२१ वैशाख, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्यामा संलग्न तीन जनाविरुद्ध मुद्दा दायर भएको छ । एक मुख्य अभियुक्त र दुई मतियार गरी तीन जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
हत्यामा संलग्न ललितपुर महानगरपालिका-९ भोलढोकाका ३२ वर्षीय सञ्जीव नेपाली, नवलपरासीको गैंडाकोट-१ का २१ वर्षीय गगन सुनार र झापाको कमल गाउँपालिका–६ का २७ वर्षीय विकास लिम्बुविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूमध्ये नेपालीलाई जन्मकैद सजायको माग गरिएको छ, भने अन्य दुई जनालाई मतियारका रूपमा मुद्दा दायर गरिएको छ ।
१५ चैतमा कृष्ण मन्दिर परिसरमा सिर्जन नेम्वाङ र सुमित नेम्वाङको हत्या भएको थियो । उनीहरू दाजुभाइ हुन् ।
नेम्वाङ दाजुभाइले फोन गर्दा नम्बर गलत परेर सञ्जीवको मोबाइलमा फोन गएको थियो । उनीहरू एकापसमा परिचितसमेत होइनन् । नचिनेको नम्बरबाट फोन आएपछि उनीहरूबीच भनाभन भएको थियो । त्यसपछि पाटनमा भेट्न आइज भनेर एकअर्कालाई भनेपछि उनीहरू कृष्ण मन्दिर परिसरमा भेट्न पुगेका थिए ।
सोही क्रममा दुवै पक्षबीच हात हालाहाल हुँदा सञ्जीवले चक्कु प्रहार गरेर नेम्वाङ दाजुभाइको हत्या गरेका थिए ।
प्रतिक्रिया 4