News Summary
Generated by OK AI. Editorially reviewed.- पेसएक्स स्पोर्ट्सद्वारा आयोजित पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि मेन्टेन एफसीले जितेको छ ।
- मेन्टेन एफसीले फाइनलमा होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।
- तेस्रो स्थानका लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले पराजित गर्दै २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
१७ साउन, काठमाडौँ । पेसएक्स स्पोर्ट्सको आयोजनामा भएको ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ ।
बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा आइतबार सम्पन्न रोमाञ्चक फाइनलमा मेन्टेन एफसीले होराक एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै च्याम्पियन बनेको हो । फाइनल खेलको सुरुवातदेखि नै दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो ।
खेलको दोस्रो मिनेटमै सन्दीप कार्कीले गोल गर्दै होराकलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, मेन्टेनका तर्फबाट रविन चौलागाईंले बराबरी गोल फर्काए । नवौँ मिनेटमा सैलेन्द्र मगरले गोल गरेपछि पहिलो हाफमा होराकले २–१ को अग्रता बनाएको थियो ।
दोस्रो हाफमा पनि होराकले पुनः गोल गर्दै ३–१ को बलियो अग्रता बनाएको थियो । तर, खेलको अन्तिम समयमा मेन्टेनका योगेश श्रेष्ठले लगातार दुई गोल गर्दै मेन्टेनलाई खेलमा पुनरागमन गराए ।
योगेशले लगातार दुई गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा मेन्टेनले बाजी मार्यो ।
आइतबारै भएको क्वाटरफायनलमा मेन्टेन एफसीले नोबेल फुटबल एकेडेमीलाई २–० ले र सेमिफाइनलमा रोएल नेपाललाई पनि पेनाल्टीसुटआउटमै हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
यस्तै होराकले क्वाटरफाइनलमा डाइनामिक एफसीलाई ३–१ ले पराजित गरेको थियो भने सेमिफाइनलमा ठमेल ११ लाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा ठमेल ११ ले रोयल नेपाललाई २–१ ले पराजित गर्यो ।
प्रतियोगिताको विजेता मेन्टेन एफसीले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँका साथै आकर्षक ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता होराक एफसीले रु ५१ हजार १ सय ११ र तेस्रो भएको ठमेल ११ ले रु २१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
विधागततर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट टोलीलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल ३२ वटा टोलीको सहभागिता रहेको थियो ।
नेपाली खेलकुदको विकास र विस्तारका लागि स्थापना भएको आयोजक संस्था पेसएक्स स्पोर्ट्सले भविष्यमा फुटसलका अलावा अन्य विभिन्न खेलकुद प्रतियोगिताहरू पनि निरन्तर आयोजना गर्दै जाने लक्ष्य राखेको जनाएको छ ।
प्रतिक्रिया 4