Comments Add Comment

कृषक र उपभोक्ता दुबैले जान्नुपर्ने कुरा

रासायनिक विषादीको विकल्पमा जैविक विषादी प्रयोग गरौं

पृष्ठभूमि

नेपालको समग्र आर्थिक विकासमा कृषि क्षेत्रको भूमिका उल्लेख्य छ । करीव ३१.५ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान रहेको कृषि क्षेत्रको विकासको प्रभावले अन्य क्षेत्रको विकासमा समेत गुणात्मक प्रभाव पार्दछ । कृषि विकासलाई उपलब्धिमूलक बनाउन कृषि प्रविधिको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसका लागि स्थान बिशेष र बाली विशेष कृषि प्रविधिको विकास गर्नु अहिलेको प्रमुख चुनौतीका रुपमा रहेको छ ।

दिगो कृषि विकासको लागि उपलब्ध कृषि प्रविधिहरु कृषकहरुको सरल पहूंच र मानब स्वास्थ्य तथा वातावरणमा प्रतिकुल असर नपुर्याउने किसिमको हुनुपर्दछ । कृषिलाई दिगो बनाउने क्रममा हानिकारक रोग, किरा, झारपातबाट हुने नोक्सानी ब्यवस्थापनमा बाली संरक्षण प्रबिधिको अहम भूमिका रही आएको छ । विगत केही बर्षयता बाली संरक्षणका लागि रासायनिक पदार्थको प्रयोगमा वृद्धि भइरहेको छ । जसका लागि एकातिर नेपाली कृषकहरुले अन्य देशहरुसँग भर पर्नुपरिरहेको छ भने अर्कोतिर नेपालको ठूलो धनराशी बिदेशिनुपर्ने बाध्यता भइरहेको छ ।

नेपालमा बालीनालीका शत्रुजीवहरुले करिव ३५ प्रतिशत नोक्सानी पुर्‍याउँदै आएका छन् । अर्कोतर्फ रासायनिक पदार्थहरुको अत्यधिक प्रयोगबाट वायु, जल तथा भूमि प्रदुषण भई पर्यावरणमा नकारात्मक असरहरु देखा पर्न थालेका छन् । फलतः उत्पादन लागतमा बृद्घि, माटोको उर्वरा शक्तिमा ह्रास, हानिकारक किराहरुमा बिष पचाउन सक्ने क्षमताको विकास, शत्रुजीवहरुलाई नियन्त्रण गरी राख्ने मित्र जीवहरुको बिनाशका साथै कम हानिकारक किराहरु पनि प्रमुख बाली शत्रुका रुपमा देखा पर्दा कृषि उत्पादन, उत्पादकत्व, गुणस्तर तथा वातावरणीय सन्तुलनमा समेत नकारात्मक प्रभाव देखा परिरहेको छ ।

नेपालको कृषि विकासको समस्यालाई गहिरिएर विश्लेषण गर्दा दिगो कृषि विकासका लागि वातावरण अनुकुल उपयुक्त बाली संरक्षण प्रविधिको कमी नै न्यूनतम उत्पादकत्वको एक प्रमुख कारण देखिन्छ ।

विगत केही बर्ष यतादेखि उपभोक्ताहरुमा रासायनिक पदार्थ मुक्त कृषि उपज प्रयोग गर्न आकर्षण बढ्दो रुपमा देखिएको छ । रासायनिक पदार्थहरुको विकल्पका रुपमा नेपालमा परापूर्व कालदेखि प्रयोग र परिष्किृत हुँदै आएको बाली संरक्षणका स्थानीय प्रविधिहरुलाई संरक्षण र सम्बर्धन गर्नुपर्ने आजको आवश्यकता छ । रासायानिक विषादीहरुले समस्त वनस्पति, मानव र प्राणी जगतलाई नै असर पार्ने हुनाले जैविक विषादी र सामाग्रीहरुको प्रयोगबारे आम सरोकारवालावीच जानकारी पुगोस् भनी यहाँ चर्चा गरिएको छ ।

रासायनिक विषादी तथा यसका कुप्रभावहरु

रासायनिक विषादीले शत्रुजीवलाई मात्र विनाश गर्ने होइन, यसले प्राकृतिक सन्तुलनमा उपयोगी मित्रजीवहरु, जस्तै–परागसेचन गर्ने मौरी, पुतली, रेशम किरा, गाइने किरा, बाघे खपटे, कुमालकोटी, माकुरा, चराचरुङ्गी, गड्यौला, माछा, भ्यागुता, सर्प छेपारो, परजीवी किरा, शिकारी किरा, सिकारी सुलसुले आदिको विनाश गर्दै आएको छ ।

यसका अतिरिक्त विषादीबाट हुने प्रमुख असरहरुमा मानिस, जैविक श्रोतको क्षय, आनुवंशिक ह्रास, पशुपंक्षीको स्वास्थ्यमा हानी, नदीनालामा प्रदुषण, भूमिगत जल प्रदुषण, वायु प्रदुषण, माटो प्रदुषण, शत्रुजीवहरुमा प्रतिरोधात्मक शक्तिको विनास मुख्यरुपमा रहेका छन् ।

यसैगरी लाहीका प्राकृतिक शत्रुहरु जस्तैः थोप्ले खपटेहरु स्रिफिड झिङ्गाका लाभ्रेहरुको संख्या घट्दै गएको छ । यसले गर्दा शत्रुजीवहरुको संख्या बढ्ने परिस्थिति बनेको छ ।

विषादीलाई जुन तरिकाबाट प्रयोग गरे पनि (बोटमा, माटोमा, भण्डारणमा) अन्ततः माटो र पानीमा नै जाने हुँदा माटोमा रहेका मित्रजीवहरु विषादीले मर्छन् । जसले गर्दा उपयोगीमित्रजीवहरुको संख्या कम भइरहेको छ । जसले गर्दा प्राङ्गारिक पदार्थहरुलाई सडाउने, माटो खुकुलो पार्ने आदि जीवाणुको काम निस्क्रिय भई माटोको उर्वराशक्तिमा कमी आउन गई उत्पादन घट्छ ।

रासायनिक विषादीहरु खेतबारीमा हुर्किरहेका बालीनालीमा छर्दा लक्षित सबै हानिकारक पिराहा किराहरु मर्न सक्दैनन् । यसर्थ, विषादी छरिसकेपछि पनि बाँकी रहेका किराहरुको संख्या एकैपटक अत्यधिक वृद्धि हुन जान्छ । किनकि यस्ता किराहरुलाई खाएर बाँच्ने फाइदाजनक किराहरु सबै मर्न पुग्छन् ।

एकपटक विषादी छरिसकेपछि यसले मार्न बाँकी रहेका किराहरुको संख्यामा वृद्धि त हुन्छ नै, अझ यसमाथि पनि यी किराहरुमा विष पचाउने क्षमताको वृद्धि हुन थाल्छ र उही मात्राको विषादीले काम गर्न सक्दैन र उही परिमाणमा किरा मार्न पनि पहिलेको भन्दा दोब्बर–तेब्वर मात्रामा र अझ बढी हानिकारक समूहका विषादीको प्रयोग गरिरहनुपर्छ । यसले गर्दा आर्थिक क्षती र समग्र कृषि वातावरणलाई नै नकारात्मक असरहरु पुग्न जान्छ । किनकि, प्रयोग गरिएको सबै विषादी अन्ततः पुग्ने स्थान भनेको माटो नै हो । यसले गर्दा विषादीको बढ्दो प्रयोगका कारण माटो अम्लीय हुने, रोगी हुने र उत्पादन घट्न गई खर्च पनि बढ्न जान्छ ।

पिराहा किरा वा लक्षित समूहबाहेक अन्यमा असर

रासायनिक विषादि औषधी होइनन्, यी विष हुन् । विष भन्नासाथ सबैलाई मार्ने पदार्थ भन्ने बुझिन्छ । यसले खेतबारीमा राखिसकेपछि के लाभदायक के हानिकारक सबै किराहरुलाई मारिदिन्छ । लक्षित किराहरुलाई मारिसकेपछि पनि विषादी माटोमा पुगिसकेपछि माटोमा भएका सम्पूर्ण सुक्ष्म जीवाणुहरुलाई मारिदिन्छ । यसमार्फत माटोबाट पानीसम्म र साना खोलानाला हुँदै समुन्द्रसम्मको वातावरणमा समेत नकारात्मक असर पुर्‍याउँछ ।

तसर्थ, विनाशकारी विषादीबाट मानिसले नाश गर्न चाहेका प्राणीहरु मात्र हैनन्, यिनले त वातावरणमा पाइने सबैजसो प्राणीमा नकारात्मक असर पारिरहेको हुन्छ । ठूलो क्षेत्रमा यस्ता विषादीहरु छरेको स्थानमा चराहरु तथा माछाहरु सखाप भएको पाइएका छन् । पशुपंक्षीको मासु, दुधजन्य पदार्थ, एवं विभिन्न किसिमका खाद्य पदार्थहरुमा विषादीका अवशेषहरु पाइएका छन्, जो मानिसका लागि अत्यन्त हानिकारक हुन्छन् ।

अर्कोतर्फ विचार गर्ने हो भने यस पृथ्वीमा प्राकृतिक सन्तुलन ल्याउनका लागि प्रत्येक जीवितप्राणीहरुका आ–आफ्ना प्राकृतिक शत्रुहरु रहेका हुन्छन् । कुनै किरा नियन्त्रण गर्न अरु जीवजन्तुहरु त्यही वातावरणमा रहेका हुन्छन्, जसले गर्दा दुबैको सन्तुलनमा मिलिरहेको हुन्छ ।

उदाहरणका लागि, लाही नियन्त्रण गर्न यदि विषादी छरियो भने यसको प्राकृतिक शत्रुहरु, जस्तै– थोप्ले खपटेहरु, सिर्पिmड झिंगाका लाभ्रेहरु, आदिलाई पनि मारिदिन्छ । यसरी प्राकृतिक शत्रुहरुको पूर्ण विनाश भइसकेपछि पुनः बढेका विनाशकारी किराको आक्रमणबाट बाली बचाउन कठिन हुन्छ र रोकथाम विधि पनि कठीन एवं महंगो हुन जान्छ ।

बालीनालीमा विषादी अवशेष

प्रत्येक रासायनिक विषादी छरिसपछेपछि लक्षित बालीहरु मा त्यसका अवशेषहरु रहेका हुन्छन् । विषादीको प्रकृति हेरी यस्ता विषादीहरु विभिन्न समयसम्म रहिरहन्छन् । यस्तो समय केही दिनदेखि केही वर्षसम्म पनि हुन सक्छ । क्लोरीनयुक्त हाइड्रोकार्बन समूहका विषादीहरु, जस्तै– डीडीटी र बीएचसी, अल्ड्रीनब, डाइअल्ड्रीन, हेप्टाक्लोर, फोरेट आदिको अवशेष खासगरी माटोमा धेरै वर्षसम्म रहीरहन्छ । माटो, पानी र अन्य खाद्य पदार्थहरुमा रहने यस्ता अवशेषहरुबाट विभिन्न थरीका परिणामहरु देखिन थाल्छन्, जुन निम्न प्रकारका छन्–

१. खाद्य–श्रृंखलाबाट यस्ता विषादीहरु मानिस एवं पशुपंक्षीका शरीरभित्र वृद्धि हुँदै जान्छन् । कतिपय हाइड्रोक्लोरीन समूहका विषादीहरु मानिस एवं पशुपंक्षीका शरीरभित्र खास गरी बोसोमा जम्मा भई बषौंसम्म रहिरहन्छन् र तीनको मात्रा बढ्दै जान्छ । विषादीहरु बोटविरुवाहरु वा सञ्चित अनाजमा किराहरुका नियन्त्रणका लागि प्रयोग गर्‍यो भने यिनमा विषादीको अवशेष लामो समयसम्म रहन्छ । यस अवधिमा ती खाद्य पदार्थहरुबाट मानिस वा मासुमा पनि अवशेष पाइन्छ । यस्ता पदार्थहरु मानिसले खाएमा तिनमा भएका विषादीका अवेशष मानिसका शरीरमा जम्मा हुन्छन् । पटक पटक यस्ता पदार्थहरु खाँदै जाँदा शरीरमा विषादीको मात्रा बढ्दै जान्छ र परिणाममा यसले नराम्रा विकारहरु, जस्तै– क्यान्सर, नवजात शिशुमा शारीरिक विकारहरु, मानिस एवं जनावरमा नपुंशकता, आनुवंशिक परिवर्तन आदि ल्याउँछ ।

मानव शरीरमा रासायनिक विषादी नाक, मुख, छाला, स्वास प्रस्वास तथा आँखाबाट प्रवेश गर्छ । विषादीका नकारात्मक असरहरुमा टाउको दुख्नु, वाकवाक लाग्नु, वान्ता हुनु, रिँगटा लाग्नु, आँखाको रोग लाग्नु, शरीर थकित हुनु, सोच्ने शक्तिकम हुनु, प्रतिरोधात्मक प्रणालीमा अवरोध पुग्नु, फोक्सो, कलेजो, मृर्गौला, मुुटु, क्यान्सर, छालासम्वन्धी दीर्घकालीन रोग आदि लाग्न सक्छ ।

विरुवामा विषादीहरु प्रयोग गरेपछि विरुवाले सोसेर लिन्छन् र हामीले खाँदा सोझै यी विषादीहरु हाम्रो शरीरमा सोसिन पुग्छन् । कतिपय विषादीहरु छालाको छिद्रबाट पनि सोसिन्छन् । जसले गर्दा अत्याधिक विषादीको प्रयोग भएका फलपूmल तथा तरकारीको सेवन गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परिरहेकोे हुन्छ ।

साथै सुरक्षित तरिकाले विषादी प्रयोग नगर्दा तथाव्यवस्थित भण्डारण नहुँदा सम्पूर्ण घर परिवारका सदस्यहरुको स्वास्थ्यमा प्रतिकूल असर परेको सुन्न पाइन्छ । हाल विभिन्न तरकारी, गाईवस्तुको दूध आदिमा विषादीको अवशेष पाइएको कुरा प्रकाशमा आउन थालेको छ । विषादीको गम्भीर प्रभावका कारण मानिसको मृत्यु समेत हुने गरेको छ ।

२. विषादीहरुका अवशेषले पूरै वातावरणलाई नै असन्तुलित तुल्याई वातावरणभित्र रहेका विविध प्राणीहरुको खाद्य–श्रृंखला टुट्न जान्छ । विषादीको प्रयोगले सहस्रौं किराहरु नाश हुन्छन्, तिनको अभावमा तिनलाई खाएर बाँच्ने अन्य प्राणीहरु, जस्तै– भ्यागुता, छेपारो, कतिपय चरा आदिको पनि संख्या घट्दै जान्छ र यिनलाई खाएर बाँच्ने अन्य प्राणीहरुको पनि संख्या घट्छ । एवं प्रकारले यो श्रृंखला धेरै अघिसम्म बढ्दै जाँदा मानिससम्म यसको असर पुग्न आउँछ । सडेगलेका जैविक पदार्थहरु खाएर बाँच्ने प्राणीहरुमा नराम्रो असर पुग्छ । जसले गर्दा वातावरण अरु दुषित हुन्छ । कतिपय परजीवी र यिनलाई पाल्ने जनावर एवं वनस्पति एवं किराहरुको सम्बन्ध बिग्रन जान्छ ।

३. विषादीको अवशेषले माटोमा अम्लिय पन बढाई उर्वर शक्तिमा कमी ल्याउन सक्छ । कतिपय माटोको जीवाणुलाई विषादीले मार्दछन्, जसको फलस्वरुप प्राङ्गारिक पदार्थहरुलाई सडाउने, माटो खुकुलो पार्ने आदि जीवाणुका कामहरु बन्द हुन पुग्छन् ।

किराहरुमा विषादी पचाउने क्षमता वा सहने क्षमताको विकास

कुनै पनि विषादीले कुनै खास जातिका किराको सम्पूर्ण संख्यालाई मार्न सक्दैन । प्रथम पटकको प्रयोगपश्चात सो किराको संख्या फेरि बढ्छ । अनि फेरि सो विषादी प्रयोग गरिन्छ । यसपटक पनि त्यस्ता किराका थुप्रै संख्या मर्दैनन् र ती फेरि वृद्धि हुन थाल्छन् । अब प्रयोग गर्दा सो विषादीको मात्रा बढाउनुपर्छ । केही समयपछि यस्तो स्थिति फेरि पनि आउँछ र पहिलेदेखि प्रयोग गरी आएको विषादीले ती किरालाई ठ्याम्मै नियन्त्रण गर्न सक्दैन । यस्तो प्रक्रियालाई सो विषादीप्रति किराले पचाउन वा सहन सक्ने क्षमता प्राप्त गरेको भनिन्छ ।

आज आएर यो एउटा विकराल समस्या बनेको छ । कतिपय किराहरुले त एकभन्दा बढी समूहका विषादीहरु पनि पचाउने क्षमता प्राप्त गरिसकेका छन्, जसलाई ‘क्रस रेसिस्टेन्सी’ पनि भनिन्छ । यस्तो स्थिति तब एकभन्दा बढी समूहका विषादीहरु सँगसँगै वा केही समयको अन्तरालमा प्रयोग गरिन्छ । यो स्थितिले विषादीहरु बढी मात्रामा प्रयोग हुन्छन् र जसको कारणले वातावरण थप बिग्रनुका अलावा खेतीको लागत पनि बढाउँछ ।

जैविक विधि

बालीविरुवाको सुरक्षा गर्नका लागि वाली विरुवामा हानी गर्ने विनाशी जीवहरुका विरुद्ध उपयोगी जैविक पदार्थहरुको प्रयोग गरी हानीकारक जीवहरुको नाश गर्ने विधीलाई जैविक विधि भनिन्छ । आजकल वानस्पतिक पदार्थहरुद्वारा उत्पादित विषादीलाई पनि कतिपय स्थान र व्यक्ति विशेषले जैविक विषादीको रुपमा ग्रहण गर्छन् । वास्तवमा तिनीहरु जैविक विषादी नभई जैविक विषादीजस्तै पदार्थहरु हुन् जसलाई ‘वायोरेटिनल कम्पाउण्ड’ भन्नु उपयुक्त हुन्छ ।

नेपाल जैविक विविधताको दृष्टिकोणबाट धेरै नै धनी देश हो । यहाँ पाइने धेरै किसिमका वनस्पति तथा जडीबुटीहरुमा जीवनाशक गुणहरु पाइन्छ । यस्ता वनस्पतिहरुको प्रयोग गरी कृषकहरुले परापूर्वकालदेखि बालीनालीमा लाग्ने शत्रुजीवहरु (रोग, किरा, झारपात आदि) व्यवस्थापन गर्दै आइरहेका छन् । यस्ता वनस्पतिहरुलाई बाली संरक्षणमा सदुपयोग गर्न सके त्यसै खेर गइरहेका वनस्पतिहरुको उपयोग हुन गई जैविक विविधता संरक्षणको क्षेत्रमा समेत योगदान पुग्ने देखिन्छ । साथै बढ्दो रासायनिक पदार्थहरुको प्रयोगबाट हाल पर्यावरणमा भैरहेको नकरात्मक प्रभावलाई न्यूनीकरण गरी दिगो कृषि विकासमा सहयोग पुर्‍याउन सकिन्छ ।

नेपालमा भौगोलिक विविधताका कारणले गर्दा धेरै किसिमका वनस्पति र जडीबुटीहरु पाइन्छन् । यीमध्ये कतिपय वनस्पति र जडीबुटीहरुमा जीवनाशक गुण पाइएको छ । जीवनाशक गुण भएका वनस्पतिहरु नेपालका विभिन्न भागमा छरिएकाले कृषकहरुले परम्परागतरुपमा प्रयोग गर्दै आइरहेको बाली संरक्षणका स्थानिय प्रविधिहरु पनि स्थान विषेश र बाली विषेशअनुसार फरक–फरक हुनु स्वभाविक हुन जान्छ ।

विषादिजन्य वनस्पतिहरुको पहिचान, संरक्षण एवं सम्वर्धन गर्न स्थानीय कृषकहरुलाई तालिम, भ्रमण गराई सक्षम बनाउनुपर्ने र स्थानीय विषादीजन्य वनस्पतिहरुबाट घरेलु विषादीको व्यावसायिकीकरणमा जोड दिँदै सरकारी नीतिहरु त्यसैतर्फ लक्षित हुनुपर्ने देखिन्छ यसका लागि बाली संरक्षण निर्देशनालयले विशेष भूमिका खेली निजी संघ संस्थासँग सहकार्य गर्नुपर्ने देखिन्छ ।

जैविक विषादीहरु

कुनै पनि हानीकारक किराहरुलाई न्यून गर्न वा मार्नका लागि कुनै पनि सुक्ष्मजीवीय ब्याक्टेरिया, ढुसी, भाइरस तथा नेमाटोडजन्य उपयोगी जीवहरुद्धारा तयार गरी किरा वा रोग नाश गर्न प्रयोग गरिने रसायन वा पदार्थलाई जैविक विषादी भनिन्छ । यिनीहरु उपयोगी जीवहरु हुन् जसलाई हानीकारक किराहरु मार्न प्रयोग गरिन्छ । जैविक पद्धतीद्धारा जीवलाई नष्ट गर्नेे सूक्ष्म जीवलाई नै जैविक विषादि भनिन्छ । आजकल फाइदाजनक सूक्ष्म जीवका अतिरिक्त वनस्पतिमा आधारित पदार्थहरुलाई समेत बुझिने गरिन्छ ।

वास्तवमा यी पदार्थमा कुनै जीवित सूक्ष्म जीवभन्दा पनि वनस्पतिमा पाइने गुणहरु, जस्तै– तीतो, पीरो, अमीलो, नुनिलो वा टर्राे जस्ता खासतत्व वा सक्रियतत्व हुन्छन्, जसले हानीकारक किरालाई कुनै न कुनै प्रकारबाट असर गर्दछन् । समग्रमा सूक्ष्मजीवमा आधारित पदार्थहरुको अलावा सूक्ष्म परजीवी किरा हरु (प्रिडेटर, पारासाइट, जीबाणु) लाई समेत बुझिन्छ ।

सूक्ष्म जीवमा आधारित जैविक विषादीहरुमा मुख्यतया व्याक्टेरियाजन्य पदार्थ (वि.टी.) ढुशीजन्य पदार्थ, (हरियो ढुसी, सेतो ढुसी र खैरो ढुसी), भाइरसजन्य पदार्थ (न्यूक्लियर पोलीहेडेरोसिस भाइरस), साइटोप्लाज्मिक भाइरस र नेमोटाडमा आधारित पदार्थ (स्टाइनरनेमाटिड्स र हेटेरोरहेवडाइटिस) मुख्य रुपमा आउँछन् ।

त्यस्तै वनस्पतिमा आधारित जैविक पदार्थहरु मुख्यतया निमको झोल (मार्गोसेभ डेरीसोभ, बायोमल्टिनिम) इत्यादि आउँछन् । समग्रमा यी सबै पदार्थ तथा वस्तुहरुलाई जैविक विषादी वा जैविक विषादीमा आधारित पदार्थका रुपमा बुझ्न सकिन्छ । यो विधिमा किरा तथा रोगजन्य जीवाणुको संख्या नियन्त्रण गर्न पराश्रयी जीवहरु, शिकारी किरा तथा किरामा रोग ल्याउने जीवाणुहरु धेरै उत्पादन गर्ने र छाड्ने काम हुन्छ । यसलाई जैविक नियन्त्रण पनि भनिन्छ र यसबाट निम्नबमोजिम फाईदाहरु छन् । विभिन्न जैविक विषादीहरुको माध्यम र नाम फरक भएता पनि यिनीहरुले किरा मार्ने तरिका र यिनको उपयोगिता समान छन् ।

जैविक विषादीबाट हुने फाइदा यस्ता छन् :

(क) रासायनिक विषादीले जस्तो यिनले वातावरण, मानव शरीर र फाइदाजनक परजीवि किराहरुलाई असर गर्दैनन् । प्रयोग गर्ने व्यक्तिलाई असर गर्दैनन् ।

(ख) यिनको असर किरा अनुसार हुन्छ । तसर्थ लक्षित गरिएको किरामा मात्रै यिनको प्रभाव रहन्छ ।

(ग) यी वस्तुहरु प्रयोग गर्नाले विषादीको अवशेषको समस्या हँुदैन । जैविक विषादी प्रयोग गरिएको तरकारी, फलपूmल वा अनाजमा अवशेष को समस्या हुँदैन ।

(घ) थोरै मात्राको प्रयोग गरिए पनि किरामा बढी असर गर्न सकिन्छ ।

(ङ) यिनको प्रभाव कालान्तरसम्म रहन सक्छ र रासायनिक विषादी जस्तै पटक–पटक प्रयोग गरिरहनुपर्दैन ।

(च) यिनको प्रयोगबाट उत्पादित वस्तुहरु प्राङ्गारिक उत्पादन भएको हुनाले कालान्तरमा नेपाल सरकारले लिएको लक्ष्य मुताविक विषादीरहित प्राङ्गारिक उत्पादन गर्न सहयोग पुग्छ ।

(छ) दीर्घकालीन कृषि उत्पादनमा जैविक विषादीको गहन भूमिका छ । यिनको प्रयोगबाट बढी महत्वका वस्तुहरु उत्पादन गर्न सकिन्छ ।

(ज) यिनलाई केही वनस्पतिजन्य विषादीका साथमा मिसाएर प्रयोग गर्न सकिन्छ ।

(झ) केही जैविक विषादी र वनस्पतिमा आधारित पदार्थले किराका फूल, लार्भा, प्युपा र वयष्कमा समेत केही न केही असर गर्छन्, जुन रासायनिक विषादीबाट सम्भव छैन ।

केही बेफाइदाहरु

थुप्रै मात्रामा फाइदा हुँदाहुदै पनि जैविक विषादीका केही वेफाइदाहरु पनि छन् ।

(क) रासायनिक विषादीले जस्तो यिनले जादूगरी रुपमा छिट्टै किरा मार्न सक्दैनन् ।

(ख) यिनको प्रयोग शुरुमा झन्झटिलो र महंगो लाग्न सक्छ ।

(ग) सबै प्रकारका किराहरुलाई एउटै प्रकारको वस्तुवाट नियन्त्रण गर्न सकिँदैन ।

(घ) यिनको असर खासगरी सम्पर्क प्रकारको हुने भएकाले लुकेर छिपेर खाने किरालाई प्रयोग गर्न गाह्रो हुन्छ ।

(ङ) चर्को घाम, सुख्खा क्षेत्रमा प्रयोग गरेमा यिनको प्रभाव नष्ट हुन्छ ।

कठिनाइहरु

यी पदार्थहरुको थुप्रै फाइदाजनक गुण हुँदाहुँदै पनि यिनको प्रयोगमा केही कठिनाइ पनि छन् । जसलाई निम्न रुपमा लिन सकिन्छ–

(क) मुख्यतः जैविक विषादीको आम कृषक, प्राविधिक, निर्माता, उपभोक्ता र नीति निर्माताहरुमा समेत जानकारीको अभाव हुनाले यो विधा नेपालमा पछि परेको छ । यसो हुनुमा जैविक विषादि उत्पादनमा शुरुको लगानी, किरा रोग निको पार्ने दु्रत क्षमतामा कमी, केही खर्चिलो र झञ्झटिलो हुनु नै हो ।

(ख) जैविक विषादीहरु प्रतिकूल वातावरणमा निकै छिटो ग्रसित वा नष्ट हुने हुन्छन् । जस्तो– यिनलाई निश्चित तापक्रम, चिस्यान, सापेक्षित आद्र्रता, किराको अवस्था, माटोको गुण इत्यादिले यिनको प्रभावकारितामा फरक ल्याउँछन् ।

(ग) धेरैजसो जैविक विषादीहरुलाई २०/२२ डिग्री तापक्रम, १५ प्रतिशतभन्दा माथि र ७५/८० सम्म चिस्यान उपयुक्त हुन्छ ।

(घ) एक जैविक पदार्थ अर्को जैविक विषादीसँग मिलाउन सकिन्छ । तर, कुनै पनि किरानाशक विषादी, रोगनासक विषादी र भारनाशक विषादीसँग मिलाउन सकिँदैन । तसर्थ, प्रयोग गर्ने समय बढी लाग्न सक्छ ।

(ङ) फाइदाजनक परजीवि किराहरुको पनि आ–आफ्नै विशेषता हुन्छन् । जस्तो– राता आँखे बारुलाले केवल पुतली समूहका किराका पूmल अवस्थामा मात्र आफ्ना सन्तान वृद्धि गरी किराको वृद्धिलाई रोक्छन् भने स्त्री स्वभावका खपटे वा बाघे खपटेले पनि आप्mनो अनूकूलका किराहरुमा शिकार गरी किराहरुको संख्यालाई न्यून गर्दछन् ।

(च) फाइदाजनक किराहरुलाई प्राकृतिक खानामा पाल्न धेरै गाह्रो हुने हुनाले मुख्यतया प्राकृतिक रुपमै तिनको उपलव्धता र सकृयतामा निर्भर रहनुपर्ने बाध्यता छ । सुविधायुक्त प्रयोगशालाको अभाव छ ।

(छ) वनस्पतिक जैविक विषादीहरुको पनि धेरै प्रभावकारिता लिन सकिएको छैन । कारण, यिनलाई प्रयोग गरेपछि सूर्यको प्रकाश वा चर्को घाम वा पानीले जैविक विषादीलाई जस्तै असर गर्छ । यसको पटक– पटक प्रयोग गर्नुु खर्चिलो र झञ्झटिलो हुन जान्छ ।

(ज) सामान्य कृषक वा प्राविधिकले यी पदार्थहरुको रासायानिक गुण वा प्रयोग विधि थाहा नपाउनालयिनको भण्डारणमा तापक्रम र चिस्याउनको ख्याल नपुर्‍याउनाले नेपालमा भित्रिएका वा वनाइएका जे–जति जैविक विषादीहरु छन्, यिनको राम्रो जानकारी कृषकवीच पुग्न सकेको छैन । जसको कारण जैविक विषादीलाई धेरै उच्च प्रविधिको आवश्यकता पर्ने र बढी पैसा लाग्नुका साथै उत्पादन र प्रयोग कठीन छ । तसर्थ यी पदार्थहरु देखाउने दाँत मात्र हुन् भन्ने आरोप लाग्ने गरेको छ ।

तथापि, नयाँ नेपालको सन्दर्भमा नयाँ बाली संरक्षण पद्दति नवीनतम तरिकाले अपनाउन जैविक विषादीको अत्यन्तै ठूलो भमिका छ । किनकि नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भइसकेको सन्दर्भमा यसले मात्रात्मक कृषिका साथै गुणात्मक कृषि उपज उत्पादन र विदेशी राष्ट्रहरुमा निर्यात नगरेसम्म यसबाट फाइदा भन्दा बढी घाटा हुन जाने देखिन्छ ।

त्यसैले ढिलो नगरी जैविक विषादीहरुको उत्पादन, प्रवर्द्धन र प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment