Comments Add Comment

संसदीय समितिमा विवाद : विज्ञापन विधेयकमाथि छलफल गर्ने कि नगर्ने ?

सांसदले सोधे : राष्ट्रियसभाबाट पारित विधेयकमा छलफल गर्न मिल्छ ?

६ साउन, काठमाडौं । सोमबार संसदको विकास तथा प्रविधि समितिमा विज्ञापनसम्बन्धी विधेयकमाथि छलफल थियो ।

बैठकको सुरुमा सभापति कल्याणी खड्काले यसअघिको छलफलमा सांसदहरुले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई नै प्रश्न सोध्न चाहेकाले बैठक राखेको बताइन् र संशोधन प्रस्ताव दर्ता गराउने सांसद दिव्यमणि राजभण्डारीलाई धारणा राख्न समय दिइन् ।

तर, बीचैमा समिति सदस्य गशेण पहाडी बोले, ‘हामी दफावार छलफल गर्दैछौं कि ! के गर्दैछौं ?’ सभापति खड्काले जवाफ दिइन्, ‘अघिल्लो पटक मन्त्रीलाई नै प्रश्न सोध्न पाउनुपरयो भन्ने माननीयहरुको आग्रहअनुसार आजको बैठक राखिएको हो । यो पहिलेकै बैठकको निरन्तरता हो ।’

सांसद जीपछिरिङ लामाले सोधे, ‘मैले नबुझेको कुरो, राष्ट्रियसभाले पारित गरेको विधेयकमाथि हामीले छलफल गर्नुपर्छ र !’ हालै उक्त विधेयक राष्ट्रियसभाले पारित गरेर सन्देशसहित प्रतिनिधिसभामा पठाएको छ ।

समिति सचिव वंशीराज पौडेले जवाफ दिए, ‘हैन हजुर यो उता (राष्ट्रियसभा) बाट पारित भएर संदेशसहित यता (प्रतिनिधि सभा)मा आउँछ । यो प्रक्रियाबाटै आएको र प्रक्रिया अनुसार नै जान्छ ।’

त्यसैमा सांसद प्रभु शाहले थपे, ‘राष्ट्रियसभाले पारित गरेको संशोधन हामीले स्वीकार गरेका हौं कि होइनौं ? यो विषय यहाँ उठिरहेको छ ।’

यही बहसकाबीच समिति सभापति खड्काले आफ्ना धारणा राख्न सांसद राजभण्डारीलाई पुनः आग्रह गरिन् । सांसद राजभण्डारीले राष्ट्रिय सभाबाट पारित भएर आएको प्रतिवेदन के हो ? भन्दै प्रश्न गरे ।

सभापति खड्काले राष्ट्रियसभाले पारित गरेर पठाएको प्रतिवेदन सांसदहरुको हातमा परिसकेको उल्लेख गर्दै प्रतिवेदन के हो ? भन्ने बारेमा अध्ययन गरेर प्रस्तुत हुन सुझाव दिइन् ।

केहीबेरमा सांसद गशेण पहाडीले पुनः विधेयकमाथिको छलफलबारे पुनः प्रश्न उठाए । ‘हामी विधेयकमाथिको छलफलको प्रक्रियामै अस्पष्ट भयौं । सबैभन्दा पहिले के गर्ने हो ? दफावार छलफल भएपछि त टुङ्ग्याउँदै जाने हो । तर यहाँ त्यस्तो भइरहेको छैन ।’

सांसद पहाडीले राष्ट्रियसभाले पारित गरी पठाएको विधेयकसम्बन्धी प्रतिवेदनबारे समितिको धारणा के हो ? भन्नेमा पहिले स्पष्ट हुनुपर्ने बताए । ‘हामी सबैभन्दा पहिले राष्ट्रियसभाले पारित गरेर पठाएको प्रतिवेदनबारे स्पष्ट हुनुपर्छ । विज्ञहरुलाई पनि बोलाएर सुनौं । अनि दफावार छलफल जाउँ र टुङ्ग्याउँदै लैजाऔं’ उनले भने ।

बैठकपछि एक सांसदले भने, ‘सभापतिले बिना छलफल बैठक राख्नुभएछ । त्यसको परिणाम हो ।’

हाल नेपालमा दुई सदनात्मक संसदीय व्यवस्था छ । यसमा एउटा सदनले पारित गरेको कुनै पनि विधेयक अर्को सदनमा पुनः छलफल गर्ने र त्यसमा पनि संशोधन गर्न सक्ने व्यवस्था छ । एकले गरेको संशोधन अर्कोले अस्वीकार गरेमा संयुक्त बैठक बसेर टुङ्ग्याउने प्रावधान छ ।

छलफलमा मलाई नै कुर्नुपर्दैन : मन्त्री बास्कोटा

सञ्चारमन्त्री बास्कोटाले त्यसको जवाफमा विधेयकमाथिको छलफलमा आफूलाई नकुर्न आग्रह गरे । ‘यस विधेयकका सन्दर्भमा कतिपय राम्रा संशोधन आएका छन् । छलफलले यसलाई थप परिमार्जन पनि गर्न सक्छ । मेरो व्यस्तताका कारण समय मिलाउन अप्ठेरो पर्न सक्छ’ उनले भने ।

मन्त्री बास्कोटाले सांसद पहाडीको विज्ञहरुसँग छलफल गर्ने प्रस्ताव पनि उचित भएको बताए । तर, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छिटो समितिले टुङ्ग्याओस भन्ने सरकारले चाहेको उनले सुनाए ।

विधेयकमा रहेको मुख्य विषय क्लिन फिडको प्रावधान भने फिर्ता नहुने उनको भनाइ थियो । समिति बैठकमा उनले भने, ‘सय चोटी छलफल भए पनि विधेयकबाट कुनै पनि हालतमा क्लिन फिडको प्रावधान हट्दैन । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमा क्लिन फिडको व्यवस्था गर्न यो विधेयक ल्याइएको हो ।’

क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गरेका छन् । सोमबारको छलफलमा भने उनीहरु सहभागी थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment