Comments Add Comment

आहा ! वैद्यनाथ धाम

१ भदौ, डोटी ।

‘डोटी राम्रो डडेल्धुरा, अछाम राम्रो साँफ्या

मलाई पनि उडाइ लैजा हिमचुलीका डाँफ्या…।’

यो गीत नन्दकृष्ण जोशीले त्यतिकै गाएका होइन रहेछन् । साँच्चै रमणीय छ, अछामको साँफे । चारैतिर डाँडाले घेरेको समथर ठाउँ, परभली नदी र बुढीगंगा, त्यही बुढीगंगाको छेवैमा वैद्यनाथ धाम । साँफेको सुन्दरतामा यही वैद्यनाथ धामले थप सुन्दरता थपेको छ ।

वैद्यनाथ धामको प्रांगणमा सौर्य बत्ती लगाइएका छन् । प्रांगणको बीच भागमा मञ्च छ । भित्र चार ढोका भएको वैद्यनाथको मन्दिर छ । मन्दिर वरिपरि अष्ठ भैरव, मालिका, कालिका, पार्वतीका मन्दिर, माण्डपनाथ मन्दिर, चार देवलहरु छन् । मन्दिर परिसरमै यज्ञशाला छ । प्रतिक्षालय, बैठक कक्ष पनि मन्दिर परिसरमै बनाइएका छन् ।

वैद्यनाथको धार्मिक महत्त्व

रावणले तपस्या गरी शिवको बरदान पाएको ठाउँ भनेर चिनिन्छ वैद्यनाथ । मन्दिरका पुजारी देवराज उपाध्याय भन्छन्, ‘पुराणअनुसार १० टाउका भएका रावणले आफ्नो लक्ष पाउनका लागि आफ्नै टाउको काट्दै हवन गर्दै गए । यसरी उनले नौ टाउका काटेर होमकुण्डमा हालिसक्दा समेत शिवको दर्शन नपाएपछि स–शरीर हमन गर्ने सोचेर दशौं टाउको काट्न लाग्दा शिवजीले वैद्यको रुपमा दर्शन दिए । वैद्य भएर रावणका सबै टाउकाहरु फेरि जोडेका कारण यस क्षेत्रको नाम वैद्यनाथ राखिएको हो ।’

रावणले शिवजीलाई बाचा गराई शिवलिंग लैजान माग गरे । बाचा अनुसार शिवले आफ्नोे लिंग दिए । सो कुरा पार्वतीले थाहा पाएपछि उनले अदृष्य शक्तिको प्रयोग गरी शिवलिंगलाई उठाउनै नसक्ने गह्रुंगो बनाइदिइन् । त्यसकारण रावणले लैजान नसकेपछि यो शिवलिंग यसै वैद्यनाथ क्षेत्रमा रहेको पुराणहरुमा उल्लेख गरिएको उपाध्याय बताउँछन् । १२ वटा ज्योतिर्लिंगमध्ये एउटा नेपालमा छ, जुन वैद्यनाथ धाममा अवस्थित छ । ‘हुन त भारतले झारखण्डमा रहेको वैद्यनाथ धामलाई असली भनेर प्रचार गर्छ, तर पुराणहरुमा गरिएको व्याख्याअनुसार सबै कुरा अछामकै वैद्यनाथ धामसँग मेल खान्छ’ वैद्यनाथ विद्याश्रमका प्रधानाध्यापक समेत रहेका उपाध्यायले भने, ‘वैद्यनाथ धाम क्षेत्रमा वृद्धनदी (बुढीगंगा), पद्मजा नदी (पाइली गाड), गोदावरी नदी (परभली नदी) र सरस्वती नदी (परभलीगाड) यस क्षेत्रमा मात्रै छन्, जुन पुराणमा व्याख्या गरिएका छन् ।’ यस्तै खेचरादी पर्वत (खप्तड) को फेदमा रहेको भन्ने उल्लेख भएको तर भारतमा खेचरादी पर्वत नभएको उपाध्यायको दावी छ ।

मन्दिर संरक्षण र व्यवस्थापनका लागि २०४४ सालमा वैद्यनाथ क्षेत्र विकास संस्था स्थापना भएको छ । उक्त संस्थाले मन्दिरको संरक्षण र विकास गर्दै आइरहेको बताउँछन् संस्थाका अध्यक्ष नेत्र कुँवर । उनले भने ‘नदी कटान प्रमुख समस्या छ, यसका लागि तटबन्ध आवश्यक छ, हामीले पहल गरिरहेका छौं ।’

साँफे हाटबजारबाट करिब तीन किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा माघे संक्रान्ति र महाशिवरात्रीका दिन मेला लाग्ने गर्छ । उक्त मेलामा नेपालका साथसाथै भारतको उत्तराखण्ड, उत्तर प्रदेश, बिहारलगायतका क्षेत्रबाट भक्तजनहरु आउने गरेको बताउँछन् संस्थाका अध्यक्ष कुँवर ।

उक्त मेलामा सशस्त्र प्रहरी बलले सलामी दिने प्रचलन छ । यस्तै राष्ट्र शान्तिका लागि भन्दै बटुकहरुले प्रत्येक बिहान दुई घण्टा रुद्राभिषेक गर्दछन् ।

मन्दिरभित्रै विद्याश्रम

वैदिक सनातन जोगाउनका लागि २०५५ सालमा मन्दिर परिसरभित्रै वेद विद्याश्रम स्थापना गरिएको छ । कक्षा ६, ७ र ८ को पढाइ हुने उक्त विद्याश्रममा हाल ४३ विद्यार्थी रहेको प्रधानाध्यापक उपाध्यायले बताए । विद्याश्रमका एक दरवन्दी र दुई राहत गरी तीन जना शिक्षक छन् । यस्तै नेपाल महर्षि फाउण्डेसन र सशस्त्र प्रहरी बलले एक–एक जना कर्मचारी विद्याश्रमलाई सहयोग गरेका छन् ।

‘४३ जना बटुकहरु र हामी तीन जना शिक्षकहरु बिद्याश्रममै बस्छौ र यतै खाना खान्छौं,’ शिक्षक केशवराज भट्टले भने, ‘बटुकहरुको खानाका लागि मुख्यश्रोत ‘पीरपाथी’ नै हो । पहिले ‘पीर’ (पुजारी) हरुको भरण पोषणका लागि प्रत्येक बालीमा प्रत्येक घरबाट एक पाथी अन्न छुट्याउनु पर्ने व्यवस्था थियो । पुजारीहरुका लागि नछुट्याएसम्म किसानले नयाँ बाली खानु हुँदैन भन्ने मान्यता थियो ।’

सोहीअनुसार अहिले पनि पायल, लुंग्रा र पर्वा गाउँहरुबाट पिरपाथी संकलन हुन्छ । यसरी संकलन भएको अन्न नै बटुकहरुको भोजनको मुख्य स्रोत हो ।

यस्तै महर्षि फाउण्डेसनले नित्य पूजाका लागि वार्षिक ६ लाख रुपैयाँ दिने गरेको र उक्त रकम पनि बटुकहरुको खाना, लुगामा खर्च गर्ने गरेको उपाध्यायले वताए । ‘हामीले सहयोग रसिद पनि छपाएका छौं’ उपाध्यायले भने, ‘मन्दिरको दर्शन गर्न आउने भक्तजनहरुले सहयोग गर्छन्, यसरी नै चलेको छ ।’

‘कहिलेकाहीँ नगरपालिकाले, वडाहरुले पनि सहयोग गर्ने गरेका छन्,’ उनी थप्छन्, ‘स्थायी स्रोतहरु भने केही छैन ।’

वैद्यनाथ संग्रहालय पनि

मन्दिर परिसरभित्रै वैद्यनाथ संग्रहालय स्थापना गरिएको छ । विक्रम सम्वत् १८४८ सालमा जर्नेल अमरसिंह थापा नेतृत्वको टोलीले अछाम बिजयी गरेका बेला प्रयोग गरेका हातहतियार उक्त संग्रहालयमा राखिएका छन् । सो संग्रहालय स्थापनासँग सम्बन्धित रोचक किम्वदन्ती छ ।

अछाम बिजयपछि डोटीका लागि हिँडेको अमरसिंह थापा नेतृत्वको टोली हालको पूर्वीचौकी गाउँपालिका–५, काँडा पुगेपछि एकाएक आँखा नदेख्ने भएछ । फर्केर अछामतिर हेर्दा आँखा देख्ने, तर डोटीतिर जान खोज्दा नदेख्ने भएपछि राति काँडामै बास बसेर द्वीप प्रज्वलन गरी भगवतीको आराधना गरेर सुतेछन् ।

राति टोलीका एक सदस्यलाई भगवतीले सपनामा टोलीसँग भएका सम्पूर्ण हातहतियार वैद्यनाथ मन्दिरमा चढाएर जानू भनिछन् । सोहीअनुसार ३१ नाल बन्दुक, खुकुरीलगायतका हतियारहरु वैद्यनाथलाई चढाएको साँफेबगर नगरपालिका–१ का वडाध्यक्ष अमरबहादुर शाहले सुनाए । उनले भने, ‘पुरातत्व विभागले पनि यो हतियार त्यति बेलैको भएको पुष्टि गरेको छ ।’

संग्रहालयमा पुजारीले लगाउने लुगा, पूजा गर्ने भाँडाहरु, गहना, शालिग्राम राखिएको वैद्यनाथ क्षेत्र विकास संस्थाका अध्यक्ष कुँवर बताउँछन् । यसका साथसाथै अछामका महत्वपूर्ण धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलका तस्वीरहरु पनि राखिएको छ ।

नौमुठे गाई पनि मन्दिरभित्रै

अछामको नौमुठे गाई प्रसिद्ध छ । अगाडिको खुट्टाको खुरबाट मुठ्ठीले नाप्दै जाँदा जुरोसम्म नौ मुठ्ठी उचाइ मात्रै हुने भएकाले यस जातको गाईलाई ‘नौ मुठे गाई’ नामाकरण गरिएको हो ।

यसलाई विश्वकै सबैभन्दा सानो प्रजातिको गाई भनेर चिनिन्छ । अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो गाई पोखराको गाई भैंसी फारममा पनि पालिएको बताइन्छ । एक समय यो गाई चीनमा तस्करी हुने गरेको समाचार पनि सार्वजनिक भएका थिए ।

‘नौ मुठे गाई लोप हुँदै गइरहेको छ, यसको संरक्षण गर्नु आवश्यक छ,’ संस्थाका अध्यक्ष कुँवरले भने, ‘हामीले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले नौ मुठे गाईको बारेमा पनि जानकारी पाउन् भन्ने उद्देश्यका साथ मन्दिरभित्रै नौ मुठे गाई पाल्न सुरु गरेका छौं ।’ उनले मन्दिरमा गाईको शुद्ध दूध चढाउनका लागि पनि गाई पाल्न आवश्यक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment