+
+

मम्मीलाई लागोस्– छोरीले दुःख बुझेकी छे !

विकास रोकामगर विकास रोकामगर
२०७६ साउन २० गते १८:५७

२० साउन, पोखरा । राष्ट्रिय परीक्षा बोर्डले वैशाख १२ गतेबाट सुरु गरेको कक्षा १२ को परीक्षाको नतिजा गत सोमबार सार्वजनिक गर्‍यो । नतिजाअनुसार पोखराको प्रतिभा सेकेन्डरी स्कुलकी विद्यार्थी शुरती पाण्डेले ३ दशमलव ९२ जीपीए ल्याएर सर्वोत्कृष्ट भइन् ।

प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय २० विद्यार्थीमध्ये पाण्डेले सर्वाेत्कृष्ट नतिजा ल्याएकी हुन् । परीक्षामा सर्वोत्कृष्ट हुनुको कारण आफूभित्र जान्ने उत्सुकता र आमाको सपना पूरा गर्ने लक्ष्यसहित गरेको कठोर मिहिनेत नै भएको उनी बताउँछिन् ।

‘मिहिनेतअनुसारको फल पाए झैैं लागिरहेको छ,’ पाण्डे भन्छिन्, ‘सीए पढ्ने सानैदेखि रुचि थियो । अब झनै राम्रो पढेर आमालाई खुसी दिन्छु । उनको आँखामा दुखको आँसु म हेर्न सक्दिनँ ।’

जब घरको टेको ढल्यो…

शुरती पाण्डे कक्षा ४ मा पढ्दा बाबा बिते । घरको आधार स्तम्भ ढल्यो । अडिने टेको भाँच्चियो । हातमुख जोड्ने आशा थिए, टुक्रियो । सहरमा बाँच्न पनि हम्मेहम्मे बनायो । न कुनै भरोसा न कुनै उपाय ।

सँगै बाँचौंला, सन्तान हुर्काउँला भन्ने सपना देखेका श्रीमान् रहेनन्, छोडेर गए । तर, शुरतीकी आमा सम्झना पाण्डेले हिम्मत हारिनन् । शुरतीको एउटा भाइ सचेतराज पाण्डे प्रतिभामै कक्षा ७ मा पढिरहेका छन् ।

धाडिङबाट पोखरा आएर पाण्डे परिवारले संघर्ष सुरु गरिरहेको थियो । तर, त्यहीबेला श्रीमान्को मृत्युपछि सन्तानको उज्ज्वल भविष्यको जिम्मेवारी सम्झनाले काँधमा लिइन् । अहिले उनी बिहानसाँझ नेपाल–भारत पुस्तकालयमा काम गर्छिन् भने दिउँसो महेन्द्रपुलमा रहेको ‘मथुरा साहुको पसल’मा काम गर्छिन् ।

शुरतीले आमाको संघर्ष नजिकबाट नियालेकी छिन् । भन्छिन्, ‘एकदिन मम्मीलाई लागोस्, छोरीले दुख जानेकी छे । छोरी हुनु त मेरोजस्तो !’

सीए सपनाले दिलाएको सफलता !

शुरती सानोमा उति मेधावी छात्रामा पर्थिनन् । तर, उनको एउटै रहर थियो, ‘चार्टर्ड एकाउन्टेन्ट अर्थात सीए बन्ने ।’ उनी त्यही सपनालाई सधैं पछ्याउँदै अघि बढिन् । एसइई ३ दशमलव ७ जीपीएसहित पास गरिन् र पुगिन्, प्रतिभा माविमा व्यवस्थापन संकायमा अध्ययन गर्न पुगिन् ।

उनले ११ कक्षाको नतिजा पनि राम्रो गरिन् । ‘कक्षा ११ को परीक्षामा ३ दशमलव ५९ जीपीए ल्याएर पास गरें,’ पाण्डेले सुनाइन्, ‘१२ मा अझै राम्रो गनुपर्छ भन्ने लाग्यो र त्यही अनुसार मिहिनेत गर्न थालें’ उनले परीक्षाको बेला ४ घण्टा पनि मुश्किलले अध्ययन गरेको अनुभव सुनाइन् ।

अरु विद्यार्थीजस्तो किताबी कीरो भने होइनन्, पाण्डे । उनको पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि विशेष रुचि छ ।

त्यसैले त विद्यालय तथा जिल्लामा हुने हरेक कार्यक्रममा सहभागी हुन उनी ‘रिप्रिजेन्टर’ बनेकी थिइन् । ‘मलाई मोटिभेसनल कक्षा लिन खुब मन पर्छ । त्यही कारणले पनि सबै प्रकारका व्यक्तित्व विकासका कार्यक्रममा पुगिरहन्थें,’ उनी भन्छिन्, ‘नभए पहिले त यति कहाँ बोल्न जान्थें र अहिले पो यत्ति भा’नि सिकेकी छु ।’

शुरतीले आमा, स्कुलको राम्रो वातावरणले नै सिक्ने मौका पाएको सुनाइन् । ‘सीए पढ्ने मेरो रहरले मात्रै सफलता पाउन गाह्रो हुन्थ्यो । यसमा मम्मीको पनि सपना जोडिएको छ,’ उनले भनिन्, ‘विद्यालयको शैक्षिक वातावरण अनुकुल नहुँदो हो त गाह्रै हुन्थ्यो ।’ अहिले उनले सीए पढ्न सुरु गरिसकेकी छन् ।

शुरतीलाई डेढ लाख, भाइलाई निशुल्क पढाइ !

कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएपछि शुरती पाण्डेलाई आइतबार विद्यालयले१ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । ७ कक्षामा अध्ययनरत शुरतीकी भाइ सचेतराजलाई कक्षा १२ सम्मको पढाइ निशुल्क गरिदिने घोषणा गरेको छ ।

‘पाण्डे हाम्रो स्कुलकी मेधावी छात्रा हुन् । उनले स्कुलको मात्रै नभएर समग्र गण्डकी प्रदेशलाई चिनाएकी छिन्,’ प्रतिभा स्कुलका प्राचार्य विश्वगोपाल पराजुलीले भने, ‘सीए पढ्न आर्थिक सहयोग होस् भनेर हामीले नगदसहित सम्मान गरेका हौं ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पौडेलले सफलता हात पार्नुमा शैक्षिक र पारिवारिक वातावरणले धेरै प्रभाव पार्ने सुनाए । ‘सामान्य परिवारबाट आएका विद्यार्थी सम्पन्न घरानाबाट आएका विद्यार्थीभन्दा जेहेन्दार र मिहिनेती भएका छन्,’ उनले भने, ‘उनीहरुले दुखलाई नजिकबाट बुझेका हुन्छन् ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?