
१० साउन, नुवाकोट । त्रिशूली जिल्ला अस्पतालकाे लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोटको बेल्कोटगढी नगरपालिका–७, महादेवफाँटमा आफन्तले प्रदर्शन गरेका छन् ।
तारकेश्वर गाउँपालिका–५, नुवाकोटकी ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने मुख्य माग उनीहरुको छ ।
प्रदर्शनका कारण अहिले गल्छी–देवीघाट–त्रिशूली सडक अबरुद्ध भएको नुवाकोटबाट पत्रकार रामहरि न्यौपानेले जानकारी दिए ।
त्रिशूली अस्पताल भर्ना भएकी वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । तर, छोरो जन्माएपछि उनमा अत्यधिक रक्तश्राव भयो । रक्तश्रावपछि उनलाई अस्पतालले रेफर गरिदिएको थियो । तर हेलिकोप्टरबाट शिक्षण अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राई सुत्केरीपश्चात अत्यधिक रक्तश्रावका कारण बिहीबार मृत्यु भएको जानकारी दिए ।
बच्चा जन्माउँदा खुलेको पाठेघर बन्द नभई त्रिशूली अस्पतालस्थित सुत्केरीकक्षभित्र अत्यधिक रक्तश्राव र अर्धचेत हुँदासमेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको गोमाका दाजु भोजप्रसाद न्यौपानेले बताए ।
‘सामान्य अवस्थामै बच्चा जन्मिएकाले त्रिशूली अस्पतालका चिकित्सकले उनको स्वास्थ्य जोखिममा नरहेको भन्दै चासो दिएका थिएनन्’, उनले भने, ‘चिकित्सकको बेवास्ता र सुत्केरीकक्षमा हेरचाहका लागि आफन्तलाई प्रवेश गर्न नदिँदा अत्यधिक रक्तश्राव र अर्धचेत भएको एक घण्टापछि मात्र थाहा भएको थियो ।’
आक्रोसित आफन्तले चिकित्सकको लापरवाहीले ज्यान गुमाएकी वस्तीको शव काठमाडौँबाट त्रिशूली अस्पताल ल्याएर छन् ।
प्रतिक्रिया 4