Comments Add Comment

दोर्दी बाढी अपडेट : बगेका २ को सनाखत, वेपत्ताको खोजी जारी

९ साउन, लमजुङ । लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएका चार जनामध्ये दुई जनाको सनाखत भएको छ । सात जना अझै वेपत्ता छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

निर्माणाधीन दोर्दी ‘ए’ जलविद्युत आयोजनामा शिवधनले फलामको काम गर्दथे भने र रमेश हेल्पर थिए । शव फेला परेकामध्ये अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको डिएसपी गुरुङले जानकारी दिए ।

बुधबार दिउँसो एक्कासी आएको बाढीले जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरुलाई बगाएको थियो । चार जनाको शव फेला परे पनि अन्य सात जनाको अवस्था अज्ञात छ । मृतक र वेपत्ता सबै पुरुष हुन् ।

बाढीमा वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी गुरुङले बताए । उनले भने, ‘नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली मिलेर खोजी कार्य जारी राखेका छौं । तर, हराइरहेकाहरुलाई फेला पार्न सकिएको छैन ।’

बुधबार राति परेपछि खोजी कार्य बन्द गरेको सुरक्षाकर्मीको टोलीले बिहीबार बिहानैबाट फेरि खोज्न सुरु गरेको उनले बताए । तर बाढी ठूलो भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको डिएसपी गुरुङले जानकारी दिए ।

यो पनि पढ्नुहोस दोर्दी खोलामा एक्कासी बाढी आउँदा ४ को मृत्यु, ७ जना पेवत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment