+
+
Shares

बैंकिङ कर्जा १८ प्रतिशतले बढ्यो, अधिकांश कर्जा घरजग्गा धितोमा

रोयल आचार्य रोयल आचार्य
२०७६ साउन ३ गते १९:३६

३ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी १८ प्रतिशतले बढेको छ । विभिन्न समयमा लगानीयोग्य रकमको अभावको सामना गर्नु परे पनि कर्जा लगानी भने बढेको हो ।

साउनदेखि जेठसम्मको ११ महिनामा वाणिज्य बैंकहरुबाट २४ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको पहिलो महिना साउन १ गतेसम्म २१ खर्ब ११ अर्ब रुपैयाँ लगानी भएकोमा जेठ मसान्तसम्म झण्डै २५ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

लगानी भएको कूल कर्जामध्ये निजी क्षेत्रमा प्रवाहित कर्जा १८.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १९.९ प्रतिशतले बढेको थियो ।

कर्जा लगानीमा विकास बैंकहरु अव्वल देखिएका छन् । राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा १६.४ प्रतिशतले, विकास बैंकहरुको ३३.४ प्रतिशतले र वित्त कम्पनीहरुको १८ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०.८ प्रतिशतले बढेको छ । २०७६ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७५ जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.४ प्रतिशत र १४.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा २९.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १२.२ प्रतिशतले, डिमान्ड तथा चालुपुँजी कर्जा २३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.१ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५.१ प्रतिशतले तथा हायर पर्चेज कर्जा ७.४ प्रतिशतले बढेको छ ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?