९ साउन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीको स्कुल विभागमा आफ्नो दावी रहेको बताएका छन् ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको नवौं महाधिवेशनदेखि नै स्कुल विभागमा आफ्नो दावी रहेको बताएका हुन् ।
त्यतिबेला गुटबन्दीका कारण आफूले जिम्मेवारी नपाएको भुसालको भनाइ छ । ‘मलाई स्कूल विभागको जिम्मेवारी दिनुपर्छ भनेर विगतमा अध्यक्षले नै भन्नुभएको थियो, तर उहाँ स्वयंले नै राख्नुभयो, त्यो पटक्कै राम्रो होइन’ भुसालले भने ।
उनले अघि भने ‘विभागले माक्र्सवाद, समाज, समाजको अर्थराजनीति पढाउने काम गर्छ, जुन मैलै गरेका कामहरुमध्ये धेरै लगाव त्यसैमा छ ।’
अहिले स्कुल विभागको विषयमा भइरहेको छलफल सकारात्मक रहेको भन्दै उनले राम्रो निर्णय हुने वा नहुने अहिले नै भन्न नसकिने बताए । ‘ढिलो भए पनि पद्धति स्थापित भएको छ, बहस र छलफल भएको छ, राम्रो निर्णयमा पुग्छ, पुग्दैन, त्यो विषय भन्दा पनि प्रक्रियागत हिसाबले कमसेकम छलफल हुने कुरा नै सकारात्मक हो ।’
अहिले नेकपाको स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । आफूले जिम्मेवारी नपाउँदा स्कूल विभाग नै बिग्रन्छ भन्ने मान्यता नरहे पनि यसका बारेमा छलफल भए राम्रो हुने भुसालको भनाइ छ ।
‘दुई जनाको निर्णयले मात्र पार्टी चलाउन हुँदैन’
नेता भुसालले दुई जनाले छलफल गरेर विभाग बनाउने, जिल्ला कमिटी इञ्जार्ज तोक्ने काम भएको भन्दै ठीक नभएको बताए । ‘सरकारले पार्टी चलाउने होइन, पार्टीले सरकार चलाउने हो, व्यक्तिले समूह चलाउने होइन’, उनले भने ।
प्रधानमन्त्रीको चासो हेर्दा पार्टी र सरकार एक्लै चल्न नसक्ने भन्ने कुरा बुझिएको भुसालको भनाइ छ । सरकार अनुकल पार्टी चल्नुपर्छ भन्ने सोचमा परिवर्तन आउनु सन्तोषको कुरा भन्दै उनले पार्टीमा सिद्धान्त र विचार कमजोर भए व्यक्तिका स्वार्थ हावी हुँदै जाने धारणा राखे ।
‘पार्टीलाई व्यक्तिका प्रभावबाट मुक्ति गर्नुपर्छ,विधि स्थापित हुनुपर्छ’ भुसालले भने । सरकारले गरेका राम्रा कामहरु जनतासम्म पुग्न नसकेको र पार्टी पनि त्यही अनुरुप परिचालित हुन नसकेकोले कतिपय विधेयकहरु फिर्ता लिनुपर्ने अवस्था नरहेको बताए ।
प्रतिक्रिया 4