Comments Add Comment

आमाबुवाको अपेक्षा जब बालबालिकाको बोझ बन्छ

८ वर्षिय अनिसा जब विद्यालय जान्छिन्, कक्षाको सबैभन्दा पछिल्लो सिटमा बस्छिन् । उनी अक्सर उदास रहन्छिन् । कसैसँग बोल्ने, खेल्ने, चल्ने गर्दिनन् । उनलाई साथीसंगीसँग कुराकानी गर्न रुची छैन । हरक्षण दिक्क लागे झै, झर्को लागे झै लाग्छ । उनी आफ्नो पुस्तकलाई सिरानी बनाएर सुतिरहन्छिन् ।

खासमा उनको साथीसंगी पनि धेरै छै्रनन् । शिक्षक/शिक्षिकासँग झ्याम्मिने पनि गर्दिनन् । पुस्तकको पानाहरु पल्टाएर हेर्छिन् । यद्यपी उनको पढाईमा अभिभावकले चित्त बुझाएका छै्रनन् । अभिभावक अक्सर छोरीको पढाई खराब भएको गुनासो गरिरहेका हुन्छन् ।

रियालाई खासमा पढ्न मन लाग्दैन । अर्थात उनी पढाईमा ध्यान केन्द्रित गर्न सक्दिनन् । साथीहरुसँग रमाइलो गर्न पनि सक्दिनन् । खेल्ने, चल्ने गतिविधिमा उनलाई पटक्कै रुची छैन । विद्यालयको अतिरिक्त गतिविधिमा उनी सहभागी हुँदैनन् । न खेल्न रुचाउँछिन्, न नाच्न गाउन । सधै उदास रहन्छिन् ।

रियामा जस्तो समस्या अहिले धेरैजसो किशोरपुस्तामा देखिने गरिएको छ । किन उनी उदास छिन् ? किन साथीसंगीसँग उनको सम्बन्ध राम्रो छैन, किन उनी पढाईमा केन्दि्रत हुन सक्दिनन् ?

खासमा उनलाई डिप्रेसन छ । अर्थात यस किसिमको लक्षण देखिनु डिप्रेसनको संकेत हो । डिप्रेसन चिन्ताकै गहिरो रुप हो । अक्सर व्यवहारिक जीवनमा परिसकेका मान्छेलाई चिन्ता हुन्छ । उनीहरु नै डिप्रेसनका सिकार हुन्छन् । हामी यस्तै सोच्छौं । तर, पछिल्लो समयमा बालबालिका, किशोर-किशोरी समेत डिप्रेसनले ग्रस्त हुँदै गएका छन् ।

डिप्रेसन हुनु उनीहरुको समस्या होइन । उनीहरु स्वय्मलाई थाहा हुँदैन कि मलाई के भइरहेको छ । यद्यपी शिक्षक/शिक्षिका एवं आमाबुवाले उनीहरुको अवस्था बुझ्दैनन् । उनीहरुले पढाईमा ध्यान नदिएकोमा, हाँसखेल नगरेकोमा गुनासो गरिरहेका हुन्छन् । कति अभिभावकले आफ्ना छोराछोरीको मनोदसा बुझ्नका साटो उनीहरुलाई गाली गर्ने, कुटपिट गर्ने गल्ती पनि गर्छन् । यसरी अभिभावकले समस्या पहिचान नगरी छोराछोरीलाई दोषी देखाइरहँदा उनीहरुमा थप हिनताबोध पैदा हुन्छ । उनीहरु हरेक कुरामा हतोत्साही हुँदै जान्छन् । र, घर छाडेर भाग्छन् । कतिपय आत्महत्याको पछाडि पनि यस्तै कारण लुकेका छन् ।

उनीहरुको समस्यालाई हामी किन बुझ्दैनौं ? उनीहरु कस्तो मनोदसाबाट गुजि्ररहेका छन् भनेर हामी किन जान्ने प्रयास गर्दैनौं ?

यसको दुईवटा कारण छन् । पहिलो त हाम्रो समाजले मानसिक समस्यालाई त्यती महत्व दिदैन । दोस्रो, बच्चाको मुड यस्तै हुन्छ भन्ने लाग्छ । अर्थात उनीहरु हुर्किएपछि आफै समझदार हुन्छन् भन्ने लाग्छ । यही कारण उनीहरुको समस्यामा अभिभावकले खास चासो दिदैन । आफ्ना छोराछोरी डिप्रेसनग्रस्त भएको कुरा त अभिभावकले विश्वास पनि गर्दैनन् ।

अभिभावकको अपेक्षा, बालबालिकाको बोझ

अहिले प्रतिस्पर्धाको जमाना छ । हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । पढाईमा, करियरमा, प्रतिष्ठामा, कमाईमा । हामी छोराछोरीलाई यस्तै प्रतिस्पर्धामा सामेल गराउँछौं । उनीहरु के चाहन्छन् ? उनीहरुको क्षमता के हो ? उनीहरु के रुचाउँछन् ? हामी बुझ्ने कोसिस गर्दैनौं । बरु, परीक्षामा सर्वोत्कृष्ट भएको, राम्रो करियर अपनाएको, धेरै आर्जन गरेको मात्र देख्न चाहन्छौं । हाम्रो यही अपेक्षा उनीहरुको निम्ति दवाव बन्छ । बालबालिकाको क्षमता पहिचान नगरी अभिभावकले जुन किसिमको अपेक्षा गर्छन्, त्यो उनीहरुका निम्ति बोझिलो बन्न पुग्छ । यही बोझले उनीहरुमा चिन्ता पैदा हुन्छ । चिन्ताले डिप्रेसनको अवस्थामा पुर्‍याउँछ ।

सबै बच्चा हरेक क्षेत्रमा सक्रिय हुन्छन् भन्ने छैन । सबै बच्चा पढाईमा अब्बल हुन्छन् भन्ने छैन । छिमेकको बच्चा चलाख छ भन्दैमा आफ्नो बच्चा पनि त्यस्तै हुनुपर्छ भन्ने छैन । यद्यपी हामी अरुसँग तुलना गरेर आफ्नो बच्चामाथि अपेक्षा लाद्न थाल्छौं । अहिले यही कारणले धेरै बालबालिका चिन्ताले घेरिएका छन् ।

डिप्रेसनको लक्षण

-बच्चा सामान्य अवस्थामाभन्दा बढी झर्को मान्ने, उदास रहने गर्छ ।

-उनको मुड क्षणक्षणमा बद्लिन्छ ।

-सानो कुरामा पनि रिसाउँछ

-विद्यालय जान मन गर्दैनन्

-साथीभाईसँग घुलमिल हुँदैनन्

-सामान्य भन्दा बढी सुत्छन्

-एकान्तमा बस्न रुचाउँछन्

-खेल्ने कुद्ने काममा रुची राख्दैनन्

अब के गर्ने त ?

यदि बच्चालाई डिप्रसनको समस्या छ भने उनीहरुको मनोदसालाई बुझ्ने कोसिस गर्नुपर्छ । उनीहरु रिसाउँदा, र्झकदा, खेल्न र पढ्न मन नगर्दा अभिभावकले जबरजस्ती गर्नु हुँदैन । गाली गर्ने, कुटपिट गर्ने काम गर्नुहुन्न ।

यद्यपि यस किसिमका बालबालिकालाई रमाइलो माहौल बनाइदिनुपर्छ । कुनैपनि कुरामा दबाव दिने होइन, बरु प्रेरित गर्नुपर्छ । उनीहरुलाई पढ्न, खेल्न, रमाइलो गर्नका लागि प्रेरित गर्नुपर्छ ।

अभिभावकले धेरैभन्दा धेरै समय बालबालिकासँग विताउनुपर्छ । उनीहरुसँग बोल्ने, खेल्ने गर्नुपर्छ । बच्चालाई अरुसँग तुलना गर्नै हुन्न । उनीहरु पढाईमा कमजोर छन् भने पनि निरुत्साहित गर्ने काम गर्नुहुन्न ।

बच्चालाई खुसी बनाउनुहोस्, डिप्रेसनग्रस्त होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment