किशोरवयमै छँदा मैले शिक्षक मासिक पत्रिकाको कुनै अङ्कमा एउटा कविता पढेको थिएँ।
डेनमार्कका कवि अर्थर कुडनरको कवितालाई नेपालीमा अनुवाद गरेर शिक्षक पत्रिकाले प्रकाशित गरेको थियो। कविताको भाव यस प्रकार छ :
ठूला लामा शब्दसँग कहिल्यै नडराऊ।
ठूला लामा शब्दको अर्थ साना चिजहरु हुन्छन् ।
सबै ठूला चिजका नाम साना हुन्छन्,
जस्तै- जीवन र मृत्यु, शान्ति र युद्ध,
वा बिहान, दिन, रात, आशा, प्रेम, घर।
साना शब्दहरूलाई ठूलो तरिकाले प्रयोग गर्न सिक।
यो गर्न गाह्रो छ,
तर, तिनले यही भन्छन् जो तिमी बताउन चाहन्छौ।
जब तिमीलाई थाहा हुँदैन कि तिमी के भन्न खोज्दैछौ ।
ठूला शब्दहरू प्रयोग गर –
जसले प्रायः साना मानिसहरूलाई मूर्ख बनाउँछ।
सुन्दैखेरि ठूला र गहन लाग्ने शब्दको महत्ताको गुणस्तर र दैनिक जीवनमा विना कुनै चिन्तन मनन यथाशक्य प्रयोग गरिने शब्दहरूको मूल्यबीचको भेद यस सङ्क्षिप्त कविताले सामान्य शब्दहरूमा नै उद्घाटित गरिदिएका छन्।
हुन पनि हो , जसै मानिसहरू उमेरका खुट्किलाहरू पार गर्दै जान्छन् , तिनै अति सामान्य ठानिएका शब्दका अर्थको पोयो फुकाल्न सक्दैनन्। घर केलाई भन्ने, प्रेम कस्तो हुन्छ, जीवन के हो, आँसु कतै आशीर्वाद त होइन ? मुस्कान कतै मिथ्या त होइन ? यस्ता प्रश्नहरूले हामीलाई कहिलेकाहीँ अत्यन्त चिन्तनशील बनाउँछ।
कहिलेकहीं त कुनै शब्दका अर्थहरू यस सीमासम्म परिवर्तित भइदिन्छन् कि ती परिवर्तन हाम्रा लागि साङ्घातिक प्रतीत हुन्छन्।
संस्कृति र परम्पराको शनै:शनै: क्षय भइरख्दा त्यसको स्थान भने राजनीतिले लिने रहेछ। सो अवस्थामा हाम्रा ओठहरूमा नैतिकताको बहस, शास्त्र र मान्यताहरूको विषय-चर्चालाई राजनीतिक व्यवस्था र राजनीतिक सिद्धान्तका वार्तालापहरूले प्रतिस्थापित गरिदिने रहेछन् ।
तर, वास्तविकतामा अनेकन परिवर्तन भए पनि सत्य भने शाश्वत हुँदो रहेछ। समयअनुसार चर्चा र पैरवीहरूमा जति नै पार्थक्य देखिएता पनि अफ्ठ्यारा र परिभाषिक शब्द प्रयोग गर्ने र सरल शब्द उच्चारण गर्दा लघुताभाष महसुस गर्ने हाम्रो वृत्ति भने सदा एकनास रहने रहेछ।
मेरो अवलोकनमा बुद्धिजीवी वर्गमा र आफूलाई बुद्धिजीवी ठान्ने वर्गमा आजभोलि ठूला शब्दहरूको आतङ्क बढिरहेको छ।
राजनीतिदेखि लिएर दर्शन र साहित्यमा अनावश्यक ठूला ठूला शब्दहरू अर्थात् प्राविधिक र पारिभाषिक शब्दहरू प्रयोग भइरहेका हुन्छन्।
यदि कुनै लोकतन्त्रवादी, समाजवादी, साम्यवादी, उदारवादी, मानव अधिकारवादी लगायतका अनेक वादीहरूको प्रवचन, भाषण या लेखहरू छन् भने त झन् त्यसमा अत्याधिक परिभाषिक शब्दहरू प्रयोग गरिएका हुन्छन्। कुड्नरले भनेझैं अधिकांश त्यस्ता शब्दहरू आफूमा हुने आधारभूत अवधारणाको अभावलाई पूर्ति गर्न प्रयोग गरिने गरिन्छ।
यो मेरो यो मन्तव्य कुनै शब्दहरूसँग या कुनै समुहसँगको वैरभावले लक्षित छैन। मेरो एकमात्र जोड के हो भने के यी शब्दहरू सरल र प्राञ्जल तवरले अभिव्यक्त गर्न असम्भव छन् र ?
