Comments Add Comment

वीरगञ्जका दुवै भन्सारले राजश्वको लक्ष्य भेटाएनन्

३ साउन, वीरगञ्ज । वीरगन्ज स्थित भन्सार कार्यालयहरुले यसवर्ष पनि भन्सार विभागले दिएको लक्ष्यअनुसार राजश्व संकलन गर्न सकेका छैनन् ।

आर्थिक वर्ष ०७४/७५ मा जस्तै आर्थिक वर्ष ०७६/७६ मा पनि वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय दुई वर्षदेखि असफल देखिएका हुन् ।

आर्थिक वर्ष ०७३/७४ मा भने दुवै भन्सार कार्यालयले लक्ष्य भन्दा बढी नै राजश्व संकलन गरेका थिए ।

भन्सार राजश्व अशुलीमा एक नम्बरको भन्सार कार्यालयको रुपमा परिचित वीरगञ्ज भन्सार कार्यालय र रेलमार्ग जोडिएको सिर्सिया सुख्खा बन्दरगाह दुवैले दुई आर्थिक वर्षदेखि विभागले दिएको लक्ष्य भेट्टाउन सकेका छैनन् ।

वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख ७५ हजार राजश्व संकलन गरेको छ । जुन लक्ष्यको ८५.९७ प्रतिशत अर्थात लक्ष्य भन्दा १४.०३ प्रतिशतले कम हो ।

यो पनि पढ्नुहोस वीरगञ्ज भन्सारले भेट्न सकेन राजस्व संकलनको लक्ष्य

भन्सार विभागले कार्यालयलाई गत आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएको थियो । कार्यालयले वभागले दिएको लक्ष्य भन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत मनिष महतोले राजश्वको लक्ष्य ३० प्रतिशतले वृद्धि हुँदा आयातको मात्रा १५ प्रतिशतको हाराहारीमा मात्रै बढेकोले लक्ष्य अनुसारको राजश्व अशुली गर्न नसकिएको बताए । ‘जीप, कार, भ्यान, मोटरसाइकल सवारी साधन, गाडी च्यासिजहरु, क्लिंकर, फ्याटी एसिड, जिप्सम, जिंक, दूध, मरिच, पेपर आयातमा कमी आएको छ । कच्चा पाम आयल, सुर्यमूखी, सन फ्लावरको आयात बढेको छ । तर त्यसले रेभिन्युमा खासै योगदान दिँदैन,’ उनले भने ।

अधिकृत महतोले अघि भने, ‘नयाँ सवारी साधन ‘हाइ ड्युटी लाग्ने बस्तुमा पर्छ । त्यसमा विभिन्न कर गरी २ सय ३० देखि ३ सय प्रतिशतसम्म कर लाग्छ । त्यसको आयातमा कमी आउँदा राजश्व अशुलीमा नकारात्मक असर परेको देखिन्छ ।’

वीरगञ्ज भन्सार कार्यालयबाट उठ्ने राजश्वमा नयाँ सवारी साधन, र पेट्रोलियम पदार्थको योगदान ५० प्रतिशतको हाराहारीमा हुने गरेको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा पनि वीरगन्ज भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउन सकेको थिएन । आर्थिक वर्ष ०७४/७५ मा विभागले कार्यालयलाई १ अर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

भन्सार विभागले यस भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएको थियो । तर, उसले १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजश्व उठाएको थियो ।

यो पनि पढ्नुहोस भन्सार असुलीमा वीरगञ्ज पहिलो, दोश्रो बन्यो रूपन्देही

पहिले वीरगञ्ज भन्सार कार्यालयबाट मात्रै राजश्व संकलन गर्दै आएको कार्यालयले ०७४ चैत २४ गतेबाट एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सञ्चालनमा आएपछि दुवैतिरबाट राजश्व संकलन गरिरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयबाट सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थरकोइला, फलामे छड डण्डी, पाइप, सिमेन्ट क्लिङ्कर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेशिनरी तथा कच्चापदार्थ लगायतका मालबस्तु आयात हुने गरेको छ ।

सुख्खा बन्दरगाहले पनि भेटाएन लक्ष्य

सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले लगातार दोस्रो वर्ष राजश्व संकलनको लक्ष्य भेट्टाउन असफल भएको छ ।

ड्राइपोर्ट भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजश्व संकलन गरेको छ ।

जुन लक्ष्यको ८९.३६ प्रतिशत मात्रै हो । लक्ष्य भन्दा ३ अर्ब ८४ करोड १८ लाख ५३ कम राजश्व संकलन भएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

अपेक्षा अनुसार मालबस्तुको आयात नहुँदा राजश्वको लक्ष्य भेट्टाउन नसकिएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी विकास कुमारले बताए ।

‘फलाम जन्य कच्चा पदार्थ, नयाँ गाडी, मदिरा जन्य कच्चा पदार्थ बढी आयात हुने हो, त्यसको आयातमा उतार चढाव आउने वित्तिकै राजश्व अशुलीमा असर पर्छ,’ उनले भने, ‘राजश्व बढी दिने यिनै मालबस्तुहरुको आयात अनुमान गरे अनुसार भएन, त्यसैले लक्ष्य अनुसार राजश्व अशुली भएन ।’

आर्थिक वर्ष ०७५/७६ मा ड्राइपोर्ट भन्सार कार्यालयले ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार रुपैयाँ राजश्व अशुली गरेको थियो । जुन लक्ष्यको ८९.३६ प्रतिशत हो । उक्त आर्थिक वर्षमा विभागले कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्य भन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजश्व संकलन गरेको थियो ।

आर्थिक वर्ष ०७५/७६ मा जेठ महिनामा बाहेक बाँकी ११ महिनामा विभागले दिएको लक्ष्य पूरा गर्न असफल भएका कारण ड्राइपोर्ट भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेटाउन असफल भएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment