Comments Add Comment

सरकारको ऋण १० खर्ब नाघ्यो, एक वर्षमै थपियो १४ प्रतिशत

यी हुन् नेपालका विदेशी साहु (सूचीसहित)

२४ साउन, काठमाडौं । देशभित्र र बाहिर नेपालको सरकारले तिर्नुपर्ने ऋण १० खर्ब नाघेको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म सरकारलाई १० खर्ब ४१ अर्ब रुपैयाँ ऋण लागेको हो ।

यसमध्ये सरकारले अन्तर्राष्ट्रिय समुदायसित लिएको ऋण ५ खर्ब ८८ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण ४ खर्ब ५३ अर्ब २३ करोड रहेको छ । आव २०७५/७६ मा मात्र सरकारको ऋण १३.६५ प्रतिशतले वृद्धि भएको छ ।

यस वर्ष सरकारले कूल १ खर्ब ७७ अर्ब ८५ करोड ऋण लिएको थियो । त्यसमध्ये १ खर्ब २५ अर्ब १६ करोड ७५ लाख रुपैयाँ ऋण थपिएको हो । यस अवधिमा साँवा र ब्याज गरी ७५ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ ।

तथ्यांकअनुसार एकै वर्ष बाह्य दाताबाट लिएको ऋण ६३ अर्ब ९ करोड रुपैयाँले वृद्धि भयो भने आन्तरिक ऋण ६२ अर्ब ६ करोडले बढ्यो । आव २०७४/७५ मा सरकारको ऋण ९ खर्ब १६ अर्ब ५१ करोड रहेको थियो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार कूल सरकारी ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ३०.०६ प्रतिशत पुगेको छ । यसमा बाह्य ऋणको हिस्सा १६.९८ प्रतिशत रहेको छ भने आन्तरिक ऋण १३.८० प्रतिशत रहेको छ । आव २०७४/७५ मा जीडीपीको ३०.३२ प्रतिशत सरकारको कूल ऋण थियो ।

अर्थ मन्त्रालयका अधिकारीहरु जीडीपीको ३० प्रतिशत हाराहारी सरकारी ऋण हुनुलाई सामान्य मान्छन् । तथ्यांक हेर्दा सरकारले क्रमशः बाह्य ऋण घटाउँदै आन्तरिक ऋणमा जोड गरेको देखिन्छ । आव २०७४/७५ मा जीडीपीमा बाह्य ऋणको हिस्सा १७.३३ र आन्तरिक ऋणको हिस्सा १२.९० प्रतिशत रहेको थियो ।

देशभन्दा संस्थाको ऋण बढी

आर्थिक वर्ष २०७५/७६ मा सरकारले लिएको कुल वैदेशिक ऋणमध्ये बुहपक्षीय संस्थाबाट बढी आपूर्ति भएको छ । तथ्यांकअनुसार यस अवधिमा बहुपक्षीय दाताबाट सरकारले ६७ अर्ब ८ करोड ऋण लिएको छ भने विभिन्न देशबाट १४ अर्ब ३८ करोड ७० लाख रुपैयाँ आएको छ । आन्तरिक ऋण भने ९६ अर्ब ३८ करोड २० लाख उठेको छ ।

एक वर्षमा कति चुक्ता भयो ऋण ?

एक वर्षको अवधिमा सरकारले ऋणको सावाँ-ब्याज फिर्तामा ७५ अर्ब रुपैयाँ खर्च गरेको छ । तथ्यांकअनुसार यस अवधिमा सरकारले वैदेशिक ऋणको साँवा-ब्याज गरी २४ अर्ब ५४ करोड रुपैयाँ फिर्ता गर्‍यो । यस्तै, आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा ५० अर्ब ५२ करोड रुपैयाँ खर्च भएको तथ्यांक रहेको छ ।

यी हुन नेपालका विदेशी साहु

विश्व बैंक र एसियाली विकास बैंक नेपालको सबैभन्दा ठूला साहु हुन् । यी दुई बैंकका विभिन्न संस्थामार्फत नेपालमा ५ खर्बभन्दा माथिको ऋण लगानी भएको छ ।

त्यसैगरी, इन्टरनेशनल फण्ड फर एग्रीकल्चर डेभलपमेन्ट, यूरोपियन इन्भेष्टमेन्ट बैंकजस्ता निकायबाट पनि ऋण आएको छ । भारत, चीन, जापान, कोरिया, साउदी अरव, फ्रान्स, कुवेत, अष्ट्रिया, बेल्जियमजस्ता मुलुकबाट नेपालले ऋण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment