Comments Add Comment

लघुकथा : उहाँ को अंकल हो मम्मी ?

बलबहादुर थापा मगर

दिदीहरु बिहे भएर गइसकेका थिए । बुवा र आमालाई बुढ्यौलीले छोप्दै थियो । म काममा बाहिर निस्कन्थें । बुवाआमाको रेखदेख र बाहिरको काम एक्लै गर्नुपर्थ्यो । आमाले मेरो दु:ख देखेर बिहे गर भन्नुहुन्थ्यो ।

बिहे गर्नलाई राम्री केटी पनि चाहियो । धेरै समयपछि दिदी र फुपूहरुले केटी खोजिदिए । बिहे भयो । बुवाआमाको रेखदेखका लागि सजिलो भयो ।

समय बिस्तारै बित्दै गयो । घरमा एकजना थपिनेबित्तिकै घर व्यवहार धान्नलाई धौ-धौ पर्दोपरेछ । त्यसमाथि बच्चा पनि भए । झन् आर्थिक व्यवहारले थिच्दै भयो । घर व्यवहार धान्न मुश्किल हुन थालेपछि म बिदेश लागें ।

बिदेश गएपछि घरमा फोन गरिरहन्थें । घरको हालखबर बुझिरहन्थें । श्रीमती बोल्नेबित्तिकै घर कहिले आउने भनेर सोधिहाल्थिन् । छोरीको साह्रै न्यास्स्रो लाग्थ्यो । बोली सुन्न मन गरिरहन्थ्यो । छोरीलाई बोली सुनाउन श्रीमतीलाई आग्रह गर्थें । उनले छोरीलाई चिमोट्थिन् । उ च्याँ गरेर रुन्थिन् । मलाई सकुन मिल्थ्यो । उनको रुवाई मेरो खुशीको कारण बन्थ्यो ।

कहिलेकाँही भिडियो कल हुँदा छोरीलाई धोको फेरुन्जेल हेर्थें । उनको मेरोजस्तै नाक र आफ्नी आमाका जस्ता आँखा हेरिरहन मन लाग्थ्यो । उनलाई काँखमा राखेर खेलाइरहन मन लाग्थ्यो । घोडचढी गराएर हटहट गर्न मन लाग्थ्यो । काँधमा राखेर गाँउभर डुलाउन मन लाग्थ्यो । मन भएर नहुँदो रहेछ । बाध्यता र परिस्थिति बाधक बन्दोरहेछ । कल्पनामै छोरीलाई घोडचढी गराएर, मनमनै गाँउमा डुलाएर आफ्नो चाहाना पूरा गर्थें ।

धेरै चाहना र ईच्छाहरु मारेर ५ बर्ष खाडी मुलुकमा बिताएँ । विदेशको लामो बसाइपछि घर फर्कें । बुवाआमाको आशिवाद लिएँ । श्रीमती केही बोल्नै सकेकी थिइनन् । आँखामा टिलपिल आँशु लिएर एकोहोरो मलाई हेरिरहन्थिन् ।

छोरी साँझ पर्नै लाग्दा फ्रक उचालेर नाच्दै घर आइन् । मैले एकटकले हेरिरहें । आशु बगे । बोल्ने कुनै शब्द आएन ।

उनी आफ्नी आमानजिक पुगिन् र घरमा नौलो मान्छे देखेर अचम्म मानी मतर्फ औंलाले ईंगित गर्दै सोधिन् – उहाँ को अंकल हो मम्मी ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment