Comments Add Comment

अनियन्त्रित व्यापारघाटा : जनै र गुन्द्रुकसमेत विदेशबाट आयात

१३ साउन, काठमाडौं । नेपालले आर्थिक वर्ष ०७५/०७६ मा जनै र गुन्द्रुकसमेत विदेशबाट आयात गरेको पाइएको छ । भारतबाट जनै र चीनबाट गुन्द्रुक आयात गरिएको हो ।

गुन्द्रुकलाई नेपालको मौलिक खानेकुरा मानिन्छ । तर, यसमा समेत नेपाल आत्मनिर्भर हुन नसक्नुले नेपालको व्यापार घाटा किन डरलाग्दोगरी बढिरहेको छ भन्ने संकेत दिन्छ । भन्सार विभागले जारी गरेको तथ्यांकमा अघिल्लो आवमा चीनबाट गुन्द्रुक आयात गरिएको उल्लेख भए पनि परिमाण खुलाइएको छैन ।

यसैगरी, भारतबाट पुजा सामाग्रीका नाममा जनै आयात हुने गरेको भन्सार विभागले जनाएको छ । जनै पनि कति परिमाणमा आयात भयो भन्ने एकिन बिवरण छैन ।

यी दुईवटा उदाहरण मात्रै हुन् । नेपालमै सहजरुपमा उत्पादन गर्न सकिने वस्तुमा समेत परनिर्भरता चुलिएपछि देशको ब्यापार घाटा अनियन्त्रित बनेको बुझ्न कठिन छैन । विभागका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा नेपालले कुल १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको व्यापार गर्‍यो । एक वर्षमा ९७ अर्ब १० करोड रुपैयाँ बराबरको समान तथा वस्तु विदेश निर्यात गर्दा १४ खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको विभागले जनाएको छ ।

वस्तु विक्री गरेर विदेशी मुद्रा आर्जन गर्ने स्रोत कमजोर हुने र विदेशीलाई पैसा तिरेर किन्ने वस्तुको मात्रा बढ्ने क्रम गत आर्थिक वर्षमा पनि निरन्तर रह्यो । यद्यपि उत्पादनशील क्षेत्रमा बढेको आयातले अर्थतन्त्रलाई फाईदा पुर्‍याउने विभागको दाबी छ । यो आर्थिक वर्षको आयात–निर्यात व्यापारको अवस्था अघिल्लो आर्थिक वर्षको भन्दा १३.५५ प्रतिशतले बढेर मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो । यस वर्षको व्यापार घाटा आर्थिक वर्ष ०७४/०७५ को कुल बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो । गत वर्षको ब्यापार घाटा आर्थिक वर्ष २०७६/०७७ को कुल बजेट भन्दा २ खर्ब ४१ अर्बले कम हो । चालू आर्थिक वर्षको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ छ ।

खाद्यान्न र तरकारीमै बाहिरीयो ७९ अर्ब

कृषि उत्पादनका लागि प्रशस्त सम्भावना भएर पनि मुलुकले वार्षिक ७९ अर्ब बराबरको खाद्यान्न तथा तरकारी खरिद गरिरहेको भन्सारको तथ्यांकले देखाउँछ । विभागका अनुसार आर्थिक वर्षमा धान, मकै, गहुँ लगायतका खाद्यान्न खरिदमा ५१ अर्ब रुपैयाँ विदेशीएको छ । विभिन्न प्रकारकार हरियो तथा सुकेको तरकारी खरिदमा २८ अर्बको खर्चिएको जिदेशिएको भन्सार विभागले जनाएको छ । नेपालले खाने तेलका लागि मात्रै ३७ अर्ब गुमाएको छ ।

इन्धन र मेसिनरी पार्टस् आयत उच्च

पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्न लगायतको आयात उच्च छ । नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तु इन्धन हो । आर्थिक वर्ष ०७५/०७६ मा नेपालले झण्डै १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको इन्धन आयात गरेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै सवा एक खर्ब भन्दा धेरैको मेशिनरी पाटपुर्जा मुलुकमा आयात भएको छ । यस्तै यातायातका साधन र तिनका पार्टपुर्जामा ९० अर्ब, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा ६० अर्ब तथा हवाईजहाज र हवाईजहाजका पार्ट्सको आयात २३ २५ अर्बभन्दा माथि छ । नेपालले प्रमुखरुपमा आयात गर्ने तयारी पोशाकको आयात ३२ अर्ब र सुनको आयत ११ अर्बभन्दा बढी पुगेको विभागले जनाएको छ ।

१३६ मुलुकसँग व्यापार घाटा

विश्वका कुल १५८ देशसँग नेपालको द्विपक्षीय व्यापार सम्बन्ध रहेकोमा २२ देशसँग मात्रै नेपालको व्यापार नाफामा छ । खासै नाम नसुनिने स्लोभानीया, इष्टोनिया, आईसल्याण्ड, साल्भाडोर लगायतका देशमा नेपालबाट एकाध वस्तु निर्यात हुने भएकाले नाफा देखिएको हो । सबैभन्दा ठूलो व्यापार घाटा भारत र चीनसित छ । यस्तै, यूएई, फ्रान्स, अमेरिका, क्यानाडा लगायतका मुलुसँगको व्यापार घाटाको खाडल पनि गहिरो छ ।

गत आर्थिक वर्षमा नेपालले भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ६२ अर्ब ७३ करोड रुपैयाँको मात्रै निर्यात गर्न सक्यो । यस्तै चीनसँग दुई खर्ब ३ अर्बको आयात गर्दा नेपालको निर्यात २ अर्ब १० करोड मात्रै रह्यो । भारत र चीनबाहेक उच्च व्यापार घाटा हुने अन्य १० मुलुकहरुमा संयुक्त अरब इमिरेट्स, फ्रान्स, इन्डोनेसिया, थाईल्याण्ड, क्यानाडा, अमेरिका, स्वीट्जरल्याण्ड र मलेसिया लगायत छन् ।

सरकारले भने उत्पादनशिल क्षेत्रमा आवश्यक पर्ने उपकरण र विकास निर्माणको कार्यमा अत्यधिक प्रयोग हुने इन्धन आयात बढ्दा घाटाको आकार ठूलो देखिएको बताएको छ । यसले अर्थतन्त्रलाई खासै हानी नपुर्याउने सरकारको तर्क छ ।

तर, मेशिनरी उपकरण र इन्धन आयात बढ्दा देखिएको घाटाको आकारले अर्थतन्त्रलाई हानी नपुर्याउने सरकारी दावी कालान्तरमा भने हानीकारक हुन सक्ने वाणिज्य विज्ञ रविशंकर सैजुको तर्क छ । सरकारी दाबी स्वभाविक भए पनि लक्ष्य अनुसारको ठूला आयोजना निर्माणको प्रगति उत्साहजनक नहुँदा त्यसले मुलुकलाई असर पु¥याउने उनी बताउँछन् ।

‘तामाकोशी जलविद्युत, मेलम्ची खानेपानी र भैरहवा विमानस्थल जस्ता आयोजनाले प्रतिफल दिने गरी प्रगति नगरेसम्म हामी काम गर्दैछौं भन्नुको मात्रै अर्थ छैन,’ सैंजुले भने, ‘आन्तरिक उत्पादन र कृषि उपज माथिको परनिर्भरता अन्त्य गर्न सरकारले विशेष ध्यान नदिए दिर्घकालमा ठूलो असर मुलुकले भोग्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment