Comments Add Comment

संस्मरण : गौरमा बाढी ! अमेरिकामा अलर्ट !

दाहार अलै रे ! भाग रे भाग !

तीन/चार दिनअघि अचानक मोबाइलमा साइरन बज्यो । यसो हेरेको, फ्लड अलर्ट रहेछ । म्यासेज पढेर म हासेँ । म रौतहट गौरकी मान्छे, अमेरिकाको फ्लड अलर्ट !

गाडीको चक्कासम्म नडुब्ने पानीमा यत्रो सजगता ! कार्यालय समयमा काममा जान निस्केकी, उता नजान आग्रह गर्दै जतात्यतै पुलिसका गाडीले बाटो ब्लक गरेका । जुन बाटो गए पनि ब्याक हुनुपर्‍यो । अफिस करीब आधा घण्टा ढिलो आउने वा आउन पनि नसक्ने स्थिति हुन सक्छ भनेर म्यानेजरलाई म्यासेज पठाएँ ।

मलाई यहीबेला गौरको सम्झना आइदियो । आखिर सम्झना त आफ्नै जन्मभूमिकै आउने, आफू जहाँ रहे पनि । म जन्मेको ठाउँ गौर अहिले डुबानमा परेको खबर अमेरिकाबाट हेर्दै, सुन्दैछु । बाल्यकालको सम्झना बाढीको पानीसँगै मस्तिस्कमा बग्दैछ ।

शायद असार होला । घरको पश्चिमपट्टि किसानहरु खेतमा धमाधम धान रोपिरहेका देखिन्थे । आमाले शायद अलि ठूलो मोटो रोटी अनि अरु के-के हो, तरकारी, नुनतेल खेतमा लानुहुन्थ्याे खाजाका लागि । त्यसैवीचमा निक्कै परबाट आवाज आउँथ्यो । ‘दाहार अलै रे !’ अनि थाहा हुन्थ्यो ‘बाढी’ आउँदैछ ।

आमा अतालिँदै भान्सामा रहेका नुनतेल चिनी मसला जेजे छन्, सबै बोक्दै हाम्रो माथिल्लो पक्की घरमा ओसार्नुहुन्थ्यो । घाममा सुकाएर राखेको गोलभेडाको सुकुटी, खेसरीको सागलाई मासको दालसँग पिँधेर बनाएको लामो-लामो अरिकञ्चन, रायोको साग उसिनेर सुकाएको साग, इत्यादि जोहो गरेर राखिएका तरकारीका पोकाहरु खोज्न थाल्नुहुन्थ्यो ।

पारिलो घाम लागेका समयमा बनाएर राखिएका चुल्हाहरु, गोबरका डल्ला हातले मुछ्दै बनाइएका चपरी गुइँठाहरु खोज्न थाल्नुहुन्थ्यो । यी सबै चिजहरु मानौं आमाका लागि सुनका गहनाभन्दा बहुमूल्य थिए ।

बसुधा नेपाल पोखरेल

आमाले ती चिजहरुको जोहो, खोजी गर्दै गर्दा मचाँहि घरको कौसीमा बसेर सडकमा के-के भयो, को कता दौडिए, खेतबाट किसानहरु काँधमा हलो बोकेर ‘दाहार अलै रे, भाग रे  भाग’ भन्दै भाग्दै गरेको हेरी बस्थेँ ।

पश्चिम बकैयातिरबाट पानी आउञ्जेलसम्म त आमा त्यति धेरै आत्तिएको जस्तो लाग्थेन । जब पानीको भेल बागमतीबाट पनि बेजोडले आउँदैछ भन्ने खबर किसानहरुले हल्ला गर्थे, अनि आमा अझ धेरै आत्तिएको जस्तो लाग्थ्यो । त्यसपछि आमा सामानहरु तल्लो तल्लाबाट माथिल्लो तल्लामा सार्नुहुन्थ्यो । बुवाका सहयोगी हात पनि सँगै हुन्थे ।

मानिसहरु जसका घरहरु अलि होचो जमिनमा थिए, उनीहरु आफैं सुरक्षित घरहरुतिर आउने क्रम बढ्थ्यो । हाम्रो घर अलि उचो ठाउँमा भएकाले स्वाभाविकरुपमा हामीकहाँ धेरैजना बस्न आउनुहुन्थ्यो ।

आमा स्टोभ बालेर, कैले छतमा चुल्हो बालेर खाना पकाउन थाल्नुहुन्थ्यो । अलि धेरै नै पकाएर राख्नुहुन्थ्यो । शायद मानिस कति आउँछन् भन्ने आँकलन नभएर होला ।  बेलुका परिवारसहित घरमा आउनुभएका सबैजना खाना खाइन्थ्यो ।

गौर बजारको मेनरोड (फरेन गुड्स एरिया भन्थे) का घरहरु गौर बजार करीब-करीब डुबानमा परिसकेपछि मात्रै दुबानमा पर्ने भएकाले अलि सुरक्षित नै थिए ।

जब पूर्वबाट बागमतीले उग्ररुप धारण गथ्र्याे, पानी पूर्वको गाउँबाट बेसम्हालको रफ्तारमा सडकमा जलमग्न हुन्थ्यो । हेर्दाहेर्दै सडकमा डुंगा पनि चल्न थाल्थे । माटोसहित बगेर आएका पहेंलो पानीमा सर्पहरु मज्जाले सलल बगेर आएको देखिन्थे । कुकुरहरु टाउको पानीमाथि राखेर आवाज निकाल्दै तैरेर उँचो जमिन वा घरमा आएर बस्थे । मानिससँगै ती कुकुर पनि घरका पाहुनाजस्तै भएर बस्थे ।

उता नजिकैको छिमेकी बिष्णुबहादुर मानन्धरको घर पनि उच्च जमिनमा भएकाले सुरक्षित थियो । गाउँका गाईभैंसी बयल सबै त्यहीँ बाँधिएका हुन्थे ।

पानीको बहाव निरन्तररुपमा बढिरहेको हुन्थ्यो । सबैजना चिनो लगाउँदै पानी नाप्दै गर्थे । हामी केटाकेटीहरु चाहिँ आमाले पकाएर राखेको चिनी हालेको रोटी खान्थ्यौं । सादा रोटी छ भने चिनी हाल्यो, बेरेर खायो, अहिले सम्झँदा पनि कस्तो मिठो !

राति करीब-करीब १२ बजेसम्म बाढी बढ्ने क्रम र नापेर चिन्ह लाउने क्रम जारी रहन्थ्यो । मेरो चाँहि कोठामा आमाले आरीमा राखेको रोटीमा एकचम्चा चिनी हालेर रोल गरेर खाने क्रम जारी रहन्थ्यो ।

रात परे पनि कोही नसुत्ने । शायद बाढीको भयले होला । पारि भारततिर छिमेकी मुलुक मस्त निऽामा हुन्थ्यो । पानी आउने सम्पूर्ण बाटो रोकेर विशाल बाँधको बीचमा उनीहरु मस्ता निदाउँथे । गौर पूर्णरुपमा जलमग्न हुन्थ्यो, पारि पानीबिनाको माछाजस्तो ।

यता हल्ला चल्थ्यो, जो एक चुहा पकड कर देगा, उसको ५०० इनाम ! शायद त्यो हल्ला नभई साँचो नै थियो होला । तर, मलाई त्यसको खासै चासो थिएन । मान्छेहरु इनामको लागि ज्यान दिएर बाँधमा मुसा खोज्दैछन् भन्थे मानिसहरु ।

जब पानी बढ्ने क्रम घट्न थाल्थ्यो, अनि मानिसहरु त्यही पानीमाथि खाटमा सुत्ने तर्खर गर्थे । शान्त पानीमा अशान्त मन जस्तो ।

राति ‘चुहाको इनाम’ सुनेर सुतेकी म बिहान उठ्दा लौ पारि देशमा राति नै बाँध भत्केर निदाइरहेको पनटक्की गाउँ पुरै बगायो रे भन्ने खबर सुन्दाचाँहि जुन देशको भए पनि गरीब जनता बगे भन्ने कुराले खुब पीडा भयो ।

बयस्क जति सडकमा आफूसँग भएका पानीबुट लगाएर हातमा लाठी बोकेर जम्मा हुन्थे । लाठीले कुन ठाउँमा खल्डो छ कुन ठाउँ सुरक्षित छ, त्यसको मापन गर्ने काम गर्थ्यो ।

हामी केटाकेटीलाई सडकमा पानीको बहावसँगै खुट्टामा सरर पानी बग्दा बेग्लै खालको मज्जा आउने ! न सरकारले क्यै गरेन भन्ने गुनासो, नत कुनै चिन्ता । त्यो बालापन थियो ।

कहिले पूर्वको बागमती, कैले पश्चिमको बकैयातिर फिरेका नजर । तर, त्यसबेला उनीहरुको बुट डुब्ने पानी हुँदैनथ्यो । न त उनीहरुलाई नौका बिहार गराउन सक्ने क्षमता भएको बाढी नै

यी त भए बजारका घरतिरको अवस्था ।

एउटै बर्खामा दुई/तीनपटक धान रोप्थे गौरका किसानहरु । अहिले सोच्छु- कति पीडा हुँदो हो आफूले रोपेको आफ्नो सन्तानजस्तै धान निस्ठुरी दाहारले बगाएर लगिदिँदा ।

माटोको मात्र घर हुने जिन्दगी करीब छ महिनासम्म सुत्ने सानो झुपडी सधैं चिसै हुने ।  एउटा पक्कीघरको असारदेखि भिजेको चुल्हो त असोजको दसैंसम्म बाल्दाखेरि ‘दाहारको पानी’ को अवशेषले फुस्स-फुस्स गर्दै निभाइदिन्थ्यो । झुप्रोको अवस्था झन् के होला ?

जब दाहार आएको हप्ता/पन्ध्र दिनपछि ठूलो आवाज गर्दै आकाशबाट हेली ब्यारेक फिल्डमा झथ्र्याे, वयस्कभन्दा पनि त्यहाँ बालबालिकाको घुइँचो लाग्थ्यो । कतिपय बालबालिकाले सर्ट लगाएका हुन्थे भने कट्टु हुन्थेन, कसैले कट्टु लगाएका हुन्थे भने सर्ट हुन्थेन ।

सडकमा एकपटक फेरि मेला लाग्थ्यो । कस्ता राम्रा राम्रा मान्छे ! सलक्क परेका । लामा लामा बुट लगाएका । आँखामा ढल्लक्क काला-काला चस्मा लगाएका ! हातमा चिल्ला चिल्ला लठ्ठी ! कहिले पूर्वको बागमती, कैले पश्चिमको बकैयातिर फिरेका नजर । तर, त्यसबेला उनीहरुको बुट डुब्ने पानी हुँदैनथ्यो । न त उनीहरुलाई नौका बिहार गराउन सक्ने क्षमता भएको बाढी नै ।

अनि सुरु हुन्थ्यो मेरो घरको छतमा रहेको सानो चुल्हो को शक्ति ।  चुल्होभित्र आगो बाल्ने दाउरा, गुइँठा, जसले आमाले बनाएर राखेको अरिकञ्चनको तरकारी, तिलको तितौरा, सुकाएर राखेको गोलभेडाको चटनी । कुर्दै गरेको दशैं, जुन दिन हाम्रो आफ्नो भान्सामा करीब-करीब आसारदेखि नबलेको चुल्हो असोज कात्तिकमा बल्न सक्ने चुल्होको खुराक ।

मैले अमेरिकाबाट सम्झें, अझै पनि मेरो गौर, तिमी ‘दाहारको’ समयका लागि दाउरा, चपरी, गुइँठा अनि आफ्नै हातले बनाएर राखेको चुल्हो सुरक्षित राख्नु । आफ्नै बारीखेतमा उब्जेको खेसरीको सागको अरिकञ्चन बनाएर राख्नु । आफ्नै सीपले तिलौरा र सुकेको गोलभेडाको चटनी बनाएर मीठो मान्दै पकाएर मलाई सम्झिँदै खानु  । चाहे त्यो जलशयन किन नहोस्, आनन्दले चयनको सुरक्षित निँदरी निदाउनु ।

थुप्रै बसन्तहरु पार भैसके । थुप्रै बषर्ा बगिसके । थुप्रै भूगोल पार गरिसकेँ । तर, ती सम्झना, ती मिठासपूर्ण वात्सल्य, ती बालसुलभ आनन्द, जसले कुनै दुःखमा पीडा थपेन । कुनै अत्यासलाग्दो दिनमा आत्तिइएन । कस्तो दुःख होला त्यो, जसले अझै सम्झँदा पनि आनन्दित तुल्याउँछ ! रोमाञ्चित बनाउँछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment