
२७ साउन, काठमाडौं । पहिलोपटक वैदेशिक रोजगार विभागले रुपमा वैदेशिक रोजगारीका नाममा ठगी गर्ने शैक्षिक परामर्शदातृ संस्थामा छापा मारेको छ । अनुगमनलाई ब्यापक बनाएको विभागले काठमाडौंको सिनामंगलस्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा छापा मारेको हो ।
यो कन्सल्टेन्सी म्यानपावर व्यवसायी सुजितकुमार श्रेष्ठले चलाइरहेको पाइएको छ । म्यानपावरबाट छलेर कामदार अवैध रूपमा पठाउन उनले यसै कन्सल्टेन्सीलाई प्रयोग गरिरहेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
कन्सल्टेन्सीबाटै प्रक्रिया मिलाएर कामदार भिसामा विभिन्न देशमा पठाउने गरिएको दावी विभागको छ । नेपालको विद्यमान कानूनअनुसार म्यानपावरले मात्रै वैदेशिक रोजगारीमा पठाउने काम गर्न पाउँछन् ।
यो कन्सल्टेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागि विज्ञापन गरेको थियो । उसले अन्तरवार्ता लिएर अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा एलाइन्स कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको हो ।
अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएकाहरुको आवेदन फाइल तथा व्यक्तिहरुको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।
टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सिपियु जफत गरी ल्याएको महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए ।
कन्सल्टेन्सीमा संचालक श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागि पत्र दिएको छ । श्रेष्ठ कांग्रेस निकट म्यानपावर व्यवसायी संगठनका नेता हुन् ।
पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा पर्ने क्रम तीव्र भएको भुसालले बताए ।
विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको छ ।
प्रतिक्रिया 4