Comments Add Comment

सरकारी बजेट नपाएपछि गाउँलेले नै बनाए बाँध

८ साउन, विराटनगर । स्थानीय बक्राहा खोलाले अत्याधिक जमिन कटान गरेपछि उर्लाबारी–८ बगरे टोलमा स्थानीयले आफैं बाँध निर्माण गरेका छन् ।

सरकारी निकायमा गुहार माग्दा आलटाल गरेपछि स्थानीयले झण्डै ५ सय मिटर लामो पर्कुपाइन विधिको बाँध निर्माण गरेका हुन् ।

मोरङ उर्लाबारी ८ बगरे टोलमा बक्राहाको बाढीका कारण २०७४ सालमा १४ घर विस्थापित भए । ८ घर परिवाले वैकल्पिक व्यवस्था गरेर अन्यत्र सरे । तर, त्यहाँ रहेका ६ घर परिवार भने पुनः यस पटकको वर्षा र बाढीका कारण विस्थापित भएर स्थानीय बहादुर बाबा चौधरी प्राथमिक विद्यालयमा बसेका छन् ।

यस पटक २०७४ सालमा भन्दा तीब्र गतिमा बक्राहाले जमिन कटान सुरु गरेपछि स्थानीयले सरकारी निकायमा हारगुहार गरे । तर, कसैले बेलैमा चासो नदिएपछि सोही क्षेत्रका प्रदेश सांसद कुलप्रसाद साम्बाको पहलमा स्थानीयले बाँसको बाँध (पर्कुपाइन) निर्माण गरे । पर्कुपाइन निर्माणपछि घर सुरक्षित भएको विस्थापित जेठा मरडीको भनाइ छ ।

जेठा मरडी मात्रै होइन सोही ठाउँकी लक्ष्मी मरडीको पनि उही समस्या छ । एक पटक होइन दुई पटक होइन बाढी आएपिच्छे विस्थापित हुनुपर्दा र खोलाको त्रासमा बस्नु पर्दा खुब दुःख लागेको उनी बताउँछिन् ।

आफूहरुको वैकल्पिक व्यवस्था गर्नुपर्ने वा बाँध निर्माण गर्नुपर्ने उनको माग छ ।

सांसद साम्बाका साथै स्थानीय नारायण बस्नेतले आफैं रकमको जोहो गरे । विस्थापितकै बाँस काटेर खोलामा बाँध निर्माण गरियो । त्यसो नगरेको भए उर्लाबारी ८ को कृषिको पकेट क्षेत्र, रतुवामाईको २ वटा वडा र गोविन्दपुर, हसन्दहको केही क्षेत्र डुबानमा पर्न सक्ने अवस्था थियो ।

स्थानीय नारायण बस्नेतले नगरपालिकाले कर वृद्धि गर्ने तर जनताको समस्यामा पहल नगरेको कारण आफूहरुले केही युवा समूह तथा प्रहरीको सहयोगमा बाँध निर्माण गरेको बताए ।

बाँध निर्माणमा लागिरहेका सांसद कूलप्रसाद साम्बाले सरकारले बक्राहा नदी नियन्त्रणका लागि ८ करोड रुपैयाँ छुट्याएको आफूले जानकारी पाएको भन्दै त्यतिले नपुग्ने बताए ।

‘पुर्वी नेपालकै बिनाशकारी नदीका रुपमा बक्राहालाई लिइन्छ’, उनले भने ,‘प्रत्येक बर्ष बर्खाको समयमा खोला तटीय क्षेत्रका मानिस यही खोलाका कारण प्रताडित हुन्छन् ।’

स्थानीयको पहलमा र इन्जिनियरहरुको सहयोगमा झण्डै १० लाख रुपैयाँ खर्च गरेर बनाएको बाँध दीर्घकालीन नभएको स्थानीयको भनाइ छ । तीनै तहको सरकारले आपसी समन्वयमा बक्राहा नदी नियन्त्रणको योजना ल्याउनुपर्ने उनीहरुको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment