Comments Add Comment

प्रहरी भन्छ– मृत भेटिएका पुडासैनीको अनुसन्धानलाई प्रभावित नपारौं

२२ साउन, काठमाडौं । सोमबार राति भरतपुरको एक होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका शालिकराम पुडासैनीको अनुसन्धानलाई प्रभावित नबनाउन चितवन जिल्ला प्रहरी कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा अफवाह फैैलिएको गुनासो जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एकनारायण कोइरालाले गरेका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान सुरु भइसकेको डीएसपी कोइरालाले विज्ञप्तिमार्फत बताएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले अनलाइनखबरसँग कुरा गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए ।

‘पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि पनि भइसकेको छ’, एसपी मल्ल भन्छन्, ‘छानविन जारी रहेकाले अनुसन्धानको दायरामा आएको विषय अहिल्यै खुलाउन मिल्दैन ।’

अहिल्यै सामाजिक सञ्जाल र कतिपय मिडियामा आएका विषयले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै मल्लले चिन्ता व्यक्त गरे । ‘यो विषयलाई लिएर हामीले सार्वजनिक रुपमा प्रेस विज्ञप्ति पनि जारी गरिसकेका छौं’, एसपी मल्लले भने ।

यो पनि, चितवनमा मृत भेटिए पत्रकार पुडासैनी

मृतकले बोलेको भिडियो परीक्षण हुन बाँकी

जिल्ला प्रहरी कार्यालय चितवनका अर्का एक अनुसन्धान अधिकृतले मृतकको मोबाइलमा भिडियो सन्देश फेला परेको पुष्टि गरे । ‘मोबाइलमा भिडियो भेटिएको सत्य हो, हामीले यसलाई अनुसन्धानको दायरामा ल्याएका छौं’, उनले भने, ‘तर, भिडियोमा मृतकले भनेका कुरालाई पुष्टि गर्ने अन्य वस्तुस्थिति नभेटिएसम्म यसै भन्न सकिन्न ।’

भिडियोमा के छ भन्नेचाहिँ प्रहरीले अहिलेसम्म खुलाएको छैन । यसबारे बाहिर आएका कुरा आधिकारिक नभएको प्रहरीको भनाइ छ ।

चितवन प्रहरीका अनुसार भिडियोको वैज्ञानिक परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।

साथै, पोष्टमार्टम रिपोर्ट आइसकेपछि पुडासैनीको मृत्युको सम्भावित समय र कारणबारे पनि खुल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment