Comments Add Comment

मोतिहारीको डिजेल अब सीधै अमलेखगञ्जमा

पन्ध्र वर्षपछि साकार हुँदैछ पाइपलाइनबाट तेल ल्याउने योजना

२ साउन, काठमाडौं । नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमार्फत पहिलोपटक पठाइएको डिजेल बिहीबार मध्यरात नेपालमा आइपुग्दैछ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा पहिलोपटक परिक्षणका लागि पठाइएको एक हजार लिटर डिजेल अमलेखगन्ज डिपोमा खस्नेछ ।

अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादवक अनुसार भारतबाट बुधबार दिउँसो १२ बजे पाइपलाइनमा डिजेल हालिएको थियो ।

पानीको सफल परिक्षणपछि पहिलोपटक पाइपलाइनमा डिजेल पठाइएको उनले बताए । ‘आज राति १२ बजेको आसपासमा आयल निगमको अमलेखगन्ज डिपोमा डिजेल खस्ने अनुमान छ,’ यादवले अनलाइनखबरसँग भने ।

बुधबार मोतिहारीबाट पम्पिङ गरिएको एक हजार लिटर डिजेलको अघिल्लो भागमा पानी रहेका कारण उक्त तेल अमलेखगञ्जमा निकालिएपछि प्रशोधन गरेर पानी र तेल छुट्याइने छ । यसका लागि अमलेखगञ्ज डिपोमा चारवटा ट्याङ्की तयारी अवस्थामा छन् । पाइपलाइनबाट भण्डारण ट्याङ्कीसम्म तेल लैजान पनि पाइपलाइनकै प्रयोग हुने र यसको जडान सम्पन्न भएको यादवले बताए ।

पाइपलाइनको औपचारिक उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरिराख्न थप २१ हजार लिटर तेल बिहीबार १२ बजेदेखि पुनः पठाउन थालिएको उनले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि अमलेखगन्जमा छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल-भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । एक दशकसम्म सुरु हुन नसकेको परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो । त्यसबेला तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच सम्झौता भएको थियो ।

तर २०७४ पुसमा मात्र भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो । १८ महिनापछि असारमा पाइपलाइन निर्माण सम्पन्न भएको छ । कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने नेपाल आयल निगम अमलेखगन्ज डिपो प्रमुख प्रदीप यादव बताउँछन् ।

अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ । भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परिक्षण गरेर मात्रै निगमले वितरण गर्नेछ ।

पाइपलाइनबाट पठाइएको तेलको परिमाणको आधारमा आईओसीले तेलको बिल नेपाल आयल निगमलाई पठाएपछि नेपालले भारतीय आयल निगमलाई रकम भुक्तानी गर्ने छ ।

पाइपलाइन सञ्चालनपछि ढुवानी शुल्क घट्ने निगमले जनाएको छ । हाल भारतबाट पेट्रोलियम ढुवानी गर्दा प्रतिलिटर २ रुपैयाँ ५० पैसा ढुवानी शुल्क लाग्छ । ट्याङ्करबाट हुने डिजेल चोरी रोकिनुका साथै ढुवानी गर्ने चालक तथा सवारीमा लाग्ने विभिन्न खर्च पनि घट्ने आयल निगमको दाबी छ ।

पाइपलाइन निमार्णको सबै खर्च आईओसीले ब्याहोर्ने र अमलेखगन्ज डिपो सुदृढिकरणमा एनओसीले खर्च गर्ने सम्झौतामा उल्लेख थयो । तर अहिले पाइपलाइन निमार्णको ३ अर्ब भारु र अमलेखगन्ज डिपो सुदृढीकरणमा लागेको २४ करोड भारु आईओसीले नै ब्यहोरेको नेपाल आयल निगमले जनाएको छ ।

पाइपलाइन र डिपो सुदृढीकरणमा हालसम्म आईओसीले ५ अर्ब १८ करोड ४० लाख नेपाली रुपैयाँ खर्च गरेको छ । पाइपलाइनको दुई देशका प्रधानमन्त्रीस्तरबाट उद्घाटन गर्ने तयारी भएकाले सबै लगानी नेपाल-भारत सहयोग अन्तर्गत समेटिन सक्ने निगम स्रोतले बतायो ।

नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु पेट्रोलियम पदार्थ हो । आर्थिक वर्ष २०७५/०७६ को प्रथम ११ महिनामा नेपालले १ खर्ब ९७ अर्ब २८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको निकासी प्रवर्द्धन केन्द्रको विवरणमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्ष नेपालले एक खर्ब ८ अर्ब १५ करोड २२ लाख रुपैयाँ बराबरको इन्धन आयत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment