Comments Add Comment

उसुको साग तयारी : अभ्यासकै लागि पालो कुर्नुपर्ने !

आधा दर्जन स्वर्ण जित्ने प्रशिक्षकको दाबी

२ भदौ, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि उसुका खेलाडीले तयारी थालेको करिब डेढ महिना नाघ्यो । तर स्रोतसाधनको अभाव यति छ कि खेलाडीहरुले अभ्यास गर्नसमेत पालो कुर्नु पर्ने बाध्यता छ ।

उसुको अभ्यासका लागि त्रिपुरेश्वरस्थित सेमिकभर्डहल तोकिएको छ । त्यहाँ एउटा म्याटमा थाउलोका खेलाडीले अभ्यास गर्छन् । त्यसकै अर्कोपट्टि एउटा रिङ छ, जहाँ फाइटका खेलाडीले अभ्यास गर्छन् । निकै सानो ठाउँ भएकाले ४२ जना खेलाडीले एकै पटक अभ्यास गर्न सकिँदैन, त्यसैले पालो कुरेर बस्नुपर्छ ।

क्लोज क्याम्पमा रहेका दीपक हमाल पर्याप्त अभ्यास गर्न नपाएको गुनासो गर्छन् । भन्छन्, ‘हाम्रो इन्डोर गेम हो, तर हामीले खुल्ला स्थानमा अभ्यास गर्नु परिरहेको छ । त्यसमाथि पनि एउटाले अभ्यास गर्दा अर्को बाहिर पालो कुरेर बस्नुपर्छ ।’

अर्का खेलाडी पदमबहादुर ठकुल्लाको गुनासो पनि त्यही छ । ५६ केजी तौल समूहमा फाइटतर्फ प्रतिस्पर्धा गर्ने उनी भन्छन्, ‘चाहिए जति स्रोत-साधन पाएका छैनौं । यसले अभ्यासमा प्रभाव परेको छ । सय प्रतिशत दिन सकिरहेका छैनौं ।’

खेलाडीहरुको गुनासोमा मुख्य प्रशिक्षक अमर थिङ पनि सहमत छन् । ‘सेमिकभर्डहलमा अभ्यास गर्नु परेको छ । त्यहाँ पनि चाहिने जति खेल सामग्री छैन । यसले तयारीमा बाधा हुने गरेको छ,’ प्रशिक्षक थिङ भन्छन् ।

सात स्वर्णको लक्ष्य !

अभावकै बाबजुद पनि खेलाडीहरु मेहनत गरिरहेका छन् । डिसेम्बर १ देखि १० सम्म नेपालमै आयोजना हुने १३ औं सागका लागि दिनरात अभ्यास गरिरहेका छन् ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता र उपविजेता गरी ४२ जना बन्द प्रशिक्षणमा छन् । १५ असारबाट प्रशिक्षणमा रहेका उनीहरु मध्येबाट २२ खेलाडीले सागमा भाग लिन पाउनेछन्, जसमा १२ पुरुष र १० महिला हुनेछन् ।

मुख्य प्रशिक्षक अमर थिङ

योपटक कम्तिमा आधा दर्जन स्वर्ण जित्ने नेपालको लक्ष्य रहेको मुख्य प्रशिक्षक अमर थिङले बताए । ‘१२औं सागमा हामीले एउटा मात्रै गोल्ड मेडल जितेका थियौं । यो पटक हाम्रो खेलबाटै ६-७ वटा गोल्ड मेडल ल्याउन चाहन्छौं ।’

देशलाई स्वर्ण पदक दिलाएरै छाड्ने दृढ कसेका छन् दीपकले । उनी भन्छन्, ‘मेरो लक्ष्य सागमा नेपाललाई स्वर्ण पदक दिलाउने नै हो । आत्मविश्वास पनि छ । त्यसैअनुसार तयारी गरिरहेको छु । यो मौका गुमाउँदिन ।’

आठौं राष्ट्रियमा फाइटतर्फ ५२ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एलिना चौधरी पनि सागमा राम्रो प्रदर्शन गर्नेमा आशावादी छिन् । भनिन्, ‘११औं सागमा कास्य जितेको थिएँ । १२ औंमा खेल्न पाइन । योपटक मेरो लक्ष्य स्वर्ण नै हो ।’

चौधरीसँगै दीपक हमाल र पदमबहादुर ठकुल्लालगायतका खेलाडीले पनि स्वर्णको लक्ष्य बनाएका छन् ।

थाउलोतर्फ पहिलोपटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पर्न सफल मिना ग्लान पनि उत्साहित छिन् । १२ औं सागमा रजत पदक जितेकी सविता राईलाई पराजित गर्दै आठौंमा स्वर्ण जितेकी उनको आत्मविश्वास निकै बलियो छ । भन्छिन्, ‘पहिलो पटक राष्ट्रिय टिममा परेको छु । अन्तिम छनोट पार गर्दै सागमा स्वर्ण जित्ने सपना छ ।’

मुख्य प्रशिक्षक थिङले पनि थाउलोतर्फ निमा घर्तीमगर, सुस्मिता तामाङ, दीपक हमाल, विजय सिंजालीबाट स्वर्ण पदकको दावेदारको सूचीमा राखेका छन् भने फाइटतर्फ जुनी राई, पदम राई, पदम ठकुल्लाबाट स्वर्णको आशा राखेका छन् । साथै अन्य खेलाडी पनि स्वर्ण पदकको दाबेदार भएको उनी बताउँछन् ।

१७ स्वर्णको लागि मात्रै प्रतिस्पर्धा

उसुमा कुल २२ स्पर्धा हुन्छ । एसियन खेलकुद र ओलम्पिक खेलकुदमा पनि २२ स्वर्णकै लागि प्रतिस्पर्धा हुने गरेको छ ।

तर नेपाल उसु संघले १३ औं सागमा १७ स्वर्णका लागि मात्रै प्रतिस्पर्धा गराउने तयारी गरेको छ । किन त भन्ने प्रश्नमा उसुका प्रशिक्षक थिङ भन्छन्, ‘अहिलेसम्म हामीले पाँच मेडललाई अतिरिक्तमा राखेका छौं । अन्य राष्ट्रका प्रतिस्पर्धीलाई हेरेर आयोजक राष्ट्रले कुन स्पर्धालाई खेलाउने भन्ने तय हुन्छ ।’

उसुमा पछिल्लो समयमा भारत सबभन्दा बलियो मानिन्छ । कुनै बेला भारतलाई उसु खेल सिकाएको नेपालको प्रदर्शन भने उसु संघमा भएको विवाद, नियमित अभ्यास नहुनु तथा वैदेशिक प्रशिक्षण नपाउनु जस्तो कारणले ओरालो लागेको छ ।

यो पटक पनि वैदेशिक प्रशिक्षणबारे केही टुंगो लागेको छैन । ‘सागका लागि ५/६ महिना चीनमा प्रशिक्षण गर्न पाएको भए सोचेको भन्दा राम्रो नतिजा आउथ्यो । हामीले राखेपसँग भनेको पनि हो,’ मुख्य प्रशिक्षक थिङले भने, ‘तर वास्ता भएन ।’

फोटो : शंकर गिरि/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment