Comments Add Comment

जापानमा जन्मिएको ‘रारामार्ट’को नेपाल यात्रा

२२ साउन, काठमाडौं । अध्ययनका लागि जापान पुगेका तीन नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगी ई-कमर्स व्यवसायमा स्थापित हुँदैछन् । विद्यावारिधिका लागि जापान पुगेका उनीहरुले जापानमै सुरु गरेको ई-कमर्स ‘रारामार्ट’ ले अब नेपालमा पनि सेवा थालेको छ ।

ग्लोबल ई-कमर्सको दुनियामा अमेरिकापछि दोश्रो प्रतिस्पर्धी बजार जापानमा ई-कमर्स व्यवसायमा टिकेर अघि बढ्नु उनीहलाई सजिलो कुरा थिएन । तर, चुनौतीलाई स्विकारेर अघि बढेका उनीहरुले अब नेपालमै पनि व्यवसाय विस्तार गरेका छन् ।

नेपालमा झण्डै १ वर्षदेखि ‘रारामार्ट’ परीक्षणमा छ । प्रचार प्रसारविना नै व्यवसायिक रुपमा कारोबार थालेपनि अब केही दिनपछि बजारमा आक्रामक रुपमा प्रस्तुत कम्पनीका संस्थापक निर्देशक सापकोटा बताउँछन् । ‘प्रविधिमा आधारित व्यवसाय भएको हुँदा प्राविधिक पक्षको सफल परीक्षण नगरी आउँदा जोखिम हुनसक्छ । तयारी सकियो, हामी अब आक्रामक रुपमा अघि बढ्छौं,’ उनी भन्छन् ।

चिनियाँ ई कमर्श जाइन्ट ‘अलिबाबा ग्रुप’का प्रमुख ‘ज्याक मा’लाई आदर्श ठान्ने कम्पनीका निर्देशक सापकोटा ‘मा’को संघर्ष र सफलताको कथाले उत्प्रेरित गरेको बताउँछन् ।

जापानको रोक्कोमिचीमा अवस्थित पार्कमा कोरिएको पहिलो बिजिनेस स्केचबाट सुरु भएको रारामार्टको मुख्य विशेषता भनेको सस्तोमा गुणस्तरीय वस्तुहरु बिक्री गर्नु भएको कम्पनी बताउँछ ।

अमेजन, राकुतेन जस्ता बिलियन डलरका विश्वका अब्वल सपिङ कम्पनीहरुको उच्च तहको प्रतिस्पर्धा रहेको जापानमा कम्पनी टिकाउनु निकै चुनौतीपुर्ण रहेको बताउँछन् अर्का निर्देशक डा. जीवन अम्गाई ।

उनकाअनुसार जापानमा रारामार्टले पहिलो चरणमा जापानमा बस्ने विदेशी नागरिकहरुलाई लक्षित गरिरहेको छ र निकै कम मार्जिनमा सामानहरु बिक्री गरिरहेको छ ।

प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगी

राराको नेपाल यात्रा

जसको फलस्वरुप महंगीबाट हैरान जापानीहरुको आकर्षण पनि रारामार्टप्रति बढिरहेको दावी सञ्चालकहरुको छ ।

रारामार्टले जापानमा मुख्यरुपमा मोवाईल, इलेक्ट्रोनिक्स, कपडा, जुत्ता जस्ता सामानहरुको बिक्री तीब्र रुपमा बिस्तार गरिरहेको छ । खासगरी एप्पल ब्राण्डका घडी, मोवाईल, ल्यापटपहरुको बिक्रीको हिस्सा सबैभन्दा बढिरहेको र त्यसपछि महिलाहरुको कपडाहरु रहेको बताउँछन डा. अम्गाई ।

रारामार्टले यी वस्तुको मूल्यलाई नै आफ्नो पहिलो हतियार बनाईरहेको दावी उनीहरुको छ ।

रारामार्ट नेपालले अनलाइन सपिङ बजारको मुख्य कमजोरीलाई सुक्ष्म ढंगले अध्ययन गरेको बताएको छ । र, त्यसअनुसारको रणनीति तर्जुमा गरी अघि बढाएको बताउँछन ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालि’ का अध्यक्ष तथा उद्योगपति प्रदिपजंग पाण्डे ।

सूचना प्रविधिमा आधारित व्यवसाय सबैका लागी अनिवार्य भइसकेको अवस्थामा आफूहरुले पनि प्रविधिमा दक्ष युवाहरुसँग सहकार्य गरको बताउँछन् अध्यक्ष पाण्डे । उनकाअनुसार रारामार्टले पहिलो चरणमा काठमाडौं र ललितपुरमा २४ घण्टे निशुल्क डेलीभरीको योजना कार्यान्वयन गरेको छ ।

उनले रारामार्ट २४ घण्टाभित्रै निःशुल्क डेलिभरी दिने पहिलो अनलाइन सपिङ कम्पनी भएको दाबी गरे । ‘हामीले काठमाडौ रिंगरोडबाहिर र उपत्यका बाहिरको हकमा पनि अन्य सपिङ कम्पनीहरुको तुलनामा सबैभन्दा कम मूल्यमा सबैभन्दा छिटो डेलिभरी सेवा प्रदान गरिरहेका छौं, अरु नयाँ रणनीतिहरु बनाएर पनि काम गर्दैछौं,’ उनले भने ।

विश्वब्यापी बन्ने योजना

रारामार्ट नेपालसँगै यतिबेला अमेरिकामा सेवा बिस्तारको प्रक्रियामा अघि बढिरहेको बताउँछ । केही महिना अघिमात्र अमेरिकामा कार्यरत नेपाली मूलका अगुवा व्यवसायीहरुको सहभागितामा अमेरिकाको टेक्ससमा ‘रारा युएसए कर्पोरेशन’ नामक कम्पनी स्थापना भईसकेको छ ।

रारा ग्रुपका निर्देशक सापकोटाका अनुसार कम्पनीले प्रारम्भमा केही समय क्राउड फन्डिङको मोडालिटीमा लगानी जुटाउने काम गर्नेछ । सन् २०२०को अन्तसम्ममा अमेरिकाबाट वल्र्डवाइड ई-कमर्स सपिङ साईट संचालनमा ल्याउने उनको दावी छ ।

उनले अनुसार रारामार्टले सन् २०२१ को अन्त्यसम्ममा भारतमा समेत कम्पनी स्थापना गरिने बताए ।

संघर्षपूर्ण विगत

कम्पनीका अर्का निर्देशक नेगीले जापान र अमेरिकामा रारामार्टको स्थायित्वसँगै भारत लगाएतका विकासोन्मुख तथा अल्पबिकसित देशहरुलाई पहिलो प्राथमिकतामा राखेर व्यवसायिक विस्तार रणनीति तर्जुमा गरिने बताउँछन् । यस सम्बन्धी विस्तृत कार्ययोजना छिट्टै सार्वजानिक गरिने उनले जानकारी दिए ।

रारामार्टको ग्लोबल ब्राण्डमा लगानीका लागी विश्वभरीका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई अवसर प्रदान गर्ने र यसको कार्ययोजना समेत छिट्टै सार्वजानिक हुने उनको भनाइ छ ।

रारामार्टमा नेतृत्व गर्ने अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पीएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तीय अर्थशास्त्रमा पीएचडी अध्ययन गरिरहेका छन ।

उनीहरुले झण्डै ६ महिनाको गहन अध्ययनपछि औपचारिक रुपमा रारा मार्टसुरु गर्ने अठोट गरेका थिए । तर, सुरुमा लगानी जुटाउन खोज्दा कसैले नपत्याएपनि निरन्तरतरको प्रयासले उनीहरुलाई सफलतातर्फ डोहोर्‍यायो ।

प्रारम्भमा फेसबुकमा आधारित बिक्रीबाट ‘रारामार्ट’ स्थापना भयो । त्यसको१ बर्षपछि अनलाईन स्वरुपमा प्रारम्भ भयो र हाल जापानमा ‘रारामार्ट डटकम डट जेपी’बाट बजारमा आक्रामक रुपमा अघि बढाइएको छ ।

रारामार्ट जापानको टे्रडमार्क तथा प्याटेण्ट दर्ता गर्ने सरकारी निकायबाट अन्तराष्ट्रिय ट्रेडमार्कका रुपमा दर्ता भइसकेको छ ।

पहिलो वर्षको आकर्षक बिक्रीबाट हौसिएका उनीहरुले रारामार्टलाई नेपालमा समेत बिस्तार गर्ने सोचअनुरुप नेपालमा कम्पनी दर्ता गरेका हुन् ।

हाल रारामार्ट नेपालमा उद्योगी प्रदिपजंग पाण्डे, युवा उद्यमी कुशल जोशी, केही मारबाडी समुदायका उद्योगीहरु, नयाँ पुस्ताका मारवाडी युवाहरु र अन्य गरी करिब २० जना लगानीकर्ताको संलग्नता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment