Comments Add Comment

कस्तो जीवन बाँच्ने ?

हामी कहिल्यै सोच्छौं, आखिर म किन बाँचिरहेको छु ? मेरो बाँच्नुको उदेश्य के हो ? म बाँच्नुको सार्थकता के हो ? म कसको लागि बाँचिरहेको छु ?

हामी जन्मनु आफैमा एउटा संयोग हो । कहाँ जन्मन्छौं, कसरी जन्मन्छौं, कुनबेला जन्मन्छौं, कसको कोखमा जन्मन्छौं ? यी सबै हाम्रो अधिनमा हुँदैन । हामी संभ्रान्त घरानमा जन्मन सक्छौं, अत्यान्तै अभावग्रस्त झुपडीमा जन्मन सक्छौं । हामी विकट गाउँमा जन्मन सक्छौं, सुविधायुक्त शहरमा जन्मन सक्छौं । सुसंस्कृत परिवारमा जन्मन सक्छौं, भ्रष्ट परिवारमा जन्मन सक्छौं । जन्मनु हाम्रो दोष होइन, गुण पनि । यो एउटा संयोग हो ।

जो कोहीको गर्भमा हाम्रो भु्रण विकास हुनसक्छ । हामी कसैको काखमा जन्मन सक्छौं । त्यसैले कहाँ, कसको कोखमा, कहिले जन्म लिन्छौं भन्ने कुरा हाम्रो सरोकार रहेन । सरोकार चाहि के भने, जन्मपछि हामीले कस्तो जीवन बाँच्यौं ।

जन्मनु हाम्रो अधिनको कुरा होइन, तर जीवन नितान्त हाम्रो हातको कुरा हो । कस्तो जीवन बाँच्ने, कसरी बाँच्ने, बाँचेर के गर्ने ? यी सबै हाम्रो निर्णय र कर्ममा निर्भर रहन्छ ।

एउटा भनाई छ, ‘गरिब भएर जन्मनु तिम्रो दोष होइन, तर गरिब नै भएर मर्नु तिम्रो दोष हो ।’

बाँच्ने शैली र ढंग आ-आफ्नै हुन्छ । जीवन पद्धती आ-आफ्नै हुन्छ । दर्शन र आदर्श आ-आफ्नै हुन्छ । त्यसैले जीवन कसरी जिउने भन्ने कुरामा सर्वमान्य परिभाषा बनाउन सकिदैन । यद्यपी जीवन जसरी बाँचेपनि अर्थपूर्ण हुनुपर्छ ।

अर्थपूर्ण जीवन कस्तो हुन्छ त ?

जीवनको सार्थकता प्रशिद्धि, धनदौलत वा सफलताले मापन गर्ने होइन । यी जीवनका फरक आयम हुन् । जीवनको सार्थकता भन्नु नै जीवनको मूल्यलाई बुझेर मानविय जीवन बाँँच्नु हो । यसमा हाम्रो खानपान, दिनचर्या, सोच-चिन्तन, बोलीव्यवहार सबै कुरा पर्छ ।

एकअर्काको दुःखमा साथ दिएर, एकअर्का खुसीमा खुसी साटेर बाँच्नुपर्छ । जीवनको सार्थकता भनेको आफु खुसी र आनन्दित जीवन बाँँच्नु हो र अरुको लागि पनि यही कुरा पहिल्याइदिनु हो । आफु पनि शान्त रहनु र अरुलाई पनि शान्तिपूर्वक बाँच्न दिनु जीवनको सर्वोत्तम नीति हो ।

तपाईं साथीको रुपमा सार्थक जीवन बाँच्न सक्नुहुन्छ, छोरा वा छोरीको रुपमा, पिता वा माताको रुपमा, आफन्त वा छिमेकको रुपमा, सहकर्मीको रुपमा । जहाँ, जुन अवस्थामा हुनुहुनछ, त्यही अवस्थामा तपाईंले आफ्नो सार्थकता पहिल्याउनु पर्छ ।

ठूलो उदेश्य राखेर, ठूलो महत्वकांक्षा साँचेर मात्र जीवन सार्थक हुँदैन ।

विश्वमा अहिले सात अर्ब बढी मानिस छन् । सबै मानिस कुनै न कुनै उदेश्य, लक्ष्य र सपना बोकेर दौडिरहेका छन् । सबैले आफ्नो उदेश्य प्राप्त गर्छन् भन्ने छैन । सबैको लक्ष्य पूर्ति हुन्छ भन्ने छैन । सबै प्रशिद्ध, सफल र प्रभावशाली हुन्छ भन्ने पनि छैन । त्यसैले जो सफल छैनन्, जो प्रशिद्ध छैनन्, जो प्रभावशाली छैनन्, उनीहर निरर्थक जीवन बाँचिरहेका छन् भन्ने होइन ।

आफै सक्षम हुनु, खुसी हुनु, सुखी हुनु जीवनको सार्थकता हो । सार्थक कर्म, सार्थक सोंच र सार्थक व्यवहारले जीवनलाई अर्थपूर्ण बनाउँछ ।

जीवन अद्भूत छ । जीवनको मूल्यलाई हामीले बुझ्नुपर्छ । जब जीवनको मूल्य थाहा हुन्छ, तब हामी यसको दुरुपयोग हुन दिदैनौं । यसैगरी हामी पारिवारिक एवं सामाजिक मूल्यमा पनि बाँचिरहेका हुन्छौं । पारिवारिक मूल्यलाई लत्याएर अगाडि बढ्न सकिदैन । परिवार, आफन्त, छिमेकी सबैसँग एकाकार भएर नै हामीले जीवनलाई गतिशिल बनाउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment