Comments Add Comment

नेपालले विश्वकप छनोटको सबै ‘होम’ खेल नेपालमै खेल्ने !

नेपाललाई मिल्ने गरी खेल तालिका संशोधन

२४ साउन, काठमाडौं । २०२२ विश्वकप फुटबल छनोटको दोस्रो चरणको प्रतियोगितामा नेपालले घरेलु मैदान (होम ग्राउण्ड) मा खेल्नुपर्ने सबै खेल नेपालमा नै खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय स्तरको खेलमैदान तयार नभएकाले यसअघि कुवेतसँग नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि कुवेतमै गर्न प्रस्ताव गरेको थियो । तर कुवेतले नमानेपछि नेपालमा नै गर्न लागिएको हो ।

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालले कुवेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलियासँग खेल्नुपर्नेछ । पुनर्निर्माण भइरहेको दशरथ रंगशाला समयमा तयार नहुँदा कुवेत, चाइनिज ताइपेई र जोर्डनसँगको खेलतालिका फेरवदल गरी नेपालले घरेलु मैदानमा खेल्ने खेल पछि सारिएको हो । अष्ट्रेलियासँगको खेल तालिका भने फेरबदल गरिएको छैन ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले नेपालले पहिले अवे (घरेलु मैदानबाहिर) खेल खेल्ने गरी तालिका फेरबदल गरिएको जानकारी दिए । यसअघि फिफाले निकालेको खेल तालिकाअनुसार सुरुमा नेपालले कुबेत, चाइनिज ताइपेई र जोर्डनसँग पहिले होम खेल खेल्नुपर्ने थियो ।

तर मैदान तयार नभएकाले एन्फाको अनुरोधमा पहिले अवे खेल्ने गरी फिफाले खेल तालिका संशोधन गरेको छ ।

दोस्रो चरणको छनोट खेल नेपालले भदौ १९ गते कुवेतसँग अवे खेल खेलेर सुरु गर्नेछ । त्यसपछि कात्तिक २९ गते होम ग्राउण्डमा खेल खेल्नेछ । त्यतिबेलासम्म दशरथ रंगशाला तयार हुने एन्फा प्रवक्ता राईले बताए । ‘त्यो मितिसम्म हामी जसरी पनि तयार गर्छौं, यदि सम्भव भएन भने न्युट्रल भेन्युमा जान्छौं’ उनले भने ।

नेपालले चाइनिज ताइपेइसँग अवे खेल भदौ २४ गते हुनेछ । होम खेल भने चैत १३ गते हुनेछ । जोर्डनसँगको अवे खेल असोज २८ गते र होम खेल जेठ २२ गते खेल्नेछ ।
नेपालले अष्ट्रेलियासँग अवे खेल असोज २३ गते खेल्दैछ भने होम खेल चैत १८ गते खेल्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment