Comments Add Comment

संसदीय समितिका बैठक पनि स्थगित गर्न कांग्रेसको माग

Photo Credit : फाइल तस्वीर

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका छन ।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न माग गरिन् । उनले पीडितलाई साथ दिन आ– आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने धारणा राखिन् ।

सांसद दिव्यमणि राजभण्डारीले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने बेला समितिको बैठक बोलाउन नहुने बताए ।

सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे । उनले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदहरुलाई आ–आफनो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने पनि बताए ।

यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाइ हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भए पनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए ।

प्रतिनिधिसभाको बैठक भने साउन ८ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले बाढी र डुवान पीडितको सहयोगमा जुट्न सांसदहरुलाई निर्देशनसमेत दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment