Comments Add Comment

नाटकमा बाल मनोविज्ञान

६ साउन, काठमाडौं । शहरमा हुर्किएका पूर्वप्राथमिक तहका बालबालिका ‘गुडिया’सँग खेल्छन् । गाउँतिर घरपालुवा जनवारसँग नजिक हुन लालायित हुन्छन् । विरालोको म्याउँ, कुकुरको भाउ..भाउ.., बाख्राको म्याँ.., गाईको बाँ… जस्ता आवाज सुनेर बाल मन रमाउँछ ।

थुप्रैका लागि घरमा पालिएका कुकुर, बाख्रा, बाच्छा/बाच्छी लगायत साथी सरह हुन्छन् । ती घरपालुवा जनवारसँग खेल्न पाउँदा बाल मस्तिष्क हर्षित हुन्छ ।

यही मनोविज्ञानलाई समातेर साहित्यकार विनय कसजूले लेखेको कथा ‘बोकाको आत्मकथा’मा आधारित नाटक थ्रिएटर मल कीर्तिपुरमा मञ्चन भइरहेको छ ।

पुष्पराज अवस्थीको निर्देशनमा तयार पारिएको नाटकका नायक रामु (प्रज्ञान बुढाथोकी) ग्रामिण परिवेशका बालक हुन् । घरमा पालिएको बोका (विपिन बञ्जाडे) लाई उनी औधी प्रेम गर्छन् । बोकासँग गोल खेल्छन् । उनीमाथि चढ्छन् । रमाउँछन् ।

यो देखेर घरमा पालिएको भैंसी (सचित कार्की) ले डाह गर्छ । बोकाका कारण आफूले रामुको माया नपाएको भैंसीले निष्कर्ष निकाल्छ । त्यसैले रामुबाट बोकालाई टाढा पार्ने प्रयास गर्छ । तर, सक्दैन ।

आमा (जश्लिना महर्जन) लाई भेटेर विचौलियाले बोका विक्री गर्न माग गर्छन् । तर, रामुले दिँदैन । उल्टै लखेट्छ । यहीबीच कडा स्वभावका मामा (सिद्धार्थ भुसाल) घरमा आउँछन् । र, रामुलाई पढ्नका लागि शहर लान्छन् ।

बोकासँग छुट्टिनुपर्ने भएपछि दुवै विक्षिप्त हुन्छन् । तर, मामाको प्रस्तावसामू ऊ निरीह हुन्छ । शहर पसेको एक महिनासम्म बोकाले केही खाँदैन । त्यो देखेर आमाले दशैंमा उसलाई पनि शहर लाने बताउँछिन् । आमाको आश्वसनपछि  बोका औधी रमाउँछ ।

तर, शहर पुग्दा ठीक विपरित दृश्य देखिन्छ । बोकाले सोचेको हुन्छ, उत्रिने वित्तिकै रामु लिन आउँछ र गर्लम्म अंगालो हाल्छ । तर, रामु उनलाई न त लिन जान्छन् न त घरमै राम्रो व्यवहार गर्छन् ।

बरु गन्हाएको भनेर भित्र छिर्नै दिँदैनन् । यो दृश्य देखेर बोकाको मन गर्‍हुंगो हुन्छ ।

चाडपर्वको वेला मासुका लागि बजारमा रामुका मामाले बोका पाउँदैनन् । र, गाउँबाट ल्याइएको त्यही बोका काट्ने योजना बन्छ ।

रामुले पनि प्रतिवाद गर्दैन । अन्तिममा बोका त्यहाँबाट भाग्छ ।

यही विषयमा केन्द्रीत रहेर शुभकामना एकडेमीका विद्यार्थीले एक घण्टा अवधिको नाटक मञ्चन गरिरहेका छन् । जसले बालमनोविज्ञानलाई बुझ्न मद्दत पुर्‍याउँछ ।

अधिकांशले सम्झिए बाल्यकाल

सोमबार बिहान आयोजित नाटकको ‘विशेष प्रदर्शन’ हेरेका अधिकांशले बाल्यकाल सम्झिए । प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नाटक हेरेर धेरैपछि भावुक बनेको बताए ।

‘बालबालिकाको जनावरसँग रहने आत्मियतामा केन्द्रीत यो नाटक जीवन्त छ’, उनले भने, ‘मेरो वाल्यकालमा पनि यस्तै घटना भएको थियो ।’ कथाकार कसजूले आफूले लेखेको कथा नाटकका रुपमा हेर्दा भावुक बनेको बताए ।

‘यो वास्तविक जीवनको अनुभवबाट निस्किएको कथा हो’, उनले सुनाए । निर्देशक अवस्थीका अनुसार यो नाटक ३ दिनसम्म चल्ने गरी तयारी गरिए पनि अग्रिम बुकिङका कारण अवधि थप ३ दिन लम्ब्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment