Comments Add Comment

ब्रिटेनमा भारत र पाकिस्तान मूलका व्यक्ति बने मन्त्री

Photo Credit : प्रीति पटेल र साजिद जाविद/बीबीसी हिन्दी

९ साउन, काठमाडौं । ब्रिटेनको नयाँ प्रधानमन्त्री बोरिस जोनसनले नयाँ मन्त्रीमण्डल गठन गरेका छन् ।

मन्त्रिमण्डलमा भारतीय मूलकी प्रिती पटेललाई गृहमन्त्री बनाइएको छ । यसैगरी पाकिस्तानी मूलका साजिद जाविदलाई गृहमन्त्रीबाट हटाएर अर्थमन्त्रालयको जिम्मा दिइएको छ ।

बुधबार प्रधानमन्त्री पद सम्हालेका बोरिसले डोमिनिक रावलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

को हुन् प्रिती ?

४७ वर्षीया प्रिती पटेलको जन्म लण्डनमा भएको थियो । उनका आमा-बुवा भारत गुजरातका थिए । गुजरातबाट उनीहरु युगाण्डा गए । सन् १९६० को दशकमा उनीहरु युगान्डाबाट भागेर लण्डनमा आई बस्न थाले ।

प्रिती २० वर्षको उमेरमै कन्जर्भेटिभ पार्टीमा सामेल भएकी थिइन् । त्यतिबेला जोन मेजर ब्रिटेनका प्रधानमन्त्री थिए । सन् २०१० मा विटहमबाट सांसद चुनिएकी उनी यसअघि पनि सरकारका बिभिन्न भूमिकामा थिइन् । ब्रेक्जिट अभियानको प्रखर समर्थक प्रिती पटेल सन् २०१४ मा ट्रेजरी मन्त्री र सन् २०१५ मा रोजगार मन्त्री बनिन् ।

सन् २०१६ को टेरिजा मे नेतृत्वको सरकारमा उनी अन्तर्राष्ट्रिय विकास मन्त्री बनिन् । तर, सन् २०१७ मा इजरायलमा गरेको भ्रमणको विवादका कारण उनले पदबाट राजीनामा दिनुपरेको थियो ।

पारिवारिक भ्रमणको क्रममा इजरायलका तत्कालीन प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य सरकारी अधिकारीहरुसँग उनले भेटवार्ता गरेकी थिइन् । तर, त्यो भेटवार्ताबारे ब्रिटेन सरकार या ब्रिटेनको दूतावासलाई जानकारी नदिएपछि उनी विवादमा तानिएकी थिइन् ।

प्रिती इजरायलको निकट र युरोपेली संघको कट्टर आलोचक मानिन्छिन् । सन् १९९५ देखि १९९७ सम्म जेम्स गोल्डस्मिथ नेतृत्वको रेफरेन्डम पार्टीको प्रवक्तासमेत बनिन् उनी । रेफरेन्डम पार्टी ब्रिटेनको युरोपेली संघविरोधी पार्टी थियो ।

४९ वर्र्षका साजिद जाविद पाकिस्तान मूलको परिवारमा ब्रिटेनको रकडेलमा जन्मिएका थिए । सन् २०१८ मा टेरिजा मेको सरकारमा उनी गृहमन्त्री थिए । अल्पसंख्यक समुदायबाट ब्रिटेनको गृहमन्त्री बनेका उनी पहिलो व्यक्ति हुन् ।

बोरिसको मन्त्रिमण्डलमा भारतीय मूलका सांसद आलोक शर्मालाई अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment