 
																			४ भदौ, पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद चुलिएको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाको भवन निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेपछि केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएको हो ।
भवन निर्माण गर्ने बेलामा केन्द्र सार्ने विषय पेचिलो बन्दै गएको छ । यसमा संघ र प्रदेश सरकारको निर्णय बाझिँदा समस्या भएको हो ।
गाउँपालिकाको केन्द्र अहिले वडा–४ वहाकीमा रहेको छ । तर गण्डकी प्रदेश सरकारले गाउँपालिकाको भवन निर्माणको लागि विनियोजन गरेको बजेटमा गाउँपालिकाको भवन वहाकीमा नभई इमिचौरमा निर्माण गर्ने भनेपछि विवाद बढेको हो ।
संघीय सरकारले गाउँपालिकाको केन्द्र वहाकी तोकेर सोही ठाउँबाट काम हुँदै आइरहेकामा प्रदेश सरकारले दिएको बजेटसँगै आएको नयाँ नामले गाउँपालिकाको केन्द्र सार्ने विषयले फेरि महत्व पाएको स्थानीयवासीले बताएका छन् ।
कतिपय जनप्रतिनिधिले अहिले कायम रहेको वहाकीमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने बताइरहेका छन् भने कतिपयले इमिचौरमा सार्नु उपयुक्त हुने बताउँदै आएका छन् ।
इमिचौर आसपासका बासिन्दा र जनप्रतिनिधिले अहिले भइरहेको स्थानको केन्द्र अपायक भएको बताउँदै केन्द्र इमिचौरमै सारिनुपर्ने मागलाई तीव्र पारिरहेका छन् ।
इमिचौर साविक रानीपानी गाविसमा पर्छ । अहिले केन्द्र रहेको स्थान वहाकी र आसपासका बासिन्दाले केन्द्र सारिन नहुने बताउँदै आएका छन् ।
प्रदेश सरकारले भवन निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरेपछि गाउँपालिकाको भवन निर्माण हुने पक्का भएको छ ।
जहाँ भवन निर्माण हुन्छ, त्यो नै स्थायी केन्द्र बन्ने भएका कारण इमिचौर र वहाकीका दुई पक्षबीच केन्द्र राख्ने विषयको मुद्दा चर्किएको स्थानीय हरि न्यौपानेले बताए ।
वडा–३ रानीपानीका वडाध्यक्ष रनबहादुर आलेले प्रदेशले ठाउँ तोकेर रकम विनियोजन गरिसकेको अवस्थामा केन्द्र सार्नैपर्ने बाध्यता रहेको बताए ।
‘हामीले गाउँपालिकाको केन्द्र इमिचौर हुनुपर्छ भन्दै बहुमतको निर्णय गरी प्रदेश सरकारका विभिन्न मन्त्रालयमा केन्द्र सारिनुपर्ने माग बुझाएका थियौँ,’ उनले भने, ‘गाउँपालिकामा पनि केन्द्र सार्नुपर्छ भन्ने माग आएको छ, प्रदेश सरकारले पनि बजेटसहित ठाउँ तोकेको छ ।’
गत शुक्रबार जनप्रतिनिधिसहित इमिचौर आसपासका स्थानीयवासी केन्द्र सार्नुपर्ने माग राख्दै गाउँपालिकाको कार्यालयमा पुगेका थिए । केन्द्र सार्ने विषयमा गाउँपालिका प्रमुख कमलप्रसाद भुसालसँग छलफल भएको भए पनि केन्द्र सार्ने विषयमा उदासीन बन्दै बेवास्ता गरेको वडाध्यक्ष आलेले बताए ।
बहुमतको संख्यामा गाउँपालिकाको केन्द्रमा पुगेका जनप्रतिनिधि र स्थानीयवासीको कुरा नसुनी गाउँपालिका प्रमुख भुसालले तोक लगाउन अस्वीकार गरेर भवनका लागि आएको बजेट फ्रिज गराउने अवस्था उत्पन्न गराएको उनको भनाइ छ ।
विहादी–२ का वडाध्यक्ष ओमप्रसाद कुँवरसहित सबै वडा सदस्य, कार्यपालिका सदस्य, वडा– ३ का सबै सदस्य, वडा–१ का प्रतिनिधि इमिचौरमा केन्द्र सानुपर्ने अडानमा छन् ।
गाउँपालिका प्रमुख भुसाल भने संघीय सरकारले तोकेको वहाकीनै केन्द्र बन्नुपर्ने भन्ने अडानमा छन् । गाउँपालिकाको निर्माणका लागि वहाकीमा जग्गा किन्ने कामसमेत भइसकेका कारण केन्द्र सार्ने कुरा अनुपयुक्त भएको उनको तर्क छ । उनले सकेसम्म सबैको सहमति गराएर साविककै ठाउँमा भवन निर्माण गरिने बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4