Comments Add Comment

धावनमार्गमा चिप्लियो यती, ८ घन्टा अन्तराष्ट्रिय विमानस्थल ठप्प

२७ असार, काठमाडौं । दैनिक करीव ४ सय उडान–अवतरण हुने देशकै एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, जहाँ व्यस्त समयमा करीव २–३ मिनेटमा एक जहाज उड्छ या अवतरण गर्छ । त्यसरी व्यवस्थापन गरिएन भने आकासमा जहाजको लाइन लागिहाल्छ । त्यही त्रिभुवन विमानस्थलमा एक मात्र धावनमार्ग छ । जति धेरै उडान–अवतरण हुँदा दुर्घटनाको जोखिम स्वाभाविक पनि हो ।

तर एउटा सामान्य दुर्घटना (जहाँ यात्रु सकुशल छन्, जहाज जस्ताको तस्तै छ)ले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ठप्प बनायो । त्यो पनि एकाध होइन, ८ घन्टा ।

शुक्रबार विहान ११ बजे यती एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएर घाँसे मेदानमा पुगेको थियो । ११ बजेर ५ मिनेटबाट उडान तथा अवतरण अवरुद्ध भयो । धावन मार्गबाट केही मिटर पर पुगेको विमानलाई हटाउन झण्डै ८ घन्टा लाग्यो । साँझ ७ बजेबाट मात्र अन्तराष्ट्रिय उडान तथा अवतरण सुचारु भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु दुर्घटना र यसबाट उद्दारमा हुने ढिलाईलाई नियतीको खेल मान्छन् ।

यती एयरलाइन्सको जहाज धावनमार्गमै चिप्लिएपछि करीव १ दर्जन जहाज डाइभर्ट भए । जहाज नेपाल आएर पुनः आफ्नो गन्तब्यमा फर्कनुपर्ने थियो । दर्जनौं नेपाली जहाज जुन आन्तरिक विमानस्थलमा थिए उतै रोकिए, सयौं उडान–अवतरण रद्द भए । गन्तब्यमा पुग्नुपर्ने सयौं यात्रु विमानस्थलमै अलपत्र परे ।

तर, त्यसको जिम्मेवारी कसले लिने ? विमानस्थल महाप्रवन्धक राजकुमार क्षेत्री प्रतिकूल मौसमका कारण समयमै जहाज हटाउन नसकिएको तर्क गर्छन् । ‘जहाजको पछाडिको एउटा पांग्रा हिलोमा गाडिएले उद्धारमा समस्या आयो,’ उनी भन्छन् ।

२० फागुन २०७१ मा टर्कीको राजधानी इस्तानबुलबाट आएको टर्कीस एयरलाइन्सको जहाज धावनमार्गमा दुर्घटना हुँदा चार दिनसम्म विमानस्थल बन्द भएको थियो । उक्त समयमा पनि सबै यात्रु शकुसल थिए तर, जहाजले धावनमार्ग ओगटेर बसेका कारण चार दिनसम्म नेपालको अन्तरराष्ट्रिय हवाई सम्बन्ध विच्छेद भयो । त्यो घटनाले नेपालको हविगत मात्र उदाङ्गो पारेको थिएन, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको खाँचो औल्याएको थियो ।

तर ५ वर्षसम्म पनि न दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा टुंगिएको छ, न आपतकालीन उद्दारको क्षमता नै बढेको छ । पूर्वसचिव तथा हवाई विज्ञ यज्ञ गौतम भन्छन्, ‘एक पटक गल्ती गर्दा पनि नचेतेपछि पटकपटक दुःख पाउनु स्वाभाविक हो ।’

एयरलाइन्स एशोसिएशन अफ नेपाल (आयोन)का सदस्य प्रज्जव थापा पनि त्यसमा समत छन् । ‘टर्कीस दुर्घटनापछि हामीले पाठ सिक्ने प्रयास नै गरेनौं,’ उनी भन्छन्, ‘यस्ता साना दुर्घटनाका कारण विमानस्थल बन्द हुनु राम्रो होइन ।’

उडान रद्द हुँदा खासगरी ट्रान्जिट उडान गरी विदेशी गन्तब्यमा जानुपर्ने यात्रु बढी समस्यामा पर्छन् । किनकी काठमाडौंबाट उडेको जहाजले बीचको गन्तब्यमा छाडेपछि त्यहाँबाट अर्को जहाज चढेर अन्तिम गन्तब्यमा पुगिसक्नुपर्छ ।

गफमा सिमित छ दोस्रो अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समानान्तर धावनमार्ग बन्ने र बनाउने सम्भावना छैन । किनकी घना वस्तीको बीचमा अवस्थित विमानस्थल बिस्तार गर्न जमिन छैन । त्यसकारण काठमाडौंको विकल्प खोजिएको हो ।

खोजी शुरु भएको पनि करीव साढे दुई दशक पुगेको छ । २०५१-५२ सालमै बाराको निजगढमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थल बनाउने गरी स्थलको छनोट भएको हो । सन् २०१० मै कोरियाको वल्र्डवाइड इन्टरनेशनलले यस विमानस्थलको विस्तुत सम्भाब्यता अध्ययन सकाएको पनि थियो । योजनाअनुसार काम भएको भए २०१५-१६ सम्म बारामा समानान्तर धावनमार्गसहित संसारकै ठूलोमध्ये एक अन्तरराष्ट्रिय विमानस्थल बनिसक्थ्यो । काठमाडौंमा धावनमार्ग अवरुद्ध हुँदा बाराले सेवा दिइरहेको हुन्थ्यो ।

तर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रुख काट्ने कि नकाट्ने भन्ने विवादमा अल्झिएको छ । यसलाई टुंगो लगाउन न सरकार तात्तिएको छ न संसदीय समितिहरु । प्रारम्भिक चरणको कामै शुरु नभएको यो आयोजना नबनेसम्म पटकपटक यात्रुले दुःख पाउने पक्का छ । किनकी भैरहवा र पोखरामा निर्माण भइरहेका क्षेत्रिय विमानस्थलले काठमाडौंको विकल्प दिन सक्दैन ।

भिजिट २०२०

भनिन्छ, विमानस्थल मुलुक चिहाउने ऐना हो । विमानस्थलले दिने प्रभावले देश र त्यहाँका नागरिकको अवस्था चित्रण गर्छ । त्रिभुवन विमानस्थलको धावनमार्गमा अवतरण गर्दागर्दै ५१ जनाको ज्यान जाने गरी यूएस बंगला विमान दूर्घटनामा परेको वर्ष दिन मात्र पुगेको छ । फेरि एउटा विमान धावनमार्गबाट चप्लिँदा ८ घन्टासम्म अन्तराष्ट्रिय विमास्थल बन्द हुन पुगेको छ ।

पटक पटक विमानस्थलभित्रै हुने दुर्घटना र त्यसपछि हुने सुस्त ‘रेस्पोन्स’ले विमानस्थलको छवि त धुमिल्याउने पक्का छ । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्का एक पटकको संकट टरेपछि भविश्यबारे सचेत नहुने नेपाली प्रवृत्तिको उदाहरण विमानस्थल व्यवस्थापनलाई मान्छन् ।

‘टर्कीस एयरलाइन्सको दूर्घटनापछि अब दोस्रो विमानस्थलको आवश्यकता भइसकेको थियो,’ उनले भने, ‘विदेशी पर्यटकमा स–साना दुर्घटनाले पनि ठूलो असर गर्छ ।’
झन २० लाख पर्यटक भित्राउने लक्ष्यसहितघ घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० लाई असर नपर्ने कुरै भएन । त्यसैले यो घटनामा मात्र होइन, भविश्यमा आउने जोखिममा सरकार कसरी काम गर्छ, धेरै कुरा त्यसले बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment