Comments Add Comment

माधव नेपाल भन्छन्– नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै छैन

९ साउन, काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले नेकपासँग मुकाबिला गर्ने अरु पार्टी नै नभएको दाबी गरेका छन् । उनले नेकपाले मात्रै समृद्ध नेपालको सपना साकार पार्ने पनि बताए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेता नेपालले सबै नेता–कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न आह्वान पनि गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले कम्युनिष्टहरुको एकता अब नभत्किने विश्वास व्यक्त गरे । ‘अहिलेको कम्युनिष्ट एकता रातारात भएको होइन । कसैले यो एकता टिक्दैन, फुट्ने भयो भन्ने आशंका गरेका छन् त्यसमा सत्यता छैन,’ नेता नेपालले भने, ‘लामो समयसम्म एकले अर्कालाई बुझेर यो एकता भएको छ । फलामे एकताको रुपमा कम्युनिष्टको एकता भएको छ, यो भत्किँदैन ।’

सबै तहका सरकारमा रहेका नेकपाका नेता–कार्यकर्ताहरुको कामको समीक्षा गर्नुपर्नेमा उनले जोड दिए । ‘हामी ठीक बाटोमा हिँडिरहेका छौं । एकतामा एकीकरणको काम पनि अहिले चलिरहेको छ । सबै तहका सरकारमा रहेका साथीहरुको कामको समीक्षा गर्नुपर्छ,’ उनले भने ।

अहिले जनताले कम्युनिष्ट एकता र सरकारसँग ठूलो आशा र अपेक्षा गरेको बताउँदै उनले गरिबी, अशिक्षा, भेदभावलाई अन्त्य गरेर समृद्ध नेपालको सपनालाई साकार पार्नुपर्ने बताए ।

‘मोतीदेवी श्रेष्ठ पनि नेकपा संस्थापक’

नेता नेपालले मोतीदेवी श्रेष्ठलाई पनि नेकपाको संस्थापक सदस्य मान्नुपर्ने बताए । उनलाई संस्थापक मान्ने कि नमान्ने भन्ने विवाद भए पनि संस्थापक महासचिव पुष्पलालले मान्नुपर्ने बताएकाले मोतीदेवीको विषयको विवाद सकिएको नेपालको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्यहरुमा पुष्पलाल श्रेष्ठ, नारायणविलाश जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ मानिन्छन् । पूर्वमाओवादीसँग एकता गरेका तत्कालीन एकता केन्द्र मशालका कतिपय नेताहरुले भने मोतीदेवीलाई संस्थापक मान्दैनन् । नेकपा गठनको बैठकमा मोतीदेवी अनुपस्थित भएकाले उनलाई संस्थापक मान्न नसकिने कतिपयको तर्क छ ।

तर, पूर्व एमालेका नेताहरुले भने संस्थापक महासचिव पुष्पलालले मान्नुपर्छ भनेकाले मोतीदेवी पनि संस्थापक सदस्य रहेको बताउँछन् । त्यसैले तत्कालीन एमालेले मोतीदेवी प्रतिष्ठानसमेत गठन गरेको छ । त्यसको अध्यक्ष अष्टलक्ष्मी शाक्य छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment