Comments Add Comment

संसदमा बाढी पहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव

८ साउन, काठमाडौं । वर्षापछिको विपदका विषयमा बुधबार प्रतिनिधिसभामा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।

कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताएका छन् । उनले संसदले पनि सरकारलाई जनतातिर फर्काउने काम गर्नुपर्ने बताए । मुलुकमा बाढी र पहिरोको विपत्ति परेका बेला संसदमा रहेका दलहरु एक ठाउँमा उभिनुपर्ने भन्दै सांसद रिजालले त्यसैअनुसार जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको जानकारी दिए ।

विपदका बेला सरकार एक्लैले काम गर्न नसक्ने भन्दै उनले प्रदेश सरकार र स्थानीय सरकारको पनि साथ लिएर काम गर्न सुझाव दिए । विपदमा परेका नागरिकसमक्ष सबैभन्दा छिटो पुग्न सक्ने स्थानीय सरकारको क्षमता वृद्धिमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘विपत्तिका बेला हेलिकोप्टरमा पुग्ने सरकार भन्दा गाउँगाउँमा पु¥याइएको सिंहदरबारले जनतालाई साथ दिन सक्छ, अहिलेसम्मको कमी कमजोरीबाट शिक्षा लिएर आगामी दिनमा काम गर्नुपर्छ’ उनले भने ।

यो वर्ष अझै पनि विपत्ति नटरेको भन्दै उनले सरकार सचेत हुनुपर्ने बताए । नेपालको भूबनोटका कारण पहाडबाट बगेको पानीले तराईमा हरेक वर्षायाममा डुवान हुने देखिएको भन्दै सांसद रिजालले नदी नियन्त्रणको काम प्रभावकारी रुपमा नगर्ने हो भने समस्या दोहोरिरहने बताए । ‘हामीले नदी नियन्त्रण गर्न सकेनौं भने लामो समयसम्म यस्तो विपत्ति ब्यहोर्नुपर्छ’ उनले भने ‘विपत्तिबाट कोही नागरिक अछुतो रहने अवस्था छैन । सरकारले ढंग पु¥याएर काम गरोस् ।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बाढी पहिरोको रोकथाममा सरकारले झारा टार्ने काममात्र गरेको आरोप लगाए । दुई तिहाइ बहुमतको सरकारले पनि विपदको समयमा प्रभावकारी रुपमा रोकथाम गर्न नसकेको आरोप लगाए ।

उक्त विषयमा छलफलका लागि २ घण्टा समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment