Comments Add Comment

फेरि सडकभरि खाल्डैखाल्डा, सरकार घाम कुर्दै

काठमाडौंमा असारे विकासको भ्वाङ

Photo Credit : चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्डका सडक । स्तरोन्नतिमा ढिलाइ हुँदा यो सडक जीर्ण बनेको छ ।

८ साउन, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट ल्याएको भोलिपल्टै अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘तपाईंहरु एक रुपैयाँ तिर्नुस्, खाल्डोबाट हामी जोगाउँछौं ।’

बजेटमा सडक सुधारका लागि भन्दै डिजेल तथा पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ‘सडक सुधार कर’ लगाएका खतिवडाले अब खाल्डो भएको सडकमा हिँड्न र सवारी गुडाउनु नपर्ने बताएका थिए । बजेट आएको रात नै नेपाल आयल निगमले सोही शुल्क थप्दै तेलको मूल्य बढायो । तर, मध्यवर्षा चल्दै गर्दा अर्थमन्त्री खतिवडाको बाचा पूरा नहुने देखिएको छ ।

हाल काठमाडौंमा शहरी सडक मात्र हैन, राजमार्गहरुमा पनि जोखिमयुुक्त ठूला–ठूला खाल्डाहरु देखिन थालेका छन् । असारमा बजेट सक्न हतार–हतार पुरिएका खाल्डाहरु पनि निर्माणको गुणस्तर कमजोर भएका कारण फेरि भत्किन थालेका छन् ।
पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डहरुदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बिपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्ग लगायतका सडकका विभिन्न खण्डहरुमा पनि पनि ठूला–ठूला भ्वाङ परेका छन् । नागरिकलाई खाल्डाबाट जोगाउन भन्दै त्यसैका लागि अतिरिक्त कर असुलिरहेको सरकारले त्यस्ता खाल्डा पुर्न र सडक आवागमन सहज गर्न भने सकेको छैन ।

दुर्घटना बढ्दो

गत वर्ष मात्र तयार भएको काठमाडौंको चक्रपथको कलंकी–कोटेश्वर विस्तारित खण्डमासमेत खाल्डा पर्न थालेका छन् । यस्ता खाल्डाहरुका कारण राजधानीमा सवारी दुर्घटना बढ्न थालेको ट्राफिक प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक रविकुमार पौडेलले सडकमा खाल्डा बढ्दै गर्दा दुर्घटनाको जाखिम बढ्दै गएको बताए । विशेषगरी रातको समयमा हुने दुर्घटना बढदो रहेको उनले जानकारी दिए ।

‘सडक विभाग र महानगरपालिकासँग हामीले सडकको खाल्डा पुर्न आग्रह गरेका छौं,’ पौडेलले भने, ‘खाल्डा बढ्दा ट्राफिक व्यवस्थापनमा पनि समस्या हुन्छ । ट्राफिकलाई पनि सडकमा बसेर सेवा दिन निकै सास्ती पर्छ ।’
सडकमा खाल्डो बढेपछि सवारी साधन चलाउनेहरु सबैभन्दा भन्दा बढी पीडित छन् । राजमार्ग र काठमाडौंका सडकमा सवारी चाप उच्च भएकाले सानो खाल्डो दिनानुदिन ठूलो बन्छ । जसमा कारण घाम चर्को लगेपछि धुलो उड्ने र वर्षात् हुनासाथ पानी जम्ने समस्या छ ।

सडकको खाल्डाका कारण स्थानीय बासिन्दा साथै ब्यापारीहरु पनि प्रभावित हुने गरेका छन् । वर्षामा सडकमा खाल्डा पर्ने समस्या पुरानो भए पनि यस्ता खाल्डा पर्नासाथ पुर्ने र बनाउने काममा सरकारको चासो देखिँदैन ।

कहाँ–कहाँ खाल्डा ?

हाल चाबहिल–बौद्ध–जोरपाटी–साँखु खण्ड सबैभन्दा खराब हालतमा छ । काठमाडौंमा नदी करिडोरका सडकको उस्तै बेहाल छ । टोलभित्रका अधिकांश कालोपत्रे सडकको अवस्था पनि उस्तै छ ।

काठमाडौंका विभिन्न नाका जोड्ने सडक बिजोक अवस्थामा छन् । दक्षिणकाली, साँखु, टोखा, बालाजु, सितापाइला लगायतका नाकाका सडकहरुको अवस्था दयनीय छ ।
मुख्य सडकहरुको अवस्था विगतका वर्षहरुमा भन्दा केही राम्रो छ । तर, मुख्य सडकमा पनि दैनिक रुपमा खाल्डा पर्ने क्रम तीव्र बन्दैछ ।
काठमाडौंको पुतली सडक लगायतका क्षेत्रका सकडमा पुरानै अवस्था दोहोरिएको छ । विभिन्न क्षत्रेमा ढल फुटेर सडकमा नाला बग्न थालेको छ । मेलम्चीले पाइप बिछ्याउन खनेका राजधानीका धेरै सडकहरु अहिले पनि धराप जस्तै बनेका छन् । खनेर पिच नगरी छाडिएका सकडहरुको अवस्था सुधार्न आयोजना कार्यान्वायन निर्देशनालय (पीआईडी)ले पनि चासो देखाएको छैन ।

काठमाडौंका सडक बनाउन एउटा मात्रै निकाय जिम्मेवार छैनन्, सडक विभागदेखि काठमाडौं उपत्यका विकास प्राधिकरण, एकीकृत बाग्मती सभ्यता विकास समिति, आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं महानगरपालिकाका, ललिलतपुर महानगरपालिकासहित विभिन्न नगरपालिकाहरु विभिन्न सडक मर्मतको जिम्मा लिएर बसेका निकाय हुन् ।

तर, समन्वय र आपसी समझदारीसहित यस्ता निकायहरुले नागरिकको सास्ती हटाउने गरी काम गर्न नसक्दा सडकमा सवारी चलाउनै मुस्किल हुने अवस्था आएको छ ।

विभाग भन्छ – घाम लाग्नासाथ पुरिन्छ

सडक विभाग भने सकडमा जम्ने पानीका कारण यस्तो समस्या आउने गरेको बताउँछ । पिच सडकको मुख्य शत्रु पानी भएको भन्दै विभागका महानिर्देशक केशवकुमार शर्माले खाल्डा पुर्नेसँगै खाल्डा नै पर्न नदिने कुरामा यो वर्ष धेरै ध्यान दिइएको बताए ।
‘हामीले यो वर्ष सडकको नालालाई खुला राख्ने, नाला छेक्ने गरी सवारी उकाल्न बनाइएका र्‍यामहरुलाई हटाउने, फुटेका ढल मर्मतमा समन्वय गर्ने लगायतका काम वर्षा अगावै गर्‍याैं,’ शर्मा भन्छन्, ‘यो वर्ष गत वर्षहरुमा जस्तो सडकमा धेरै खाल्डा देखिएका छैनन् ।’

उनले परेका खाल्डा घाम लाग्नासाथ पुर्ने योजना रहेको सुनाए । उनका अनुसार दुई दिन लगातार घाम लागेर खाल्डा ओभाउनासाथ पिच सडकको खाल्डा पुर्न सुरु हुनेछ ।
‘अहिले दैनिक जसो पानी परिरहेको छ, यस्तो अवस्थामा खाल्डा पुर्न सकिँदैन,’ महानिर्देशक शर्मा भन्छन्, ‘यो वर्ष वर्षातमा पनि उपयुक्त मौसममा सडकको खाल्डा पुर्ने काम चलिहरहन्छ ।

वर्ष थामियोस् : कामनपा

काठमाडौं महानगरपालिका पनि पानी परिरहँदा सडकको खाल्डा पुर्न नसकिने बताउँछ । वर्षा जारी रहँदा नै खाल्डा पुर्नुको अर्थ नहुने भएकाले वर्षात केही मत्थर भएपछि खाल्डा पुर्ने काम सुरु हुने महानगरपालिकाको भनाइ छ ।
महानगरपालिकाका भौतिक पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले यस्ता खाल्डा पुर्नका लागि महानगरपालिका तयार अवस्थामा रहेको बताए । त्यसका लागि ६ करोड रुपैयाँभन्दा बढीमा दुई वटा ठेक्का लागिसकेको उनले जानकारी दिए ।

‘पानी परिरँदा काम गर्न सकिँदैन, अहिले काम गर्‍याे भने असारे विकास भनेर आलोचना हुन्छ,’ उनले भने, ‘आज पुरेको खाल्डो भोलि फेरि भत्किन्छ, त्यसैले वर्षा सकिनासाथ ठेकेदार परिचालन हुन्छ ।’

उनले यसपटक मेयर विद्यासुन्दर शाक्य आफैंले सडकको खाल्डा पुर्ने कामको अनुगमन गर्ने बताए । महानगरपालिकाले झण्डै २५ करोड रुपैयाँ सडकको मर्मतमा खर्चिन सक्ने रेग्मीले जानकारी दिए ।

तस्वीरः विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment