिएको छ ।

यहाँ परीक्षण गरिएका कुनै पनि तरकारीमा प्रयोग गर्न नमिल्ने परिमाणको विषादीको मात्रा नपाइएको आचार्यले बताइन् । केन्द्रमा कर्मचारी अभावमा एक्लैले धान्न मुश्किल भएको उनले गुनासो गरिन् ।

बुटवलमा भर्खरै पुगे नयाँ प्रमुख

बुटवल विषादी परीक्षण केन्द्रमा हालै काज सरुवा गरेर रामबहादुर खत्रीलाई पठाइएको छ । उनले दुई जनाको भरमा यो केन्द्र असार २४ देखि पुनः सञ्चालनमा आएको छ । भैरहवा भन्सारले बिहीबारदेखि यहाँ भारतबाट आयत हुने तरकारी तथा फलफूलको नमूना पठाउन सुरु गरेको छ ।

बिहीबार २६ र शुक्रबार ३० प्रकारका तरकारी तथा फलफूलको नमूना केन्द्रमा आएको थियो । केन्द्रमा आएका आलु, आँप, स्याउ, भिण्डी, पिडालु, लौका मध्ये आलुमा विषादीको उच्च पाइएको छ । केही दिन पछि पुनः परीक्षण गरेर मात्र खानयोग्य रहे नरहेको ३५ देखि ४५ बीचको मात्रामा विषादी आलुमा पाइएको खत्रीले बताए ।

नेपालगञ्जमा पनि नाकाबाट भित्रिएका तरकारीको नमूनामा पनि विषादी परीक्षण थालिएको कृषि मन्त्रालयले जनाएको छ । यता केन्द्रीय कृषि प्रयोगशालाले काठमाडौंमा १८ जनालाई तरकारी तथा फलफूलमा विषादी परिक्षणसम्बन्धी तालिम दिएको केन्द्रले जनाएको छ ।

असार २ गते वाणिज्य मन्त्रालयले निकासी पैठारी आदेशमा संशोधन गर्दै भारतबाट आयत गरिने फलफूल तथा तरकारीको विषादी परिक्षण सीमा नामामै गरिने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment