+
+

रसुवामा विप्लवलाई धक्का, जनसरकार प्रमुखपछि जिल्ला सदस्यद्वारा आत्मसमर्पण

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २ गते ८:१५

२ भदौ, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला कमिटी सदस्य तथा युवा संगठनका केन्द्रीय सदस्य योर्साङ घलेले जिल्ला प्रशासन कार्यालय, रसुवासमक्ष आत्मसमर्पण गरेका छन् ।

गत जेठ २७ मा जिल्लाका जनसरकार प्रमुख, किसान जिल्ला संयोजकलगायतले आत्मसमर्पण गरेको केही समयपछि विप्लव समूहका रसुवाका प्रभावशाली नेता मानिने घलेले  पनि उक्त समूहसँगको सम्बन्ध विच्छेद गरेका हुन् ।

घलेले  जनप्रतिनिधि, नागरिक समाज र पत्रकारहरूको रोहवरमा विप्लव समूहको साधारण सदस्यसमेत नरहने गरी आइतबार जिल्ला प्रशासनसमक्ष आत्मसमर्पण गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्जुन भण्डारीले जानकारी दिए ।

पार्टी त्यागको घोषणा गरेका घलेले सरकारले लगाएको प्रतिबन्धको समर्थन गर्दै प्रचलित कानूनको अधीनमा रही सर्वसाधारणसरह जीवनयापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रचलित कानूनमा रहेर सामान्य जीवनयापन गर्ने प्रतिबद्धतापछि आवश्यक परेको बेला जिल्ला प्रशासनमा उपस्थित हुने गरी घलेलाई छाडिएको प्रजिअ भण्डारीले जानकारी दिए ।

विप्लव समूहको रसुवाका प्रभावशाली नेता मानिने घले जनयुद्धकालदेखि नै भूमिगत राजनीति गर्दै आएका व्यक्ति हुन् । एकीकृत माओवादीमा आएको विभाजनसँगै वैद्य समूहमा लागेका उनले वैद्यसँग विप्लवले सम्बन्ध विच्छेद गर्दा विप्लवको साथ रोजेका थिए ।

सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै रसुवामा आत्मसमर्पण गर्नेको संख्या ५ पुगेको छ । यसअघि ०७६ जेठ २७ गते नै रसुवा जिल्ला जनसरकार प्रमुख, किसान जिल्ला संयोजक, विद्यार्थी जिल्ला संयोजकलगायतले आत्मसर्पण गरेका थिए । विप्लवका एकपछि अर्का सक्रिय नेताले आत्मसमर्पण गरेकाले यो समूह रसुवामा कमजोर अवस्थामा पुगेको दाबी प्रशासनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?