+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

तीन चर्चित गन्तव्यलाई हवाई सञ्जालले जोड्दै पोखरा, काठमाडौंलाई राहत

अच्युत पुरी अच्युत पुरी
२०७६ साउन ६ गते ९:५१

६ साउन, काठमाडौं । देशका करिव दुई दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको एक मात्र केन्द्र काठमाडौं हो । पूर्वमा विराटनगर र पश्चिममा नेपालगञ्ज तथा सुर्खेत चलेका क्षेत्रीय ‘हव’ हुन् । तर, पछिल्लो समय पर्यटकीय शहर पोखरा पनि क्षेत्रीय हवका रूपमा स्थापित हुने क्रममा छ ।

नारायणघाट–मुग्लिन सडक खण्डको निर्माण सम्पन्न नभएसम्म काठमाडौं र पोखराबाट चितवन जान निकै मुस्किल थियो । यही मौकामा नेपाल वायुसेवा निगमले पोखरा–भरतपुर रुटमा उडानको घोषणा गर्‍यो । तर, उडाउन सकेन । निजी लगानीको वायुसेवा कम्पनी बुद्धले उडान सुरु गर्‍यो, जुन अहिले नियमित छ । बुद्धले पोखरा–भैरहवा रुटमा पनि नियमित सेवा दिन्छ ।

यसैबीच, निजी क्षेत्रको अर्को कम्पनी यती एयरलाइन्सले पनि पोखराबाट उडान विस्तारको मिति सार्वजनिक गरेको छ । यतीले भैरहवा र भरतपुरमा नियमित उडान सुरु गर्ने भएको छ ।

पोखराबाट ४ गन्तव्यमा उडान

पोखराबाट काठमाडौं पुरानै गन्तव्य हो । भैरहवा र भरतपुर विमानस्थलबाहेक पोखराबाट माउन्टेन फ्लाइट पनि हुन्छ । यसअनुसार पोखरा विमानस्थलबाट ४ गन्तव्यमा उडान सुविधा उपलब्ध हुन्छ । बुद्धले नियमित गरिरहेको माउन्टेन फ्लाइटलाई यती एयरलाइन्सले पनि उडाउने योजना बनाएको छ ।

पोखराबाट अन्नपूर्ण हिमश्रृङ्खलाका लागि माउन्टेन फ्लाइट हुन्छ । यसअघि काठमाडौंबाट मात्र हुने गरेको माउन्टेन फ्लाइट विराटनगर र पोखरामा पनि सुरु भएको हो । विराटनगरबाट सफल परीक्षण भइसकेको छ । बुद्धले भैरहवा र भरतपुरमा दैनिक एक उडान राखेको छ । कम्पनीका अनुसार यी रुटमा १९ सिट क्षमताको सानो जहाज उड्छ । धेरै यात्रु भएको अवस्थामा भने बुद्धले एटीआर ४२ जहाज उडाउने गरेको छ ।

यतीको उडान १६ साउनबाट

यती एयरलाइन्सले १६ साउनमा पहिलो उडान पोखरा–भैरहवामा राखेको छ । पोखरा–भरतपुरमा भने १५ भदौबाट उडान सुरु हुने भएको छ । २९ भदौबाट माउन्टेन फ्लाइटको योजना छ । माउन्टेन फ्लाइटका लागि भने मौसमको अनुकूलता पनि हेर्नुपर्छ ।

नेपालमा पर्यटकीय गन्तव्य सीमित छन् । काठमाडौं आउने पर्यटक पोखरा र बढीमा चितवनसम्म पुगेर फर्किरहेका छन् । यस अवस्थामा वायुसेवा कम्पनीहरुले उडान विस्तार गरी पोखरा आएका पर्यटकलाई लुम्बिनीसम्म सजिलै पुग्ने वातावरण बनाएका छन् । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २० मिनेटको हो ।

काठमाडौंलाई राहत

हरेक गन्तव्यका उडान काठमाडौंबाट हुँदा त्यसले त्रिभुवन विमानस्थललाई तीव्र चाप परिरहेको छ । अधिक उडानका कारण आकाशमा जहाज ‘होल्ड’ हुने र ग्राउण्डमा उडान ‘डिले’ हुने समस्या काठमाडौंमा छ ।

कम्पनीहरुले क्षेत्रीय उडानलाई प्राथमिकता दिँदा त्यसले काठमाडौंलाई ठूलो राहत दिने त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । ‘अहिले कम्तीमा बुद्धको एउटा जहाज पोखरा बस्छ, केही समयपछि यतीको पनि उतै बस्नेछ,’ उनले भने, ‘यसले काठमाडौंलाई धेरै राहत हुनेछ ।’

मुख्य पर्यटकीय मौसममा काठमाडौं र लुक्लापछि पोखरा सबैभन्दा व्यस्त विमानस्थल हो । यसबाहेक नेपालगन्ज, विराटनगर सुर्खेत विमानस्थल बढी व्यस्त रहन्छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?