Comments Add Comment

शान्ति सम्झौतापछि झनै निराशा छाएको छ : पत्रकार खड्का

१ भदौ, पोखरा । तत्कालीन समयमा संघर्षरत विद्रोही माओवादी पक्ष र सरकार पक्षबीच १० वर्षे लामो सशस्त्र द्वन्द्व भयो । २०५२ सालदेखि सुरु भएको सशस्त्र युद्ध २०६३ सालमा आएरमात्रै विश्राम पायो । संघर्षरत विद्रोही पक्ष र सरकारबीच शान्ति सम्झौतापश्चात तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी अहिले नेकपा एमालेसँग बाम गठबन्धन गरी  मुलधारको राजनीतिमा सक्रिय छ । तत्कालीन समयमा आम मानिसहरु परिवर्तनको सपना बोकेर छापामार भए । युद्ध लडे । कति बेपत्ता पारिए । कतिले ज्यान गुमाए । कतिले अंगभंग जीवन बिताइरहेका छन् ।

सशस्त्र आन्दोलनको अगुवाइ गरेका नेता अहिले राज्य सञ्चालनको प्रमुख ओहोदामा छन् । ‘के उनीहरुले शान्ति सम्भौतापछि जनआन्दोलनको मर्मबमोजिम काम गरेका छन् त ?’ सुरेश रानाभाट पत्रकार तथा लेखक संगिता खड्कालाई प्रश्न गर्छन्, ‘अहिले आएर जनआन्दोलन ठीक थियो भन्ने लाग्छ ?’

पत्रकार खड्का जनयुद्धमा भूमिगत रहेरै पत्रकारिता गरेकी एउटी हस्ताक्षर हुन् । उनी तत्कालीन समयमा कृष्णसेन इच्छुकसँग पनि जेल जीवन बिताएकी थिइन् । राज्य पक्ष र माओवादी पक्षको आन्दोलनलाई नजिकबाट नियालेकी उनको उत्तर थियो, ‘जनयुद्धपछि केही सैद्धान्तिक परिवर्तन त भयो । तर, व्यवहारिक परिवर्तन भएन ।’

र्‍यान्डम रिर्डस सोसाइटीले शनिबार पोखरामा लेखक तथा पत्रकार खड्कासँग अर्का पत्रकार तथा लेखक सुरेश रानाभाटले ‘र्‍यान्डम संवाद’ गरेका हुन् । सोसाइटीले प्रत्येक शृंखलामा विभिन्न कृति तथा विषयवस्तुमाथि अन्तर्क्रिया गर्दै आइरहेको छ । सोही कार्यक्रमअन्तर्गत शनिबार भएको ९९ औं शृंखलामा खड्काको नवीनतम् कृति युद्धका ती दिनलाई मञ्चमा उभ्याएको हो ।

जनआन्दोलनको अगुवाइ गरेका नै राज्य सञ्चालनको पहुँचमा रहँदासमेत हुनुपर्ने जति परिवर्तन नभएकाले जनतामा निराशा छाएको खड्काको बुझाइ छ । तर, त्यसमा नेतृत्वदायी भूमिका खेल्ने नेताको मात्रै दोष नरहेको उनले बताइन् । उनले जनयुद्धको समयभन्दा शान्ति सम्झौतापछि जनतामा झनै निराशा छाएको बताइन् ।

‘जिउज्यान लगाएर कयौं नेपाली परिवर्तनको सपना देखेर छापामार भए । अहिले आफूले चाहेको जस्तो नहुँदा उनीहरुमा घोर निराशा छाएको पक्का हो,’ उनले भनिन्, ‘यसमा उनीहरुले पनि माथिल्लो नेतृत्वलाई दबाव र सचेत गराइरहन जरुरी छ ।’ उनले परिवर्तन सधैं माथिल्लो नेतृत्वबाट मात्रै सम्भव नहुने हुँदा तल्लो तहबाट पनि घच्घच्याइरहन आवश्यक रहेको पटक-पटक दोहोर्‍याइन् ।

पत्रकार खड्काले जनयुद्धबारे अहिले नै समीक्षा गरिहाल्नुपर्ने आवश्यकता नरहेको बताइन् । उनले भनिन्, ‘अझै बिग्रेको केही छैन । अहिले नै थाक्नुपर्ने अवस्था आइसकेको छैन । सबैले आफ्नो भूमिका खोज्दै दायित्व पूरा गर्ने हो भने त्यतिबेला देखेको सपना अवस्य पूरा हुन्छ ।’ उनले नेतृत्व विलाशितामा रमाइरहेकाले कार्यकर्ता नै जागरुक हुनपर्ने बताइन् ।

कार्यक्रममा पत्रकार खड्काले तत्कालीन समय वास्तविक चित्रण गर्न आफूले ‘युद्धका ती दिन’ पुस्तक प्रकाशन गरेको जानकारी दिइन् । ‘संस्मरण मैले २०६४ सालदेखि नै प्रकाशन गर्ने सोचेकी थिएँ, तर म सामान्य थिएँ । मेरो अनुभव पनि के काम लाग्ला र भन्ने सोचेर प्रकाशन नगरेकी हुँ,’ उनले भनिन्, ‘तर त्यतिबेलाका केही निर्दोष र बाहिर नआएका पक्षलाई उजागर गर्न पनि प्रकाशन गर्नैपर्ने भयो ।’

उनले तत्कालीन छापामारहरु अहिले किनारमा पारिएकाले उनीहरुको अवस्था सार्वजनिक गर्न कृति प्रकाशन गरेको सुनाइन् ।

कृति सांगि्रला बुक्सले प्रकाशन गरेको हो । संगिता खड्का दुई दशकदेखि पत्रकारितामा सक्रिय छिन् । जनादेश साप्ताहिकको सहसम्पादक, नेपाल पत्रकार महासंघको केन्द्रीय सचिव, रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम घटना र विचारको संयोजक बनेर काम गरेको अनुभव उनीसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment