Comments Add Comment

बुटवल–बेलहिया ६ लेन सडक निर्माण अन्तिम चरणमा

आयोजना प्रमुख भन्छन्– यो वर्षभित्रै पूरा हुन्छ

२१ साउन, बुटवल । तीन वर्षमा सक्ने लक्ष्यसहित २०६८ सालमा शुरु भएको बुटवल–बेलहिया ६ लेन सडकको काम ८ वर्षमा आइपुग्दा ८२ प्रतिशत पूरा भएको छ । यो खण्डमा छेउको सर्भिस लेनबाहेक बीचको चार लेन सडक निर्माण कार्य सकिएको छ ।

कूल २७.५ किलोमिटरमध्ये बुटवलको राजमार्ग चौराहादेखि दक्षिण बेलहियासम्म २४ किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका प्रमुख जिवेन्द्र मिश्र २०७६ सालभित्रै निर्माण सम्पन्न हुने र यो देशकै नमूना सडक बन्ने बताउँछन् । ‘निर्माण सम्पन्न भएपछि देशका अन्य ठाउँमा बन्दै गरेका सिक्स लेन सडकभन्दा यो सडक ग्रिनरी (हरियाली) का कारण नमूना हुने छ ।’

६ लेन सडक निर्माणका लागि चार प्याकेजमा ठेक्का सम्झौता भएको थियो । शुरुको वर्ष ०६८/६९ मा बुटवलतर्फ ३ किलोमिटर र भैरहवातर्फ ४ किलोमिटरको ठेक्का भएको थियो । २०७०/७१ मा दुवैतर्फ ३.३ किलोमिटरका दरले ठेक्का सम्झौता भएको थियो । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्म ३ किलोमिटर खण्ड भने अदालतमा मुद्दा विचाराधीन रहेकाले अन्योलमा परेको छ ।

मणिग्रामदेखि सुनैनापथसम्मको ३ किलोमिटर र मधवलियादेखि लखनचोकसम्म ३ किलोमिटर गरी ६ किलोमिटर सडक टेलिकम इण्डिया लिमिटेड (टीसीआईएल)ले एक अर्ब रुपैयाँ लागतमा निर्माण गरिरहेको छ । यो खण्डको भौतिक प्रगति क्रमशः ९१ प्रतिशत र ९५ प्रतिशत भएको छ भने वित्तीय प्रगति ८९ प्रतिशत र ९३ प्रतिशत छ ।

सुनैनापथदेखि मधवलियसम्मको ३ किलोमिटर खण्ड ६२ करोड रुपैयाँ लागतमा कालिका–रायमाझी जेभीले सम्पन्न गरिसकेको छ ।

लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक बिरुवा श्रेष्ठ एपेक्स जेभीले ४१ करोड रुपैयाँ लागतमा निर्माण गर्दैछ । यसको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७५ प्रतिशत भएको छ । यो ठेक्काको म्याद थप भई २५ अक्टुबर २०१९ मा काम सक्ने सम्झौता भएको छ ।

निर्माण कम्पनीहरुले ३० महिनामा पूरा गर्ने गरी २०७२ साल माघमा ठेक्का सम्झौता गरेका थिए । सम्झौता अवधि अघिल्लो वर्षको असारमै सकिए पनि मधेस आन्दोलन, भारतको नाकाबन्दीलगायत परिस्थितिका कारण सडक निर्माण समयमै पूरा हुन नसकेको हो ।

टीसीआईएलले दुई वटा ठेक्काको काम २ अक्टुबर २०१९ मा सक्ने गरी म्याद थप गरेको छ । बिरुवा कन्स्ट्रक्सनले ठेक्काको निर्माण सम्पन्न गर्ने अवधि २९ सेप्टेम्बर २०१९ सम्म छ ।

५ अर्ब ८६ करोड लागतको ६ लेन सडकको मुख्य सडक चार लेन (दुई–दुई लेन दुवैतर्फ) को चौडाइ १०.४० मिटर छ भने सर्भिस लेन दुई वटा दुवैतर्फ ६ मिटर चौडाइको छ । बिचको डिभाइडर ३ मिटर चौडाइ र डिजाइन स्पिड ८० किलोमिटर प्रतिघण्टा छ ।

प्रत्येक वर्षको विनियोजित वार्षिक बजेटको ९५ प्रतिशतभन्दा बढी रकम आयोजनाले खर्च गरेको आयोजना प्रमुख जिवेन्द्र मिश्रले बताए । सडक निर्माणमा अहिलेसम्म करिब ४ अर्ब रूपैयाँ १५ करोड खर्च भइसकेको छ ।

यात्रा सहज

चार लेनको निर्माण सकिएपछि अहिले बुटवल–बेलहियाको यात्रा सहज भएको छ । यसअघि बुटवलबाट भैरहवा पुग्न सवारी साधनमा झण्डै एक घण्टा समय लाग्नेमा अहिले २५ मिनेटदेखि आधा घण्टामा पुग्न सकिन्छ । तर बुटवल चौराहादेखि चिडियाखोलासम्म ३.५ किलोमिटर सडकका सम्बन्धमा अदालतमा मुद्दा परेपछि काम रोकिएको छ ।

सडक निर्माणका क्रममा डिजाइन परिवर्तन, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सीमाभित्रका घर/संरचना हटाउन ढिलाइ, कच्चा पदार्थ अभाव, तराई–मधेश आन्दोलन, बन्द हड्ताल जस्ता कारणले आयोजना पूरा हुन ढिलाइ भएपनि गत दुई आर्थिक वर्षमा सडक निर्माणमा उल्लेख्य प्रगति भएको आयोजनाका प्रमुख मिश्र बताउँछन् । अब बाँकी रहेको सर्भिस लेन निर्माण र फिनिसिङको काम २०७६ सालभित्रै पूरा हुने मिश्रले बताए ।

सडकको विभिन्न स्थानमा पैदल यात्रु हिँड्नका लागि ९ वटा आकाशे पुल पनि आयोजनाले बनाइसकेको छ । सडकलाई हरियाली र सुन्दर बनाउन सडकको दुवैतर्फ स्टोनियाका बिरुवा र बिचमा बेगनबेली फूल रोपेर संरक्षणका लागि समुदायलाई हस्तान्तरण गरिएको छ ।

आयोजनाले यो ब्यापारिक मार्गको तिलोत्तमा नगरपालिकामा पर्ने १२ किलोमिटर क्षेत्रमा सोलार बत्ती हटाएर बिजुली बत्ती नै जडान गर्न ठेक्का प्रकृया शुरु गरिसकेको छ । करिब ४ करोड लागतमा बिजुली बत्ती जडान गरिने र विद्युत महसुल तिलोत्तमा नगरपालिकाले तिर्ने गरी काम अघि बढाइएको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment