+
+
Shares

उमेरहदको निर्णय फिर्ता लिन माग गर्दै राष्ट्र बैंकलाई सेयरधनीको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १३:५२

२८ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले केही दिनअघि बैंकहरुमा उमेर हद लागू गर्दै जारी गरेको परिपत्रका विषयमा सेयरधनीहरुको एउटा समूहले आपत्ति जनाएको छ । विभिन्न बैंकहरुमा सेयर हिस्सा भएका आधा दर्जनभन्दा बढी सेयरधनीले राष्ट्र बैंकलाई निर्णयबाट पछि हट्न आग्रह गरेका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिलाई पत्राचार गर्दै उनीहरुले उमेरहद लागू गर्ने निर्णय तत्कालै फिर्ता लिन आग्रह गरेका हुन् । फिर्ता नलिए कानुनी उपचार खोज्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उमेर हदको कुनै सीमा नतोकिएको भन्दै कानूनविपरीत गएर गरेको निर्णय फिर्ता लिनुको विकल्प नभएको पत्रमा उल्लेख गरिएको छ । सेयरधनीहरुले कानूनअनुसार चुनेर पठाएका प्रतिनिधिलाई पदावधि बाँकी रहँदै हठात् पदमुक्त गर्ने अधिकार राष्ट्र बैंकलाई नभएको दावीसमेत गरिएको छ ।

पत्रमा हस्ताक्षर गर्ने एक सेयरधनीले भने, ‘यो निर्णय तत्कालै फिर्ता हुनुपर्छ, नत्र अदालतले उल्टाउँछ, कानून विपरीत काम गर्ने अधिकार कसैलाई छैन ।’

राष्ट्र बैंकले केही दिनअघि बैंक तथा वित्तीय संस्थाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुका लागि अधिकतम उमेर हद तोकेको थियो । ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत कार्यविधि, २०७५ लाई संशोधन गर्दै सोमबार राष्ट्र बैंकले नयाँ उमेर हद तोकेको हो ।

तर, सञ्चालक समितिमा नै बिवाद भएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल पनि अन्योलमा परेको श्रोत बताउँछ ।

राष्ट्र बैंकको गरेको नयाँ व्यवस्थाअनुसार अब ६५ वर्ष उमेर नाघेको व्यक्ति कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त वा पुनर्नियुक्त हुन पाउने छैन । यसअघि नै सीईओ नियुक्त भइसकेको भए ६९ वर्षसम्ममात्रै काम गर्न पाउनेछन् ।

यसैगरी राष्ट्र बैंकले बैंक सञ्चालकका लागि पनि उमेर हद तोकेको थियो । राष्ट्र बैंकले सञ्चालक पदमा निर्वाचित हुनका लागि अधिकतम उमेर ७० वर्ष तोकेको हो । ७० वर्षअघि नै सञ्चालक भइसकेको भए ७४ वर्ष पुगेपछि पद त्याग्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

राष्ट्र बैंकको यो व्यवस्थाले एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ, नविल बैंकका अध्यक्ष शम्भु पौड्याल, गरिमा विकास बैंकका संचालक भुपेन्द्र बहादुर खड्का, प्राइम बैंकका सीईओ नारायणदास मानन्धरको पद गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?