+
+
Shares
भन्सार विभाग अध्ययन :

मुस्ताङबाट गाडी आयातमा गडबडी देखिएन, रसुवाका केहीमा देखियो

१३ कर्मचारी निलम्बित

रसुवाबाट सवारी आयात गर्दा भन्सारमा भौतिक रूपमा सवारीसाधन आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पुष्टि भएको भन्सार विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते २०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा नाकाबाट गाडी आयातमा गडबडी पुष्टि भएपछि भन्सार विभागले तत्कालीन कार्यालय प्रमुखसहित १३ कर्मचारीलाई निलम्बन गरेको छ ।
  • भौतिक रूपमा गाडी नआइपुग्दै जाँचपास गराएको पाइएपछि लक्ष्मी ई-मोबिलिटी, साइमेक्स, सीजी मोटर्ससहितका आयातकर्ता कम्पनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
  • मुस्ताङ नाकाबाट आयात भएका ६४९ विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा भने कुनै गडबडी नभएको भन्सार विभागको अध्ययनले देखाएको छ ।

५ असार, काठमाडौं । बजेटअघि मुस्ताङ र रसुवा नाकाबाट गाडी आयात भएकोबारे अध्ययन गर्न भन्सार विभागले गरेको अध्ययनले मुस्ताङ कोरला नाकाबाट बजेटअघि आयात भएका गाडीमा गडबडी नभएको देखाएको छ ।

मुस्ताङ नाकाबाट नेपाल छिरेका गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि यो विषय चर्केको थियो । तर, सोही नाकाबाट भित्रिएका गाडी भन्सार प्रक्रिया पूरा गरी १४ जेठअघि नै नेपाल भित्रिसकेको देखिएको विभागले जनाएको छ ।

तर, रसुवाबाट सवारी आयात गर्दा भन्सारमा भौतिक रूपमा सवारीसाधन आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पुष्टि भएको विभागले जनाएको छ ।

विभागले गरेको अध्ययनमा प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायत विषय स्थलगत अध्ययन गर्दा रसुवा नाकाबाट भित्रिएका कतिपय सवारीसाधनका हकमा गडबडी भएको पुष्टि भएको जनाएको छ । तर, कति युनिट सवारीसाधनमा गडबडी प्रमाणित भएको हो, त्यो भने विभागले खुलाएको छैन ।

मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार उक्त कार्यालयबाट १२ र १३ जेठमा कुल ६ सय ४९ विद्युतीय सवारीसाधन घोषणा भई ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको छ ।

उक्त टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गरेको विभागले जनाएको छ । उल्लेखित ६ सय ४९ वटै विद्युतीय सवारीसाधन १४ जेठ भित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको समेत विभागले उल्लेख गरेको छ ।

यसअघि बजेट आउनुभन्दा पहिले नै करको दरका सूचना चुहाएर सवारी आयात गरिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो । त्यसैबारे अध्ययन गर्न भन्सार विभागले मुस्ताङ भन्सारका हकमा २१ जेठ र रसुवा भन्सारका हकमा १७ जेठमा छुट्टाछुट्टै अध्ययन समिति बनाएको थियो । अध्ययन टोलीले प्रतिवेदन भन्सार विभागमा बुझाएको अर्थ मन्त्रालयले जनाएको छ

रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औँल्याएको छ ।

अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको बताएको छ ।

यसरी कानुनी प्रक्रिया पूरा नगरेको देखिएकाले अर्थ मन्त्रालय र भन्सार विभागले यस्ता कार्यमा संलग्न रसुवा भन्सार कार्यालयका  तत्कालीन कार्यालय प्रमुख सहित १३ कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

त्यस्तै विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई-मोबिलिटी, साइमेक्स इन्क, सीजी मोटर्स, पूजा इन्टरनेसनल र पूजा कन्स्ट्रक्सन नेपाल प्रालिलाई कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई लेखी पठाइएको भन्सार विभागले जनाएको छ ।

यसैगरी २४८, ८३३ र ४७८ नम्बरका भन्सार एजेन्टहरूलाई समेत कारबाही गर्न रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?