यिनै शब्दहरूलाई हरेक व्यक्ति, जमात, गुट, गिरोहले आफ्नो अनुकूलता अनुरूप प्रयोग गरिरहँदा यी शब्दहरूको मूल मर्म ओझेलमा त परेको छैन ? यदि हरेक उद्देश्य र समुहले आफ्नै अनुकूलता अनुरूप शब्दहरू प्रयोग गरिरहेको हो भने उक्त शब्दहरूको मूल्य कति नै होला र ?
रूसका प्रख्यात लेखक अलेक्जेन्डर सोल्जेनित्सिएनले बीबीसीमा सन् १९७५ मा दिएको एउटा मन्तव्यमा समाजवादका अनेकन् ‘भेरियन्ट’हरूको सत्य प्रस्तुत गर्दै भनेका थिए – ‘समाजवादको कुनै सटिक परिभाषा छैन, जहाँ सबैजना सहमत हुन सकियोस्। हामीसँग त केवल धुमिल, झिलमिल अवधारणा छ – केही असल, केही महान्। दुई जना समाजवादी जब एकअर्कासँग वार्तालाप गर्छन् , यस्तो हुन सक्छ कि ती दुवै अलग-अलग विषयको बारेमा बोलिरहेका हुन्छन्। र, यो पनि स्वाभाविक छ कि नयाँ जमानाको कुनै अफ्रिकी तानाशाह विना कुनै अवरोध आफूलाई समाजवादी भन्न सक्छ।’
यदि वास्तविकता यस्तो हो भने यिनै समाजवादका अभियन्ताहरूले आफ्नै शब्द र विचारहरूलाई आफ्नै चिहान त बनाइरहेका छैनन् ? शव्दहरूप्रतिको अतिशय अवमूल्यनको कारणले आफ्नै विसर्जनको अदृश्य सुरूवात त गरेका छैनन् ?
अब विषय लोकतन्त्रतिरै मोडौँ। नेपाली नागरिकहरूले लोकतन्त्र किन चाहे त ? यदि लोकतन्त्रको अर्थबोध नभई केवल अधिकांश नागरिकहरूको चाहना भएकाले लोकतन्त्र चाहेको भए त्यो केवल राजतन्त्रको निषेधमात्र हुन जान्छ। ठूलो जनमानसले लोकतन्त्रको वास्तविक अर्थ नबुझी नै चाहना मात्र राखेको भए त्यो हाम्रा लागि ठूलो अभिशाप बन्न जान्छ र यस्तो चाहाना केवल रुग्ण चित्तले मात्र गर्न सक्छ।
पाठ्यपुस्तकदेखि विभिन्न किताब, लेख र मन्तव्यहरूमा लोकतन्त्र देख्दा सुन्दा हाम्रो मानसिकताले त्यसलाई अर्थविनै पनि स्वीकार्न थालिसकेको छ। तर बहुलतावादको उपासनका लागि मात्र आफ्नै आचार र विचारलाई विना कुनै प्रश्न स्वीकार गर्ने हो भने त सो वृत्ति लोकतान्त्रिक आचरणमा पर्ला र ? यदि पर्छ भने अन्धविश्वासको चिकित्सा अन्धविश्वासबाट मात्र सम्भव हुन्छ भन्ने पूर्वाग्रह हामीमा विद्यमान छ भनेर स्वीकार गर्दा अन्यथा हुँदैन।
जनताले जनताद्वारा जनताका लागि गरिने शासन व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ। यही परिभाषा स्कुले शिक्षाभरि प्रचलित थियो । अझै पनि माथिल्लो तहका शिक्षाहरूमा पनि लोकतन्त्रको यस सर्वव्यापी परिभाषा कुनै नवीनता थपिएको छैन र सन्देह पनि गरिएको छैन। तर हामी यस्तो वय र सामाजिक परिस्थितिमा प्रविष्ट भएका छौं कि यस्ता जड परिभाषाहरू संदिग्ध लाग्दछन्।
स्वयंलाई प्रश्न गरौं, के लोकतन्त्रमा जनता भन्ने कुनै अवयव या विशेषता कायम रहन सक्छ त ? यस प्रश्नको व्यवहारिक जवाफ भने म यस्तो पाउँछु – जसरी राजतन्त्रमा देशका भूगोलभित्रका नागरिकहरू राजा र रैतीमा वर्गीकृत हुन्थे , त्यसरी नै लोकतन्त्रमा नेतृत्व र कार्यकर्ता/ सेवाग्राही वर्ग हुन्छ ।
तपाईं आफैं पनि अवलोकन गर्न सक्नु हुन्छ, हाम्रो समाजमा प्रत्येक परिवार कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता या सेवाग्राही भएर बसेको छ।
यसरी आफ्नो शक्ति र विवेकलाई हदैसम्म उपेक्षा गरेर सेवा र प्रतिष्ठाका लागि जानकारी र सुझबुझविनै राजनीतिक दलको बैशाखी टेक्नु र सोही दलको स्तुतिगानमा आकन्ठ डुब्नु सार्वभौमसत्तासम्पन्न जनताको चिनारी हुँदैन । यस किसिमको परिस्थितिमा जनता भन्ने वर्ग या विशेषण लुप्तप्राय हुन्छ।
अब वर्तमान लोकतन्त्रको अर्को व्यवहारिक अक्षमतालाई अध्ययन गरौं। भनिन्छ, लोकतन्त्रमा जनता केन्द्रीय तत्त्व हो र सम्प्रभुता जनतामा निहीत रहन्छ। त्यसो भए जनतामा शक्ति कहाँबाट आउँछ ? देशको शक्तिको स्रोत जनता हो भने जनताको शक्तिको स्रोत के हो ? स्वतन्त्रता ? अधिकार ? यी त केवल शक्तिका आंशिक स्रोत मात्र होइनन् र ?
यही प्रश्नबाट हाम्रो देशको लोकतन्त्र अनुत्तीर्ण हुन्छ। जनताको शक्तिको स्रोत के हो ? जनताको शक्तिको स्रोत भनेको राष्ट्रिय उत्तरदायित्वमा जनताको सहभागिता हो। अगाडि नै भनिसकेको छ कि असली लोकतन्त्रमा जनता हुन्छन्, सेवाग्राही हुँदैनन् ।
किनभने, सेवाग्राही मानिस कहिले उत्तरदायित्वमा सहभागी हुँदैन, ऊ केवल आफ्नो अधिकार र स्वतन्त्रको माग गर्छ। उत्तरदायित्व बहन नगर्ने जनता जस्तोसुकै व्यवस्थामा पनि शक्तिशाली हुँदैनन्। व्यवस्था गौण पक्ष हो, मूल प्रश्न त जनताको सहभागितामा छ।
यस दृष्टिकोणवाट पनि हेर्ने हो भने लोकतन्त्रले आफ्नो आधारभूत पहिचान नै खारेज गर्दछ । लोकतन्त्र त एउटा प्रतिनिधि शब्द मात्र हो , यस्ता कति हजारौं शब्द छन् होलान्, जो कल्पनाको प्रवाहमा कोरिएका छन् । उदाहरणका लागि – अर्को शब्द छ, सकारात्मक विभेद । यद्यपि विभेद नामक शब्द प्रयोग गरेर कुनै पनि सकारात्मक अर्थ दिने पदावली या वाक्य निर्माण गर्नै सकिँदैन ।
यस्ता कति शब्दहरू छन् होला, जो कम्युनिष्टहरु हर्ताकर्ताले आफ्ना कार्यकर्तालाई नियमित पाठ गर्न लगाएका छन् । यस्ता कति शब्द छन् होलान्, जो लोकतन्त्रवादी मानव अधिकारवादीहरुले आफ्नो मस्तिष्कमा विना कुनै बोध खाँदाखाँद कोचेका छन् ।
धर्म – संस्कृतिका विविध पक्षमा अन्धविश्वास मात्र खोज्ने प्रगतिशील चित्तदशाले आफूभित्रका अन्धविश्वासलाई कतिको नजिकवाट नियालेको छ , यसमा समेत प्रश्न उठाउनु जरूरी छ ।
के हामी आम मानिसलाई हाम्रो राजनीति सामान्य भाषामा सम्झाउन सकिदैँन र ? के हामीलाई यति जटिल शब्दहरुले वास्तविकता छोप्ने आवश्यकता किन पर्दैछ ?
यति विध्न पारिभाषिक शब्दहरुको थुप्रो किन लगाइँदै छन् ? यसैवाट सिद्ध हुन्छ कि यिनै थुप्रोभित्र कुनै कुटिल सत्य लुकाइँदै छ । यी कुनै तर्क या बोधविना केवल यान्त्रिक रूपमा प्रयोग गरिने शब्दहरू आफ्नो असुरक्षा भावलाई आवृत्त गर्ने चेष्टा मात्र हुन्।
स्वर्गीय प्रदीप गिरिले दिनुभएको एउटा अन्तरवार्ता अझै पनि सान्दर्भिक छ। हाम्रो समाजमा विचारधाराका नाममा जनवाद, नौलो जनवाद, बहुदलीय जनवाद, राष्ट्रिय मेमिलाप लगायतका अनेकन् वाद र शब्दहरूको सङ्ग्रह छ तर यिनै शब्द र वादहरूको अनावश्यक सङ्कलनले हाम्रो राष्ट्रिय समस्या र स्वार्थलाई बुझ्न अवरोधको काम गरिरहेको छ।
सुशासनको प्रत्याभूतिसम्म दिन नसक्ने तर समाजवादकोे रटान लगाईराख्ने पाखण्डी प्रवृत्तिको अन्त्य नभएसम्म वादहरूको अपवादकोे रूपमा पुनः अर्को वादको स्थापना र उपासना गर्ने वृत्तिमा कहिले परिवर्तन आउने छैन्।
अन्त्यमा –
के यस्ता राजनीतिक शब्दावलीको कुनै अर्थ छ ? शायद राजनीतिको आफ्नै चित्त छ – जसले असत्यलाई पनि विश्वसनीय र अविश्वसनीय वर्गमा मनोगत रेखाले छुट्याउँछ ।
लोकतन्त्र , समानता , विश्ववन्धुत्व जस्ता “विश्वसनीय असत्य” कुनै कुण्ठित मानसको लागि आदर्श ठहरिएला तर यिनै शब्दहरू आफ्नो रिक्तता र व्यवहारिक जीवनका कष्टहरू देखेर यस्ता मानसहरूप्रति हासिदेला।
तर एउटा कुरा नबिर्सौं, समाजमा जति क्षति खराब वृत्ति (evil) ले गर्छ, त्यस भन्दा कयौ गुणा धेरै क्षति कृत्रिम आदर्शले गर्छ।
प्रतिक्रिया 4