Comments Add Comment

सुडानका पूर्वराष्ट्रपतिले साउदीबाट लाखौं डलर लिएको आरोप

३ भदौ, काठमाडौं । भ्रष्टाचारको मुद्धा खेपिरहेका सुडानका पूर्व राष्ट्रपति ओमर अल बशीरले साउदी अरबबाट लाखौँ डलर लिएको आरोप लागेको छ ।

सुडानका एक गुप्तचार अधिकारीले साउदी अरेबियाबाट बशीरले लाखौं डलर लिएको रहस्य खोलेका हुन् । सोमबार भ्रष्टाचारको आरोपको सामना गर्न बशीर अदालतमा उपस्थित भएका थिए ।

उनका वकिलले भने बशीरमाथि लगाइएका उक्त अभियोग अधारहीन भएको दाबी गरेका छन् ।

महिनौ लामो विरोध प्रदर्शनपछि गत अप्रिलमा बशीरलाई सत्ताच्यूत गरिएको थियो । बशीर झण्डै तीन दशकसम्म लगातार सुडानको सत्तामा थिए ।

गत जुन महिनामा बशीरको निवासबाट अन्न राख्ने बोरामा ठूलो परिमाणको विदेशी रकम फेला परेको दावी अनुसन्धानकर्ताले गरेका छन् ।

लोकतन्त्र समर्थक र बशीरलाई सत्ताच्युत गरेका सैनिक नेतृत्वबीच छिटै निर्वाचन गराउने एउटा सहमति पत्रमा आइतबार मात्रै हस्ताक्षर भएको थियो ।

सेतो पहिरन लगाएर टाउकोमा फेटा बाँधेका पूर्व राष्ट्रपति बशीर अदालतको पछाडि गेटमा देखा परेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार बशीरले आफूमाथि लगाइएको अभियोगकोबारेमा कुनै टिप्पणी गरेनन् ।

प्रहरी अनुसन्धानकर्ता अहमद अली मोहम्मदका अनुसार बशीरले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानबाट २.५ करोड डलर लिएको छ । उनले भनेको छन्, ७५ वर्षीय पूर्व राष्ट्रपति बशीरले साउदी अरेबियाबाट अरु पनि रकम लिएका छन् ।
बशीरसँग भएको धन अवैध हो भन्नेबारे कुनै ठोस प्रमाण र सूचना नभएको बशीरका वकिलले बताएका छन् ।

भ्रष्टाचारको आरोप के हो ?

सुडानका पूर्व राष्ट्रपति बशीरलाई विदेशी विनिमय, भ्रष्टाचार र अवैध रूपमा उपहारहरू प्राप्त गरेको आरोप छ ।

पूर्वराष्ट्रपति बशीरलाई सत्ताच्यूत गरिएपछि सुडानका सैनिक जनरल अब्देल फत्ताह अल बुरहानले उनको घरबाट ११ करोड ४० लाख डलर भन्दा बढी सुडानी पाउन्ड र विदेशी मुद्रा भेटिएको बताए ।

पूर्वराष्ट्रपति बशीरलाई मुद्धाको सुनुवाईको लागि गत जुलाईमा नै अदालतमा उपस्थित गराइनुपर्ने थियो । तर, सुरक्षाको कारण देखाउँदै सुनुवाई स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment