Comments Add Comment

मुक्तिनाथ रानीपौवा : धर्मशालादेखि स्टार होटलसम्म

२८ साउन, मुक्तिनाथ । राजा रणबहादुर शाहकी श्रीमती सुवर्णप्रभा १८६३ सालमा मुक्तिनाथ दर्शनका लागि पुगेकी थिइन् । मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई बास बस्नै समस्या परेको सुवर्णप्रभासमक्ष बिन्ती बिसाए ।

रानी सुवर्णप्रभाले मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा केही तल धर्मशाला निर्माण गरिदिइन् । बागलुङदेखि काठ बोकेर भव्य धर्मशाला निर्माण गरिएको अभिलेख छ । रानीले बनाइदिएको धर्मशालालाई रानीपौवा भनियो । पछि धर्मशाला रहेको ठाउँ नै रानीपौवामा बदलियो ।

सुवर्णप्रभाले धर्मशाला बनाइदिएपछि दर्शनार्थीले बास बस्ने र आफूले ल्याएका खानेकुरा पकाउने वा खाने ठाउँ पाएको इतिहास रानीपौवाको संरक्षण गरिरहेका हरिकृष्ण आचार्यले सुनाए ।

मुक्तिनाथ दर्शन गर्न पुग्ने दर्शनार्थीहरु रानीपौवामा बस्न थालेपछि अरु कुराको पनि खोजी हुन थाल्यो । बिस्तारै बाटोको छेउछाउमा पूजाका सरसामानदेखि फलफूल र अत्यावश्यक सामान बेच्नेहरु आउन थाले । रानीपौवा मुक्तिनाथ मन्दिरभन्दा करिब एक किलोमिटर वरै छ ।

रानीपौवाभन्दा केही तल पुराङ भन्ने गाउँ छ । रानीपौवातिर गोठ र तल पुराङ बस्ती थियो । धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी रानीपौवातिरै सरे । तत्कालीन समयमा मान्छेका माग अनुसार उपलब्ध गराउन सकिने खालका सामान बेच्न थालिएको जानकार बताउँछन् ।

विशेषत हिन्दु धर्म मान्ने र वौद्धमार्गीहरुको समेत आस्थाको केन्द्र हो, मुक्तिनाथ । हिन्दु र वौद्ध धर्म मान्नेहरुको मात्रै नभएर नेपाल आउने पर्यटककै आकर्षण बनेको छ, मुक्तिनाथ । मुक्तिनाथकै कारण धर्मशालाबाट सुरु भएको रानीपौवाले अहिले रुप फेरेको छ ।

निशुल्क दर्शनार्थी राख्ने र दानमार्फत धर्मशाला चलिरहेको रानीपौवामा अहिले धमाधम होटलहरु बनिरहेका छन् । रानीपौवा अहिले बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा पर्छ । मुक्तिनाथ दर्शन गर्ने, घुम्ने, सुविधा प्रयोग गर्ने र पैसा पनि खर्च गर्नेहरु बढेसँगै रानीपौवामा स्टार होटलसमेत बनिरहेका छन् ।

मुस्ताङले ‘हिरा’ को उपमा पाउँदै

‘हिजो मुस्ताङमा दुःख थियो । अहिले त्यही दुःखको मुस्ताङमा फलिफाप हुँदैछ,’ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ हो, यो । साँच्चिकै उनले भने झैं मुस्ताङको अहिले दिन फेरिएको छ ।

आजको रानीपौवाको सम्भावना देखेरै २०३२/०३३ सालतिर श्रीमुक्तिनाथ होटल खुलेको थियो ।

‘मुक्तिनाथ होटललाई नै रानीपौवाको पहिलो आधुनिक होटल मानिन्छ । अहिले रानीपौवामा धमाधम होटल निर्माण भइरहेका छन्,’ रानीपौवामा होटल ग्रान्ड साम्बाला चलाइरहेका सुरज गुरुङले भने, ‘अहिले लगानीकर्ताहरुको आकर्षण बढिरहेको छ । स्टार होटलसमेत खुल्न थालेको छ ।’

मुस्ताङमा सम्भावना नदेखेर पोखरा, काठमाडौंलगायत विभिन्न देश पुगेकाहरु फर्कन थालेका छन् । रानीपौवामा पनि त्यस्तै भएको छ । ‘हिजो काठमाडौं, पोखरा, जापान, अस्ट्रेलिया, अमेरिकासम्म पुगे । अहिले फर्केर रानीपौवामा लगानी गर्न थालिरहेका छन्,’ सुरजले भने ।

सुरज आफैं जापान बसेर फर्केका हुन् । उनले काठमाडौंको ठमेल र जावलाखेलमा रेस्टुरेन्ट चलाउँछन् । पर्यटकको आकर्षणमा मुक्तिनाथ परेपछि उनले पनि रानीपौवामा सन् २०१५ मा भव्य होटल खोले । अहिलेसम्म उनले खालेको साम्बाला होटल रानीपौवाकै उत्कृष्ट होटलमा पर्दै आएको छ ।

गएको साल मुक्तिनाथ दर्शन गर्ने बेला तयारीमा पुगेका सुरक्षाकर्मी, गुप्तचर र सरकारी कर्मचारीसमेत उनकै होटलमा बसेका थिए । सुरजले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सुरक्षा र सुविधाका हिसाबले सोही होटलमा बस्ने कुरा थियो । तर उनी सोही दिन फर्के ।’

अहिले साम्बालालाई टक्कर दिने स्तरीय र स्टार होटल रानीपौवामा निर्माणाधीन छन् । अमेरिकामा बस्दै आएका एनआरएन सोनम लामाले पनि रानीपौवामै तीन तारे होटल निर्माण गरिरहेका छन् । रानीपौवा बजारको मुखमै उनले लो मुस्ताङ रिसोर्ट नाम दिएर भव्य पूर्वाधार निर्माण गरिरहेका हुन् ।

रानीपौवामै अर्को स्तरीय होटल डि पुराङको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काडमाडौंमा व्यवसाय गर्दै आएका प्रेम गुरुङले यो होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

‘मुक्तिनाथ दर्शन गर्ने पर्यटक बर्सेनी बढिरहेका छन् । त्यसमा सबैभन्दा बढी भारतीय छन् । दर्शनमात्रै नभएर घुम्न जाने पर्यटकको पनि मुक्तिनाथमा आकर्षण बढेको छ,’ सोही क्षेत्रका प्रदेश सांसद महेन्द्र थकालीले भने, ‘त्यसैले पनि त्यहाँ नयाँ सुविधासम्पन्न होटल खुलिरहेका छन् ।’

रानीपौवामा होटल तथा रिर्सोटमा लगानी गर्न चाहनेहरुको संख्या बढिरहेकोले कसरी व्यवस्थित गर्ने र कस्तो नीति बनाउने भन्ने छलफल गरिरहेको वाराबुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।

‘पहिले कोही पर्यटन, कोही घरेलुमा होटलहरु दर्ता थिए । अहिले सबै गाउँपालिकामा पनि दर्ता गर्ने नीति लिएका छौं,’ गुरुङले भने, ‘होटलमात्रै नभएर विभिन्न क्षेत्रमा कसरी लगानीकर्ता भित्राउन जग्गा लिजमा दिने विषयमा पनि पहल गरिरहेका छौं ।’

एकैरात १५ सय पर्यटक बस्न सक्ने

यसै वर्ष रानीपौवामा मात्रै करिब ३० होटल पुग्ने छन् । धर्मशालामा दर्शनार्थी राख्ने रानीपौवामा बनेका होटललेमात्रै अहिले एकै रात कम्तिमा १ हजार ५ सयलाई बास दिन सक्छ ।

मुक्तिनाथमा पर्यटकको आगमन बढेसँगै ४/५ वर्षयता रानीपौवामा होटल लगानीकर्ता बढिरहेका छन् । ‘रानीपौवामा गाडी पुग्दा चर्चा बढ्यो । त्यसपछि पर्यटक पनि बढे,’ सोही क्षेत्रका पूर्व मुखियासमेत रहेका व्यवसायी सुरज गुरुङले भने, ‘रानीपौवा क्षेत्रबाहेकका वासिन्दालाई पनि लगानी खुला गरिएपछि अझ आकर्षण बढिरहेको छ ।’

रानीपौवामा १० वर्ष अघिदेखि बाहिरका व्यक्तिलाई पनि जग्गा किनबेच र लगानी खुला गरिएको थियो । व्यावसायिक हिसाबले जग्गा किन्न आउनेहरुको पनि संख्या बढेको व्यवसायी बताउँछन् ।

अहिले रानीपौवामा करोडौंका होटल निर्माण भइरहेको छ । रानीपौवामा अहिलेसम्म ३÷४ सयदेखि २ हजारसम्ममा होटलका कोठा पाइन्छन् । अब स्तरीय कोठा थप्ने र नयाँ होटल निर्माण भइरहेकाले ८ हजारसम्मका कोठा हुने व्यवसायी बताउँछन् ।

चिसोको दुःख, कामदारको अभाव

मुक्तिनाथ रानीपौवामा जसरी स्तरीय होटल र लगानीकर्ताको आकर्षण जसरी बढिरहेको छ । चुनौती र समस्या पनि उत्तिकै बढिरहेका छन् । यहाँका होटल सिजनमै घर पर्नुपर्छ । हिउँदमा हिउँ पर्दा पर्यटक पुग्दैनन् ।

प्रकृतिले यो ठाउँले बरदान पाएको छ । तर, पर्यटकीय सिजनमै भर पर्नुपर्ने यहाँका व्यवसायीलाई प्रकृतिले नै दिएको अर्को असुविधा हो । हिमपात र चिसोकै कारण हिउँदमा कतिपय होटल बन्द नै हुने गाउँपालिका उपाध्यक्ष दिकी गुरुङ बताउँछिन् ।

यहाँका व्यवसायीको अर्को समस्या होटलमा काम गर्ने कामदारको हो । सबै सिजनमा होटल नचल्ने भएकाले यहाँ लामो समय कामदार टिक्दैनन् । ‘एक त होटल सधैं चल्दैन, अर्को घुम्न जाने, रमाउने ठाउँ छैन । आफन्त भेट्न जाने सजिलै सुविधा छैन,’ व्यवसायी राजनले बताए ।

सीप नभएको सामान्य कामदारले पनि न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् । त्योभन्दा माथि सीपअनुसारको पारिश्रमिक र सुविधा दिँदा पनि कामदार नटिक्ने व्यवसायीको भनाइ छ । कामदार खोज्दैको हैरान हुने उनीहरुको अनुभव छ ।

पाहुनालाई गर्ने व्यवहार सुध्रिएन

मुस्ताङ पर्यटकीय गन्तव्य त बन्यो । पर्यटकको आकर्षण र रोजाइमा गण्डकी प्रदेशको मुक्तिनाथ पनि अग्रपंक्तिमै आउँछ । तर आफ्ना ठाउँमा आएका पाहुनालाई कसरी स्वागत गर्ने, कस्तो व्यवहार गर्ने, कसरी उनीहरुले मागेको जानकारी दिने र कसरी सुखी बनाएर पठाउने भन्ने कुरामा त्यहाँका व्यवसायीले नसुधारेको पक्ष हो ।

कुनै ठाउँको विषयमा जानकारी माग्दा होस्, चाहे उनीहरुबाटै सेवा लिँदा होस् पर्यटकलाई खुसी बनाउन नसक्ने रानीपौवा क्षेत्रका व्यवसायीमा पनि सुधारिन नसकेको पत्रकार वासु पौडेल बताउँछन् ।

पाहुनाले कुनै ठाउँ, स्थान वा बस्तुका विषयमा जानकारी मागे पनि उल्टोपाल्टो बताइनेसमेत समस्या रहेको पर्यटकले गुनासो गरे । पर्यटकलाई गर्ने व्यवहारमा सुधार गर्नुपर्ने कुरामा व्यवसायी पनि सहमत छन् । व्यवसायी सुरज गुरुङ भन्छन्, ‘पर्यटकलाई कसरी स्वागत र व्यवहार गर्ने भन्ने विषयमा यहाँका व्यवसायीमा सुधार्नुपर्ने विषय हो ।’

व्यवसायीलाई तालिम दिइने

पर्यटक आउनु ठूलो कुरा नभएको तर उसले त्यो ठाउँबाट के सन्देश लिएर गयो भन्ने ठूलो कुरा रहेको पर्यटन बोर्ड पोखराका प्रवन्धक सूर्य थपिलिया बताउँछन् ।

‘पर्यटकलाई कसरी स्वागत गर्ने, कस्तो व्यवहार र कस्तो जानकारी दिने भन्ने सबैभन्दा मुख्य कुरा हो,’ थपलियाले भने, ‘त्यसका लागि हिमाली क्षेत्रका व्यवासायीलाई पनि तालिम दिन खोजिरहेका छौं ।’

भारतीय पर्यटकको संख्या बढी

मुस्ताङमा नेपालीपछि सबैभन्दा बढी पुग्ने भारतीय पर्यटक हुन् । मुस्ताङमा ६५ प्रतिशत सार्कभित्रका र बाँकी अन्य देशका पर्यटक आउने गरेका छन् ।

मुस्ताङ पुग्ने ५५ प्रतिशतभन्दा बढी पर्यटक मुक्तिनाथ पुग्ने अन्नपूर्ण संरक्षण आयोजना एक्याप जोमसोमका पर्यटन सहायक थोङड्रुक छेवाङ गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment