+
+

काठमाडौं विश्वविद्यालयका पदाधिकारीविरुद्ध अख्तियारमा उजुरी

विश्वविद्यालयको दाबी : अनियमितता भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते ८:४२

१६ साउन, काठमाडौं। काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, रजिस्ट्रार सुवाेध शर्मा र स्कुल अफ आर्ट्सका डिन सागर शर्माले विश्वविद्यालयमा सहायक प्राध्यापकको नियुक्तिमा अनियमिता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विश्वविद्यालयले भने आरोपको खण्डन गर्दै अख्तियारले छानबिन गरे आफू सघाउन तयार रहेको जनाएको छ ।

नियुक्तिका लागि प्रतिस्पर्धा गरेका लक्ष्मणदत्त पन्त र महेन्द्र सापकोटाले पदाधिकारीको मिलेमतोमा नियमविपरीत अपारदर्शी तरिकाबाट स्कुल अफ आर्ट्स अन्तर्गत पत्रकारिता, विकास अध्ययन र पेन्टिङ विषयका सहायक प्राध्यापकको नियुक्ति गरिएको दाबी गरेका छन् ।

खुला प्रतियोगिता भनिए पनि दुई वर्षअघि प्रतिस्पर्धाविना करारमा नियुक्त भई विश्वविद्यालयमा कार्यरत व्यक्तिहरूलाई नै अपारदर्शी तरिकाबाट नियुक्त गरिएको उजुरीकर्ताको भनाइ छ ।

अख्तियारमा उजुरी दिनु अगाडि आफूले मिति ०७६ असार २७मा सार्वजनिक गरिएको नतिजा कुन आधारमा गरिएको, विश्वविद्यालयको नियम के छ, लिखित परीक्षा, पर्फर्मेन्स टेस्ट र अन्तर्वार्तामा गरी प्रतिस्प्रर्धी उम्मेदवारले जम्मा कति अङ्क प्राप्त गरे, वैकल्पिक उम्मेदवारको कति अङ्क आयो, पत्रकारितामा वैकल्पिक उम्मेदवार किन राखिएन लगायतका सूचना माग गरी गत असार ३० गते विश्वविद्यालयका सूचना अधिकारी रजिस्ट्रार शर्मालाई निवेदन बुझाएको, तर उनले बेवास्ता गरेको पन्त बताउँछन् ।

“यसले गर्दा पनि उल्लेखित विषयका नियुक्तिहरू नियमसङ्गत नभएको आशङ्का गरेको छु,” उनी भन्छन् ।

हालसम्म सूचना उपलब्ध नभएपछि उनले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका छन् ।

विश्वविद्यालयको नियम अनुसार छनोट समितिमा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि पनि रहनुपर्ने एवं नतिजामा वैकल्पिक उम्मेदवारको सूची पनि प्रकाशित गर्नुपर्नेमा त्यसो नगरिएको पन्तको दाबी छ ।

पहिलो विवाद होइन

पन्तका अनुसार करिब दुई वर्ष अगाडि पनि यस्तै घटना भएको थियो । पत्रकारिता विभागमा सहायक प्राध्यापकका लागि विज्ञापन खोलिएको भए पनि उच्च अधिकारीहरूबीच पहिला नै ‘सेटिङ्‘ मिलाई आफ्ना मान्छे नियुक्त गरिएको पन्तको दाबी छ ।

विश्वविद्यालयको प्राध्यापक सङ्घका एक पदाधिकारी पनि नियुक्तिमा अनियमितता भएकै ठोकुवा गर्छन् । “तर हाम्रो विश्वविद्यालयमा यो पहिलो घटना होइन,” उनी भन्छन्, “पछिल्लो केही वर्षका प्रायः सबै नियुक्तिहरू विवादमा पर्दै आएका छन् ।”

उनका अनुसार यसबीचमा आधा दर्जनभन्दा बढी पदाधिकारीले यस्ता अनियमिततामा असहमति जनाउँदै राजीनामा दिएका छन् वा तिनलाई त्यस्तो असहमति जनाए बापत पद छाड्न बाध्य पारिएको छ । गत वर्ष भदौमा तत्कालीन रजिस्टार भोला थापाले राजीनामा बुझाएका थिए भने चैतमा कानुन सङ्कायका डिन तथा संविधाविद् विपिन अधिकारीले । स्रोतका अनुसार अधिकारीले पनि प्राध्यापक पदमा बढुवा हुनका लागि निवेदन दिएका थिए । तर, उनलाई प्रतिस्पर्धामा समावेश नै गरिएन ।

हालसालै मात्र पनि स्कुल अफ एजुकेसनका एक उच्च अधिकारीले राजीनामा बुझाएका छन् ।

“पछिल्लो समय विश्वविद्यालयका पदाधिकारीले विभिन्न संरचनामा प्राध्यापकको प्रतिनिधिका रूपमा प्राध्यापकहरूले छानेका प्रतिनिधि नभई आफूले भनेअनुसार काम गर्ने डिनबाट सिफारिस भएका व्यक्ति राखेका छन्,” उनी भन्छन्, “यसविरुद्ध विश्वविद्यालयमा आन्दोलन सुरु गर्ने तयारीमा छौँ ।”

विश्वविद्यालय के भन्छ ?

उता विश्वविद्यालयले भने आरोप अस्वीकार गरेको छ ।

प्रवक्ता हेमराज काफ्लेका अनुसार पन्त र सापकोटाको उजुरी उनीहरू प्रतिस्पर्धामा असफल हुनुको परिणाम मात्र हो र यसलाई समान्य रूपमा लिइनुपर्छ ।

उनीहरूले उठाएको प्रश्नको विश्वविद्यालयले किन जवाफ दिएन भन्ने सवालमा काफ्ले भन्छन्, “विश्वविद्यालयका पनि आफ्नै नियम छन् । केके सूचना दिन मिल्छ वा मिल्दैन, अनि कसलाई सूचना दिने वा नदिने भन्ने हाम्रा आफ्नै नियम छन् ।”

“व्यक्तिले मागेका अवस्थामा कार्यकारी परिषद्ले दिने वा नदिने निर्णय गर्छ । पछि अख्तियार वा अदालत वा अन्य निकायले सूचना मागेको अवस्थामा हामीले दिनैपर्ने हुन्छ, दिन्छौँ ।” उनका अनुसार अख्तियारले छानबिन गरेमा विश्वविद्यालय सहयोग गर्न तयार छ ।

साथै, विश्वविद्यालयको नियममा अनुदान आयोगको प्रतिनिधि पनि छनोट समितिमा हुनुपर्ने प्रावधान नरहेको उनले बताए ।

यदि खाली रहेको पदभन्दा बढी सङ्ख्यामा प्रतिस्पर्धी उत्तीर्ण भए मात्र वैकल्पिक उम्मेदवारको नाम प्रकाशित हुने, तर जति पद खाली हो, त्यति नै सङ्ख्यामा उत्तीर्ण भए अनुत्तीर्णलाई वैकल्पिक सूचीमा राख्न नसकिने उनी बताउँछन् ।

“करार सेवामा भित्रै कार्यरत उम्मेदवार खुला प्रतिस्पर्धामा भाग लिएरै अरूलाई जितेर नियुक्त भएका हुन्,” उनी भन्छन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा माकजू र शर्माद्वयले बोल्न मानेनन् । हालै सहायक प्राध्यापक नियुक्त एक उम्मेदवारले पनि आफूले प्रतिक्रिया दिन नमिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?